• ६ चैत २०८०, मङ्गलबार

फोक्सोमा क्यान्सर लागेकै वर्ष ९० प्रतिशतको मृत्यु

blog

काठमाडौं, जेठ ६ गते । नेपालमा बर्सेनि आठ हजार फोक्सो क्यान्सरका बिरामी थपिने गरेका छन्, तीमध्ये ९० प्रतिशत बिरामीको त्यही वर्ष मृत्यु हुने अध्ययनले देखाएको छ । 

सरकारी तथ्याङ्क अनुसार नेपालमा बर्सेनि आठ हजार फोक्सोका क्यान्सरका बिरामी पत्ता लाग्ने गर्दछन् । जसमध्ये, ९० प्रतिशत बिरामीको मृत्यु सोही वर्षमा हुने तथ्याङ्कले देखाएको हो । रोगको निदान गर्न ढिला हुने, बिरामी समयमा उपचारको दायरामा नआउने हुनाले सोही वर्षमा मृत्यु हुनेको सङ्ख्या बढी भएको क्यान्सर रोग विशेषज्ञ बताउँछन् । त्यसैगरी, नेपालमा हुने क्यान्सरका रोगमध्ये १८ प्रतिशत बिरामीमा फोक्सोको क्यान्सर हुने गरेको छ । विश्वमा एक वर्षमा एक करोड ३८ लाख व्यक्तिको मृत्यु फोक्सोका क्यान्सरका कारण हुने गरेको छ । पुरुषमा बढी फोक्सोको क्यान्सर शरीरको कोशिकाहरुको अनियन्त्रित वृद्धि भएर क्यान्सर हुने गर्दछ । 

मानिसको शरीरमा दाहिने र देब्रेतर्फ दुईवटा फोक्सो हुन्छन् । प्राकृतिक रूपले दाहिने फोक्सो तीन भाग र देब्रे फोक्सो दुई भागमा बाँडिएका हुन्छन् । फोक्साको जुन सुकै भागमा पनि क्यान्सर हुने गरे पनि विशेष गरी फोक्सोको माथिल्लो र बीच भागमा बढी असर पार्ने क्यान्सर रोग विशेषज्ञ बताउँछन् । अध्ययन अनुसार विश्वमा उमेर समूहको हिसाबले ६५ वर्षको हारहारीमा यो रोग बढी लाग्ने गरेको पाइन्छ भने नेपालमा ५० देखि ५५ वर्ष उमेर समूहका मानिसमा बढी देखिएको छ । नेपालमा महिला र पुरुष दुवैमा फोक्सोको क्यान्सर प्रमुख समस्याका रुपमा देखिए पनि बढीमात्रमा पुरुषमा यो रोग देखिने गरेको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.मदनकुमार पिया चिकित्सक बताउनुहुन्छ । 

नेपालमा ८० देखि ९० प्रतिशत बिरामी अन्तिम (तेस्रो र चौथो) अवस्थामा मात्रै अस्पतालमा पुग्ने गर्दछन् । डा. पिया भन्नुहुन्छ, “फोक्सोको क्यान्सर अगाडिको अवस्थामा पत्ता लागेको खण्डमा मात्र शल्यक्रिया गर्न मिल्छ ।

दाहिने भागको फोक्सोमा क्यान्सर भए देब्रे फोक्सोमा फैलन सक्ने सम्भावना बढी हुन्छ । त्यो बाहेक हड्डी, कलेजो, दिमागमा सर्ने सम्भावना पनि त्यतिकै रहन्छ । फोक्सोको क्यान्सरका कारण फोक्सोको क्यान्सरका प्रमुख कारणमा धुम्रपान रहेको चिकित्सक भनाइ छ । कुल ८५ देखि ९० प्रतिशत फोक्सोको क्यान्सर धूमपानको कारण लाग्ने गरेको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पिया बताउनुहुन्छ । त्यतिमात्र होइन , १० देखि १५ प्रतिशत फोक्सोको क्यान्सर कहिलै धूमपान नगर्ने व्यक्तिहरुलाई पनि हुने अध्ययनले देखाएको छ । धूमपान नगर्नेलाई भन्दा धूमपान गर्नेलाई क्यान्सरको सम्भावना ३० गुण बढी हुने वरिष्ठ क्यान्सर रोग विशेषत्र डा.सन्ध्या चापागाई बताउनुहुन्छ । यो रोग समाजमा भयानक रोगको रुपमा देखापरेको छ । धुम्रपान त्याग्न सकेमा यो रोगलाई पनि कम गर्न सकिने डा. चापागाईको भनाइ छ । 

