• ६ चैत २०८०, मङ्गलबार

झापामा नवनिर्वाचित जनप्रतिनिधिका विभिन्न निर्णय सार्वजनिक

blog

दमक नगरपालिकाका प्रमुख राम थापा प्रतिबद्धता व्यक्त गर्दै

विष्णुप्रसाद पोखरेल

दमक, जेठ १० गते । झापामा नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यभार सम्हाल्न शुरु गरेपछिको पहिलो निर्णय सार्वजनिक गर्न थाल्नुभएको छ । विशेष गरेर नगर प्रमुख र उपप्रमुखले आफ्नो सोचलाई पहिलो निर्णयको रुपमा अघि सार्नुभएको पाइएको छ ।

झापाको अर्जुनधारा नगरपालिकाका बलदेव गोम्देनले विपन्न परिवारका लागि आफ्नो कार्यकालभरमा कम्तीमा एक हजार घर बनाइदिने बताउनुभएको छ । आफ्नो कार्यकालमा अति विपन्न घरवारविहीन एक हजार परिवारले घर पाउनेछन्, उहाँले भन्नुभयो । वार्षिक दुई सय घर बनाउनुपर्ने हुन्छ ।

भद्रपुर नगरपालिकाले दीर्घरोगले थलिएका बिरामीको उपचारका लागि दिइँदै आएको यातायात खर्चलाई दोब्बर बनाउने नगरप्रमुख गणेश पोखरेलले बताउनुभएको छ । यो निर्णयमा उहाँले हस्ताक्षर पनि गर्नुभएको छ । 

यसअघि दीर्घरोग लागेका बिरामीलाई पाँच हजार रुपियाँ यातायात खर्च दिँदै आएकोमा यसलाई बढाएर १० हजार बनाइएको छ, पोखरेलले भन्नुभयो । यहाँ रहेका आदिवासी सन्थाल समुदायको स्वास्थ्य बीमा नगरपालिकाले गरिदिने पनि उहाँले जनाउनुभएको छ  । 

यता, हल्दीबारी गाउँपालिकाले गाउँपालिकाले ज्येष्ठ नागरिक, गर्भवती महिला, फरक क्षमता भएकालाई गाउँपालिकामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीले घरदैलोमार्फत स्वास्थ्य सेवा प्रदान गर्ने निर्णय गरेको छ । 

अध्यक्ष रवीन्द्र लिङ्देनले पदभार ग्रहण गर्दै यस्तो निर्णय सुनाउनुभएको हो ।  गाउँपालिकाभित्रका सडक तत्काल मर्मत गर्ने र वर्षाको समयमा कसैले पनि यातायातको झमेला बेहोर्नुपर्ने अवस्था आउने नदिने पनि उहाँले बताउनुभयो ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंका अनुसार निम्नवर्गका जनताको पहिचान गरी निःशुल्क स्वास्थ्य बीमा गर्ने र ५ वर्षभित्रमा नगरमा पर्याप्त सिँचाइको व्यवस्था गर्ने निर्णय भएको छ । कृषकले उत्पादन गरेका कृषि उपजको बजार व्यवस्थापन र प्रशोधनसँगै उद्यमशीलतालाई अगाडि बढाउन उत्पादन वृद्धिका लागि सिँचाइको व्यवस्था गरिने निर्णय भएको बताउनुभयो ।

दमक नगरपालिकाले आधारभूत स्वास्थ्य केन्द्रहरुमार्फत निःशुल्क रुपमा सुगर जाँचको व्यवस्था गर्ने पहिलो निर्णय गरेको छ । अब स्वास्थ्य केन्द्रहरुमा निःशुल्क रुपमा नगरवासीहरुले स्वास्थ्य परीक्षण गर्न पाउनेछन् । दमक नगरपालिका प्रमुख राम थापाका अनुसार सुकुम्बासी बस्तीको एक सडकलाई लकिङ टायल लगाउने योजनामा पहिलो हस्ताक्षर भएको छ ।