• १४ वैशाख २०८१, शुक्रबार

पेट्रोलियमबाट एक खर्ब राजस्व

blog

लक्ष्मी सापकोटा

काठमाडौँ, जेठ १२ गते । पेट्रोलियम पदार्थ आयात गरेर १० महिनामा एक खर्ब राजस्व सङ्कलन भएको छ । नेपाल आयल निगमले चालू आर्थिक वर्षको साउनदेखि वैशाख महिनासम्म दुई खर्ब २३ अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात गरेर एक खर्ब छ अर्ब रुपियाँ राजस्व सङ्कलन भएको हो । 

पेट्रोलियम पदार्थमा लगाइएको उच्च शुल्क र करका कारण सरकारलाई आम्दानी बढेको हो । पेट्रोलियम पदार्थको कारोबारबाट आव २०७७/७८ मा ९७ अर्ब २० करोड ४१ लाख २१ हजार र आव २०७६/७७ मा ६६ अर्ब ८८ करोड ६९ लाख २४ हजार रुपियाँ राजस्व सङ्कलन भएको थियो । यो वर्ष इन्धनको आयात बढेसँगै राजस्वमा वृद्धि भएको निगमले जनाएको छ । 

सो अवधिमा २५ लाख ४३ हजार ६९४ किलोलिटर पेट्रोलियम पदार्थ (डिजल÷मट्टीतेल, पेट्रोल, हवाई इन्धन र ग्यास) आयात गरेर सो रकम राजस्व सङ्कलन भएको हो । निगमका अनुसार सो अवधिमा सबैभन्दा धेरै डिजल १४ लाख एक हजार किलोलिटर, पेट्रोल चार लाख ८३ हजार ३८२ किलोलिटर, मट्टीतेल १४ हजार १९० किलोलिटर, हवाई इन्धन एक लाख २४ हजार ३८० किलोलिटर र ग्यास चार लाख १९ हजार ९३८ मेट्रिक टन ग्यास आयात भएको छ । 

निगमका नायब कार्यकारी निर्देशक नागेन्द्र साहले पेट्रोलियम पदार्थको कारोबारबाट मासिक १२ अर्ब रुपियाँ राजस्व सङ्कलन हुने गरेको बताउनुभयो । पेट्रोलियम पदार्थ आयातमा भन्सार बिन्दुुमा नै राजस्व सङ्कलन हुने गरेको छ । 

निगमका अनुसार पेट्रोलमा ६३ रुपियाँ २३ पैसा, डिजलमा प्रतिलिटर ४५ रुपियाँ ९१ पैसा र मट्टीतेलमा १३ रुपियाँ ६६ पैसा कर रहेको छ । एक सिलिन्डर ग्यासमा ३२७ रुपियाँ ३७ पैसा कर रहेको छ । 

पेट्रोलमा सरकारले भन्सार र प्रज्ञापनपत्र शुल्कबापत २५ रुपियाँ २३ पैसा सङ्कलन गरेकोे छ । त्यस्तै सडक मर्मतसम्भार शुल्कका नाममा चार रुपियाँ, प्रदूषण शुल्क एक रुपियाँ २५ पैसा, पूर्वाधार कर १० रुपियाँ, मूल्य अभिवृद्धि कर २० रुपियाँ ७१ पैसा, मूल्य स्थिरीकरण कोष शुल्क एक रुपियाँ ८० पैसा उठाउने गरेको छ । यस्तै डिजलमा भन्सार तथा प्रज्ञापन शुल्क १२ रुपियाँ सडक मर्मतसम्भार दुई रुपियाँ, प्रदूूषण कर एक रुपियाँ ५० पैसा, पूूर्वाधार कर १० रुपियाँ, मूल्य अभिवृद्धि कर १८ रुपियाँ ७५ पैसा र मूल्य स्थिरीकरण कोषमा एक रुपियाँ ६३ पैसा उठाउने गर्छ । विभिन्न शीर्षकमा लगाइएको कर कटाएर निगमले उपभोक्ता मूल्य निर्धारण गर्छ ।

भारतको केन्द्रीय सरकारले गत शनिबार मात्रै पेट्रोलमा प्रतिलिटर १२ रुपियाँ ८० पैसा (आठ भारु)का दरले कर घटाएको छ । त्यस्तै डिजलमा नौ रुपियाँ ६० पैसा (छ भारु)का दरले कर घटाउने घोषणा गरेको थियो । एलपी ग्यासमा पनि भारतले ३२० रुपियाँ (दुई सय भारु) अनुदान दिने घोषणा गरेको छ । भारतमा प्रतिलिटर पेट्रोलको मूल्य १७४ रुपियाँ र डिजल १५३ रुपियाँ रहेको छ । भारतले कर घटाएका कारण अहिले नेपालमा पेट्रोल प्रतिलिटरमा पाँच रुपियाँ २३ पैसा र डिजलमा नौ रुपियाँ ५६ पैसा महँगो छ । 

निगमका अनुसार पेट्रोल मासिक ६१ हजार ४०८ किलोलिटर,  डिजल एक लाख ४७ हजार ५५८ किलोलिटर खपत हुने गर्छ । मट्टीतेल एक हजार ४९३ किलोलिटर, हवाई इन्धन १३ हजार ९२ किलोलिटर र ग्यास ४४ हजार मेट्रिक टन खपत हुन्छ । 

यसैबीच अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेर आएको भन्दै निगमले गत सोमबार पेट्रोलियम पदार्थको मूल्य बढाएपछि त्यसको चौतर्फी विरोध भएको छ । इन्धनमा बढेको मूल्य वृद्धि फिर्ता गर्नुपर्ने माग राख्दै विद्यार्थी सङ्घ सङ्गठनले विरोध गर्दै आएका छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य लगातार बढ्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।