धुम्रपान बाहेक अन्य कारणहरुले गर्दा पनि फोक्सोको क्यान्सर हुने डा. पिया बताउनुहुन्छ । डा. पियाका अनुसार विकिरणको सम्पर्कमा लामो समय बस्नेलाई, वातावरणीय प्रदूषणको कारणले गर्दा पनि फोक्सोको क्यान्सर हुन्छ । क्यान्सरका लक्षणहरु डा. पियाका अनुसार दुई हप्ता वा सोभन्दा बढी लगातार खोकी लाग्नु, खोक्दा खकारमा रगत आउनु, घ्यारघ्यार हुनु, सास फेर्न गाह्रो हुनु, धोध्रो स्वर हुनु, छाती दुख्नु फोक्सोका क्यान्सरका मुख्य लक्षण हुन् । यसका अलावा, यदि क्यान्सर अन्तिम चरणमा पुगेको भए हड्डी दुख्नु, खाना निल्न गाह्रो हुनु, छातीको माथिल्लो भाग सुनिन्नु, ज्वरो आउनु, फोक्सोमा पानी जम्नु, आँखा तिरमिराउनु आदि लक्षण देखिन्छन् । 

कुल ८५ देखि ९० प्रतिशत फोक्सोको क्यान्सर धुम्रपानको कारण लाग्ने गरेको वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पिया बताउनुहुन्छ । त्यतिमात्र होइन , १० देखि १५ प्रतिशत फोक्सोको क्यान्सर कहिलै धूमपान नगर्ने व्यक्तिहरुलाई पनि हुने अध्ययनले देखाएको छ ।

क्यान्सरको निदान फोक्सोको क्यान्सर सुरुवाती चरणमा १५ प्रतिशतमा पत्ता लाग्ने चिकित्सक बताउँछन् । फोक्सोको क्यान्सरलाई विभिन्न जाँचहरु गरेर पत्ता लगाउन सकिन्छ । सामान्य एक्सरे, सिटी स्क्यान, फोक्सोमा सानो नली छिराएर हेर्ने र शङ्का लागेको ठाउँबाट सानो मासुको टुक्रा निकालेर क्यान्सर भए/नभएको जाँच गर्ने, एमआरआई, खकारबाट पनि क्यान्सर भए/नभएको पत्ता लगाउन सकिन्छ । यसैगरी,शङ्का लागेका ठाउँबाट पानी निकालेर क्यान्सर भए/नभएको जाँच गर्ने र पेट सिटी स्क्यान गरेर फोक्सोको क्यान्सर पत्ता लगाउन सकिन्छ । डा. पियाका अनुसार शरीरको सम्पूर्ण भागलाई स्क्यान गरेर जाँच गर्ने प्रक्रियालाई पेट सिटी स्क्यान भनिन्छ । क्यान्सरको उपचार फोक्सोको क्यान्सरको उपचार नेपालमा नै सम्भव छ । तर,नेपालमा ८० देखि ९० प्रतिशत बिरामी अन्तिम (तेस्रो र चौथो) अवस्थामा मात्रै अस्पतालमा पुग्ने गर्दछन् । डा पिया भन्नुहुन्छ, “फोक्सोको क्यान्सर अगाडिको अवस्थामा पत्ता लागेको खण्डमा मात्र शल्यक्रिया गर्न मिल्छ । तर,नेपालमा फोक्सो क्यान्सरका बिरामी ढिलो पत्ता लाग्ने कारणले शल्यक्रिया मार्फत यसलाई पूर्णतया निको पार्न सकिने सम्भावना न्यून छ ।” उहाँका अनुसार पहिलोे अवस्थामा क्यान्सर पत्ता लागेमा शल्यक्रिया मार्फत ९५ प्रतिशत व्यक्तिको क्यान्सर निको बनाउन सकिन्छ । 

त्यसैगरी, दोस्रो चरणको क्यान्सर समयमा नै पत्ता लागेमा ७० प्रतिशत क्यान्सर व्यक्तिलाई निको बनाउन सकिन्छ । त्यस्तै, तेस्रो अवस्थामा पत्ता लागेमा अवस्था हेरेर शल्यक्रिया गरी केमोथेरापी , रेडियोथेरापी विकिरण , टार्गेट थेरापी, इम्युनो थेरापीको सहयोगले उपचार गरेर ४० प्रतिशत क्यान्सर निको बनाउन सकिन्छ । डा पियाका अनुसार बिरामीको उपचारमा प्रयोग हुने यी थेरापीले बिरामीको शरीरमा रहेको सेलहरुलाई मार्न तथा कम गरी रोगलाई निको पार्न र व्यक्तिको जीवनलाई लम्ब्याउन र रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । रोकथाम क्यान्सर हुनै नदिन स्वस्थकर जीवन जिउने, धुम्रपान त्याग गर्ने, वर्षमा एक पटक आफ्नो स्वास्थ्यको जाँच गर्ने, विकिरण/विभिन्न केमिकलबाट टाढ रहने, प्रदूषित वातावरणबाट जोगिनुका साथै जीवनशैलीमा परिवर्तन, शारीरिक कसरत गर्न चिकित्सकको सुझाव छ । 

सरकारलाई सार्वजनिक स्थानमा धूमपानलाई बन्देज लगाउने, राष्ट्रिय रुपमा धुम्रपान विरुद्धको अभियान सञ्चालन गर्ने, धूमपानमा लाग्ने करलाई वृद्धि गर्ने, जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने चिकित्सकको सुझाव छ ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।