• ६ चैत २०८०, मङ्गलबार

विवादका कारण स्थगित दुई पालिकाको मतदान प्रक्रिया अझै सुरु भएन

blog

काठमाडौं, जेठ ८ गते । स्थानीय तह सदस्य निर्वाचनको  मतपरिणाम सार्वजनिक भैरहेकाे अवस्थामा ७५३ पालिकामध्ये विवादका कारण स्थगित दुई पालिकाको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन ।

बाजुराको बुढीगङ्गा नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना रोकिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार उदयपुरको त्रियुगा नगरपालिकामा मतदान चल्दाचल्दै विवाद भएर मतदान प्रक्रिया नै रोकिएको थियो ।

बाजुराको बुढीगङ्गाा गाउपालिकामा भने मतगणना कार्यमा विवाद भएको थियो । निर्वाचन आयोगमा यी घटनाको बारेमा उजुरी आएको उहाँको भनाइ छ । आयोगले अव छिट्टै यस विषयमा आवश्यक निर्णय गर्ने प्रवक्ता शर्माले बताउनुभयो । केही दिनमा यी दुई पालिकाको विषयमा आयोगले निर्णय गर्ने उहाँले बताउनुभयो । ‘मतदान र मतगणना रोकिएका यी दुई पालिकाबाट आयोगमा उजुरी आएको छ । आयोगले यी विवादलाई समाधान गरेर चाँडै समाधान गर्नको लागि वातावरण बनाउने कोसिस गर्दैछ,’उहाँले भन्नुभयो । 

पाँच दिनमा परिणाम आउँछ : आयोग 

निर्वाचन आयोगले पाँच दिन भित्रमा सबै पालिकाको मतपरिणाम सार्वजनिक हुने जनाएको छ । आयोगका प्रवक्ता पौडेलले  पाँच दिन भित्रमा सबै पालिकाको मतगणना सकिने दाबी गर्नुभयो । मतपत्र ठूलो भएको र बीचमा केही आन्तरिक विवादका कारण विभिन्न पालिकाको मतगणना रोकिँदै सुरु हुने कार्य भइरहेकाले पाँच दिन भित्रमा परिणम सार्वजनिक हुने उहाँले बताउनुभयो । यो समाचार तयार पार्दासम्म ७०७ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ ।