• ६ चैत २०८०, मङ्गलबार

सर्लाहीमा पहिलो महिला नगरप्रमुख निर्वाचित

blog

बरहथवा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित कल्पनाकुमारी कटुवाल । तस्विरः जनार्जन खत्री

सर्लाही, जेठ ९ गते । सर्लाहीमा पहिलो महिला नगरप्रमुख निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)बाट उम्मेदवार बन्नुभएका कल्पनाकुमारी कटुवाल बरहथवा नगरपालिकाको नगरप्रमुखमा निर्वाचित हुनुभएको हो ।

कटुवाल बरहथवाका निवर्तमान नगरप्रमुख देवानन्द महतोलाई दोब्बर बढी मतले पराजित गर्दै नगरप्रमुखमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कटुवालले १२ हजार २७३ मत प्राप्त गर्नुभएको छ । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का महतोले छ हजार ६६६ मत मात्रै पाउनुभएको छ । कांग्रेसका विगुप्रसाद चौधरीले छ हजार ५५ मत पाउनुभएको छ । 

नेतृ कटुवालको जितसँगै नेकपा एमालेले सर्लाहीमा खाता खोलेको छ । २०७४ सालमा लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर गरी चारवटा नगरपालिका जितेको एमालेले यो पटक बरहथवामा मात्रै जित निकालेको हो । 

यस्तै, बरहथवा नगरपालिकाको उपप्रमुखमा पनि एमाले नै विजयी भएको छ । एमालेका रामबाबुप्रसाद साह नौ हजार ९०१ मत ल्याएर नगरउपप्रमुखमा निर्वाचित हुनुभएको हो । 

साहका निकटतम प्रतिस्पर्धी कांग्रेसकी गङ्गा दाहालले सात हजार ११९ मत मात्रै ल्याउनुभएको छ । निवर्तमान नगरउपप्रमुख माओवादी केन्द्रकी सीतादेवी माझी तेस्रो हुनुभएको छ । माझीले छ हजार ३१४ मत पाउनुभयो । 

आइतबार राती बरहथवा नगरपालिकाको मतगणना सकिएसँगै सर्लाहीको २० वटै पालिकाको मतगणना सम्पन्न भएको छ । २० पालिकामध्ये नेपाली कांग्रेस सबैभन्दा धेरै १२ पालिका, माओवादी केन्द्र चार पालिका, जनता समाजवादी पार्टी (जसपा) दुई पालिका, नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एक÷एक पालिकामा विजयी भएका छन् ।

Author

जनार्जन खत्री