• ६ चैत २०८०, मङ्गलबार

धादिङका सबै पालिकाको मतगणना सकियो, काँग्रेस पहिलो दल

blog

मुरारी अधिकारी
धादिङ, जेठ ६ गते । 
धादिङमा स्थानीय तहको निर्वाचनको मतगणना सम्पन्न भएको छ । धादिङको १३ स्थानीय तहमध्ये सातवटा नेपाली काँग्रेस, तीन वटामा नेकपा (माओवादी केन्द्र), दुई वटामा नेकपा (एमाले) र एक पालिकामा नेकपा समाजवादी विजयी भएको छ । घोषित १२ मध्ये ११ पालिकामा गठबन्धनका उम्मेदवारहरु अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

नेपाली काँग्रेसबाट नीलकण्ठ नगरपालिकाको प्रमुखमा भीमप्रसाद ढुङ्गाना, त्रिपुरासुन्दरी गाउँपालिकाको अध्यक्षमा राजु उप्रेती, खनियाबास गाउँपालिका अध्यक्षमा रणबहादुर तामाङ, नेत्रावती डबजोङ गाउँपलिका अध्यक्षमा मेघनाथ रिजाल, ज्वालामुखी गाउँपालिकामा यमनाथदनै, गङ्गाजमुना गाउँपालिकामा भक्तबहादुर लामा, सिद्धलेक गाउँपालिकामा परशुराम खतिवडा,विजयी हुनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)को तर्फबाट रुबीभ्याली गाउँपालिका अध्यक्षमा रामसिंह तामाङ, गजुरी गाउँपालिका अध्यक्षमा गणेशलाल श्रेष्ठ र बेनिघाटरोराङ गाउँपालिकामा कृष्णबहादुर थपलिया विजयी हुनुभएको छ ।

नेकपा (एमाले)का तर्फबाट गल्छी गाउँपालिका अध्यक्षमा केदार खतिवडा र थार्के गाउँपालिकामा एमालेका रामकुमार आचार्य विजयी हुनुभएको छ । यसैगरी, धुनिबेसी नगरपालिकामा नेकपा समाजवादीका बालकृष्ण आचार्य विजयी हुनुभएको छ ।

यसैगरी, गाउँपालिका उपाध्यक्षहरूमा नेपाली काँग्रेसका तर्फबाट रुबीभ्यालीबाट फेलामा तामाङ, नेत्रावती डबजोङ गाउँपालिकामा सीतामाया गुरुङ, गल्छी गाउँपालिकामा भाइकाजी तिवारी, धुनिबेसी नगरपालिकामा सुरज उप्रेती, गजुरी गाउँपालिकाको उपाध्यक्षमा सर्मिला विसुराल निर्वाचित हुनुभएको छ ।

नेकपा माओवादी केन्द्रकातर्फबाट नीलकण्ठ नगरपालिकाबाट उपप्रमुखमा दीपक विश्वकर्मा, त्रिपुरासुन्दरी गाउँपालिकाबाट उपाध्यक्षमा देवराज धरेल, खनियाबास गाउँपालिका उपाध्यक्षमा सेक्केमान तामाङ, गङ्गाजमुना गाउँपालिकाको उपाध्यक्षमा रामेश्वर सिँखडा र थार्के गाउँपालिकाको उपाध्यक्षमा यन्त्रबहादुर थापा निर्वाचित हुनुभएको छ । नेकपा समाजवादीका तर्फबाट ज्वालामुखी गाउँपालिकामा धर्मबहादुर अर्याल, सिद्धलेक गाउँपालिकाको उपाध्यक्षमा सविता अर्याल र बेनिघाट रोराङ गाउँपालिकाको उपाध्यक्षमा टापबहादुर श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

घोषित परिणामा अनुसार १०४ वडाका अध्यक्षमा नेपाली काँग्रेसले ३६ वटा, नेकपा माओवादी केन्द्रले ३२ वटा, नेकपा एमालेले २१, नेकपा समाजवादीले छ, राप्रपाले चार, स्वतन्त्रले चार र जनता समाजवादीले एक  वडा अध्यक्षमा जित हात पारेको छ ।