• ६ चैत २०८०, मङ्गलबार

कैलालीमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी बन्यो ठूलो दल

blog

धनगढी, जेठ ८ गते । २०७२ को टीकापुर घट्नाको दोषी ठहर भएर जेल जीवन विताइरहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी कैलालीको ठूलो दल भएको छ । सो पार्टी चौधरीकी पत्नी रञ्जिता श्रेष्ठको अध्यक्षतामा गठन भएको हो ।

१३ वटा पालिका रहेको कैलालीमा पालिका प्रमुख जितेको हिसावमा सो पार्टी ठूलो दल बनेको हो । नागरिक उन्मुक्तिले चार पालिका जितेर आफूलाई कैलालीको ठूलो दल बनाएको हो । सो पार्टीले टीकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर र जानकी गाउँपालिका जितेको हो । नागरिक उन्मुक्ती पार्टीपछि नेपाली काँग्रेस दोस्रो ठूलो दल बनेको छ । काँग्रेसले गोदावरी नगरपािलका, लम्कीचुहा नगरपालिका र कैलारी गाउँपालिका जितेको छ । 

२०७४ को स्थानीय चुनावमा सात पालिका जितेको नेकपा (एमाले) दुई पालिका प्रमुखमा मात्रै जितेको छ । 

गत चुनावमा दुई पालिका मात्रै जितेको माओवादीले दुई पालिका फेरि जिते पनि आफ्नो आधार क्षेत्र भनेको कैलारी गाउँपालिका र भजनी नगरपालिका गुमाएको छ । नयाँ दल नेकपा (एकीकृत समाजवादी)ले भने एउटा मात्रै घोडाघोडी नगरपालिका जितेको छ । चुरे गाउँपालिका प्रमुख पनि पाएको समाजवादीले २३ मतले सो पालिका गुमाउनु परेको छ । मतदाता शिक्षाको कमीले आफ्नो दलले चुरेको प्रमुख र गोदावरी नगरपालिकाको उपप्रमुख र केही जित्नै पर्ने वडा गुमाएको एकीकृत समाजवादीका कैलाली उपसचिव दीर्घ जोशीले बताउनुभयो । 

प्रमुख/उपप्रमुखको संख्या जोड्दा भने काँगेस नै ठूलो पार्टी बनेको छ । काँग्रेसका प्रमुख/उपप्रमुखको संख्या आठ छ भने नागरिक उन्मुक्ती पाटी सात रहेको छ । यस्तै एमाले प्रमुख/उपप्रमुखको संख्या पाँच छ भने नेकपा (माओवादी केन्द्र) को चार छ । वडाको हिसावमा भने काँग्रेस निक्कै ठूलो दल भएको छ । १२६ मध्ये सबैभन्दा धेरै वडा काँग्रेसले जितेको छ । 

Author

प्रकाशविक्रम शाह