• ६ चैत २०८०, मङ्गलबार

दुई पालिका प्रमुखमा महिला

blog

लीलाराज खड्का 

बिर्तामोड, जेठ १२ गते । झापामा पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या बढी भए पनि पालिकाको नेतृत्वमा भने कम प्रतिनिधित्व भएको पाइएको छ । कुल १५ पालिका रहेको झापा जिल्ला बिर्तामोड नगरपालिकाको प्रमुखमा एमालेबाट महिला नेतृ पवित्रा महतरा प्रसाई र गौरीगञ्ज गाउँपालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएकी फूलमती राजवंशी गाउँपालिका प्रमुखमा विजयी हुनुभए पनि झापामा १३१ वडामा एक जना पनि महिलाको प्रतिनिधित्व हुन सकेन । 

झापामा पुरूष मतदाताको सङ्ख्या तीन लाख २१ हजार ५२० रहँदा महिला मतदाताको सङ्ख्या तीन लाख २४ हजार ७०६ रहेको छ । झापाका १५ पालिकामध्ये एमालेले तीन र कांग्रेसले दुई पालिकामा पाँच महिलालाई  प्रमुख पदमा उम्मेदवार बनाए पनि विजयी भने दुई जना मात्र हुनुभएको छ  । एमालेले दमक नगरपालिकाको प्रमुखमा गीता अधिकारी, बिर्तामोड नगरपालिका प्रमुखमा पवित्रा महतरा प्रसाईं र बुद्धशान्ति गाउँपालिकामा मीरा भुर्तेललाई अध्यक्षको उम्मेदवार बनाएको थियो । अधिकारी राष्ट्रिय प्रजातन्त्र पार्टीका राम थापा र भुर्तेल नेपाली कांग्रेसका मनोज प्रसाईंसँग पराजित हुनुभएको छ ।

यसैगरी कांग्रेसले अर्जुनधारा नगरपालिकामा रञ्जिता कार्की र गौरीगञ्जमा फूलमती राजवंशीलाई उम्मेदवार बनाएको थियो । कार्की एमालेका बलदेव गोम्देनसँग पराजित बन्नुभयो भने राजवंशीले एमालेकै विजयकुमार अग्रवाललाई पराजित गर्दै विजयी बन्नुभएको हो । झापामा अघिल्लो २०७४ को स्थानीय निर्वाचनमा कमल गाउँपालिकामा मात्र मत बराबरी हुँदा गोला प्रथाबाट मेनुका काफ्ले एक जना मात्रै महिला अध्यक्षमा निर्वाचित हुनुभएको थियो । झापामा १२ पालिकामा भने महिला उपप्रमुखमा विजयी बन्नुभएको छ । बाँकी तीन पालिकामा भने उपप्रमुख पुरुष हुनुभएको छ । झापामा  वडाध्यक्षमा एक जना पनि महिला निर्वाचित हुनुभएको छैन । सात पालिकामा वडाध्यक्ष पदका लागि महिलाको उम्मेदवारी नै नपरेको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ । उम्मेदवारी परेका पालिकामा महिला निर्वाचित हुन नसक्दा झापाका वडाध्यक्षमा महिलाको प्रतिनिधित्व शून्य भएको हो । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भद्रपुर–३ मा मात्रै कमला थुलुङलाई वडाध्यक्ष पदमा प्रतिस्पर्धा गराउँदा बाँकी ठूला दलले महिलालाई वडाध्यक्षमा चुनावी प्रतिस्पर्धा गराएनन् । 

एमालेकी थुलुङ राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार हेमबहादुर कार्कीसँग पराजित हुँदा झापामा महिला वडाध्यक्षसमेत शून्य हुन पुगेको छ । झापामा राष्ट्रिय प्रजातन्त्र पार्टीसहितका अन्य केही साना दलले महिलालाई वडाध्यक्षको उम्मेदवार बनाएता पनि उम्मेदवारी औपचारिकतामै सिमित हुन पुगेको छ।  ठूला दलले महिलालाई उम्मेदवारका रूपमा नपत्याउँदा झापामा महिला वडाध्यक्षमा प्रतिनिधित्व नभएको कनकाई–४ का वडाध्यक्षका विजयी उम्मेदवार रोशन सुवेदीले बताउनुभयो ।  वडातर्फ नेकपा (एमाले)ले ६१, नेपाली कांग्रेसले ५१, नेकपा (माओवादी केन्द्र) सात, राप्रपा सात, नेकपा (एकीकृत समाजवादी) एक र स्वतन्त्रबाट चार जनाले वडाध्यक्षमा विजयी हुँदा महिलाको प्रतिनिधित्व भने शून्य भएको छ ।