नेपाल एएफसी यु–१६ च्याम्पियनसीपमा छनौट

 

 

काठमाडौँ, असोज ४ गते । आगामी वर्ष भारतमा हुने एएफसी १६ वर्षमुनि उमेर समूहको ९यु–१६० च्याम्पियनसीप खेल्ने नेपाली युवा टोलीको सपना पूरा भएको छ ।

आइतबार राति किर्गिस्तानमा भएको यु–१६ च्याम्पियनसीप छनोट फुटबल प्रतियोगितामा आयोजक किर्गिस्तानले प्रतियोगिताकै बलियो मानिएको टोली जोर्डनलाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गरेपछि नेपालको एएफसी च्याम्पियनसीप खेल्ने सपना पूरा भएको हो ।

तीन खेल खेलेको नेपालले दुई खेलमा जित तथा एक खेलमा हार बेहोरेको थियो । किर्गिस्तानस्थित डोलोन ओमनुजाकोभ रङ्गशालामा भएको पहिलो खेलमा नेपालले जोर्डनलाई २–१ गोलअन्तरले पराजित गरेको थियो भने दोस्रो खेलमा घरेलु टोली किर्गिस्तानलाई ४–२ ले गोलअन्तरले पराजित गरेको थियो ।

त्यस्तै, समूह चरणको अन्तिम खेलमा भने नेपाल ओमनसँग १–३ गोलअन्तरले हार्न पुग्यो । एएफसी यु–१६ च्याम्पियनसीपका लागि ओमन भने छनोट भएको छ । प्रतियोगितामा तीन खेल खेलेको ओमन दुई खेलमा जित तथा एक खेलमा हार बेहोर्दै ६ अङ्कका साथ समूह बी बाट छनोट भएको हो ।

त्यस्तै, समान ६ अङ्क नै जोडेको नेपाल भने हेड टु हेडका आधारमा पछि पर्दै समूहको उपविजेताको रुपमा छनोट भएको हो । प्रत्येक समूहको उपविजेतामध्येबाट शीर्ष चारभित्र पर्ने टोलीमात्र उक्त प्रतियोगितामा छनोट हुने प्रावधान छ ।

यसपटक एसियाली फुटबल महासङ्घले आफ्नो सदस्य राष्ट्रका ४५ टोलीलाई ११ समूहमा विभाजन गरेको छ । छनोट प्रतियोगितामा ११ समूहका विजेता टोली, उपविजेतामध्ये शीर्ष चार स्थान हासिल गर्ने टोली र आयोजक भारत गरी १६ टोलीले आगामी वर्ष भारतमा हुने एएफसी च्याम्पियनसीपमा खेल्न पाउनेछन् ।

अघिल्लो वर्ष थाइल्यान्डमा भएको एएफसी यु–१६ च्यम्पियनसीप छनोटमा भने नेपाल असफल भएको थियो । त्यतिबेला नेपालले कुवेतलाई मात्र पराजित गरेको थियो भने उज्वेकिस्तान र उत्तर कोरियासँग हार बेहोर्दै घर फर्किन बाध्य बनेको थियो ।

त्यस्तै, प्रतियोगिताको समूह एबाट उज्वेकिस्तान, समूह सीबाट इराक, समूह डीबाट साउदी अरब, ईबाट इरान, एफबाट कुवेत, जीबाट मलेसिया, एचबाट उत्तर कोरिया, आईबाट दक्षिण कोरिया, जेबाट अस्ट्रेलिया र समूह केबाट जापान समूहको विजेता बन्दै छनोट भएका छन् । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना