• ६ चैत २०८०, मङ्गलबार

गोरखापत्र र त्रिवि केन्द्रीय पुस्तकालयबीच सम्झौता

blog

सम्झौतापत्र हस्तान्तरण समारोहमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी, महाप्रबन्धक लालबहादुर ऐरी तथा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठ । तस्बिर : गोरखापत्र

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ११ गते । गोरखापत्र संस्थानको पुस्तकालय स्तरोन्नति तथा व्यवस्थापन सहयोगका लागि संस्थान र त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयबीच मङ्गलबार सम्झौता भएको छ । गोरखापत्रले आफ्ना सबै प्रकाशनको डिजिटल अभिलेखीकरण गर्दैछ ।

स्मार्ट गोरखापत्रका लागि गोरखापत्रको पुस्तकालयको स्तरोन्नति गरी व्यवस्थित गर्नुपर्ने भएकाले त्रिवि केन्द्रीय पुस्तकालयसँगको सहकार्यमा यस कार्यलाई अगाडि बढाउन लागिएको हो । सम्झौतापत्रमा गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदी र त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख पूर्णलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

त्रिवि केन्द्रीय पुस्तकालयले संस्थानका कर्मचारीलाई पुस्तकालय तथा सूचना व्यवस्थापनसम्बन्धी तालिम प्रदान गर्नेछ । त्रिवि केन्द्रीय पुस्तकालयले आफूसँग रहेको ई–लाइब्रेरीको प्रयोग गर्न गोरखापत्रलाई सहजीकरण गर्नुका साथै गोरखापत्रले पनि आफ्ना प्रकाशनको डिजिटल सङ्कलनलाई त्रिवि केन्द्रीय पुस्तकालयका पाठकलाई प्रयोग गर्न दिने सम्झौता भएको छ । 

गोरखापत्रको पुस्तकालय तथा अभिलेख शाखाको स्तरोन्नति तथा व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीको संयोजकत्वमा समिति पनि गठन गरिएको छ । सम्झौतापछि त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख श्रेष्ठले कोभिड–१९ पछि पुस्तकालयले ई–लाइब्रेरीका क्षेत्रमा निकै ठूलो छलाङ मारेको बताउँदै हाल पाँच करोडभन्दा बढी अनलाइन जर्नललगायतका स्रोत सामग्री उपलब्ध हुन सक्ने अवस्था रहेको बताउनुभयो । संस्थानका अध्यक्ष सुवेदीले देशको जेठो अखबार र जेठो विश्वविद्यालयबीच सहकार्य हुनुलाई आफूहरूले ठूलो उपलब्धिका रूपमा लिएको बताउनुभयो ।