• ८ वैशाख २०८१, शनिबार

गाउँमै रोजगारीको सिर्जना र उत्पादन बढाउछौं : अध्यक्ष लामा

blog

चित्र मिजार
सिन्धुपाल्चोक, जेठ ११ गते ।
लिसङ्खुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले लिसङ्खुपाखर गाउँपालिकाबाट गाउँमै रोजगारी सिर्जना गर्ने र उत्पादनमुखी काम गर्ने बताउनुभएको छ ।

गाउँपालिकाको पहिलो बैठकले लिसङ्खुपाखर गापाबाट वैदेशिक रोजगारीमा गएका र नेपालका विभिन्न स्थानमा गएर रोजगारी गरिरहेकालाई गाउँमै फर्काइ गाउँमै रोजगारी दिने अभियान सुरु गर्ने बताउनुभएको छ । आफ्नै गाउँ फर्केर केही काम गर्ने वातावरण सुरु गर्न र रोजागारीको लागि अब कोही पनि विदेश र अन्यत्र जानुपर्ने अवस्था अन्त्य गर्न गाउँपालिका लागेको उहाँले बताउनुभएको छ ।

कृषि क्षेत्रमा आधारित रोजगार सिर्जना गर्न कृषि क्षेत्रमा लगानीका लागि प्रोत्साहन गर्ने, अनुदान दिने र उत्पादित कृषि उपजलाई बिक्रीवितरणमा ग्यारेण्टी दिने अध्यक्ष लामाले जानकारी दिनुभएको छ । कृषि र पशुपालन क्षेत्रमा आमूल परिवर्तन ल्याई लिसङ्खुपाखरवासीलाई आत्मनिर्भर बनाई समृद्धि हासिल गर्ने योजना अघि सारेको उहाँको भनाइ छ ।

शिक्षामा गुणास्तरीयता र प्रभावकारिता वृद्धि गर्न पालिकाभर रहेका तीन दर्जन सामुदायिक विद्यालयमा मण्टेश्वरी शिक्षण विधिद्वारा शिक्षण क्रियाक्रलाप अगाडि बढाउने, जेष्ठ नागरिक, जनयुद्ध, जनआन्दोलनका घाइते, प्रभावित, गरीब, विपन्न, असहाय, अपाङ्गलगायत स्वास्थ्य बीमा गराई क्रमैसँग लिसंखुवासीको स्वास्थ्य बीमा गर्ने उहाँले बताउनुभयो । पालिकाभरका स्वास्थ्य चौकीबाट दिइने सेवामा गुणास्तर बढाउने, घुम्ती स्वास्थ्य सेवा प्रदान गर्ने, कलाकार, खेलाडी जस्ता विभिन्न क्षेत्रमा ख्याति कमाएका पालिकावासीको सूचीकृत गरेर उहाँहरुको पक्षमा काम गर्ने पनि अध्यक्ष लामाले जानकारी दिनुभएको छ ।

गाउँपालिकाका सबै घरधुरीमा सहज र स्वच्छ खानेपानी उपलब्ध गराउने, सडक, सिँचाइ, लगायतका भौतिक पूर्वाधार निमार्ण, टेलिफोन र वाइफाई (नेट) सुविधाको प्रबन्धमा गाउँपालिका लागिसकेको बताउनुभयो ।

लिसङ्खुपाखर गाउँपालिकालाई समृद्ध र लिसङ्खुपाखरवासीलाई सुखी र सम्पन्न बनाउन सबै क्षेत्रमा योजना निमार्ण गर्दै कार्यान्वयन गर्न आतुर भइरहेको अध्यक्ष लामाले हर्ष व्यक्त गर्नुभएको छ ।