• ६ चैत २०८०, मङ्गलबार

पहिलो स्थानीय तहको कार्यकाल पूरा

blog

काठमाडौँ, जेठ ५ गते । देशभरका ७५३ वटा स्थानीय तहका जनप्रतिनिधिहरूको पाँच वर्षे कार्यकालको आज (बिहीबार) अन्तिम दिन हो । २०७४ मा चार चरणमा भएको स्थानीय तहको निर्वाचनको पहिलो चरणको वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट चयन भएका जनप्रतिनिधिको कार्यकाल जेठ ६ गते सुरु भएको थियो । 

स्थानीय तहको दोस्रो कार्यकालका लागि गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट देशभरका ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका तथा ४६० गाउँपालिकामा नयाँ जनप्रतिनिधिका लागि मतगणना जारी छ ।

मुलुकको सबैभन्दा जेठो र ठूलो काठमाडौँ महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यको कार्यकालसमेत बिहीबारदेखि पूरा हुँदै छ । कार्यकाल सकिनु अघिल्लो दिन प्रमुख शाक्यले काठमाडौँको बौद्धस्थित महानगरपालिका–६ को वडा कार्यालय भवन उद्घाटन गर्नुभयो तर शाक्यले उद्घाटन गरेको वडा कार्यालयको निर्माण सकिनै बाँकी छ । चारतले भवनको बाहिरी संरचना पूरा भए पनि भित्री कोठा तयार भएका छैनन् । 

भवन उद्घाटन गर्दै शाक्यले भौतिक संरचनाको विकासमा उल्लेख्य काम गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “मेरो पाँचवर्षे कार्यकालमा रुखको बिरुवा रोप्ने काम भएको छ । यसले भविष्यमा फल दिनेछ ।” शाक्यले आफूले राम्रो काम गरे वा गरिनँ भन्ने तुलना भावी जनप्रतिनिधिको कामबाट समेत थप स्पष्ट हुने बताउनुभयो । कार्यकालको अन्तिम चरणमा निर्माण पूरा नभएका भवनको उद्घाटन गर्ने शैलीलाई शाक्यले समेत निरन्तरता दिनुभयो । 

२०७२ सालको भूकम्पले क्षतिग्रस्त काष्ठमण्डप, धरहरालगायत पुराताìिवक सम्पदाको पुनर्निमाण पूरा नभएका अधुरा संरचना उद्घाटन गरेको आरोप पूर्ववर्ती सरकारमाथि लाग्दै आएको थियो । कामनपाको आर्थिक तथा प्राविधिक सहयोगमा पुनर्निर्माण गरिएको काष्ठमण्डप तथा धरहरा निर्माण सम्पन्न नहुँदै उद्घाटन गरेको भन्दै आलोचना भएको थियो ।

काठमाडौँलाई स्मार्ट सहर बनाउने तथा मनोरेल चलाउने शाक्यको चुनावी परिकल्पना चुनावी एजेन्डाका रूपमा सीमित रहे । उपत्यकाको फोहोर व्यवस्थापन तथा सहरी क्षेत्रको सडक विस्तारमा समेत शाक्यको कार्यकालमा खासै प्रगति हुन सकेन ।

शाक्यको मौन कार्यकाल

२०७४ जेठ ५ गतेकाठमाडौँ महानगरपालिका प्रमुखको पदभार गर्नुभएका शाक्यको कार्यकाल मौनतामै सकियो । पाँच वर्षे कार्यकालमा सञ्चारमाध्यम तथा महानगरवासीसँगसमेत अपेक्षित रूपमा घुलमिल हुन नसक्नुभएका शाक्यमाथि कतिपयले समस्यासँग जुध्न नसकेको रूपमा चित्रण गर्ने गरेका छन् तर उहाँले “आफू भाषणभन्दा काममै बढी ध्यान दिएको” दाबी गर्नुभयो । 

प्रमुख शाक्यसँग बुधबार गोरखापत्र दैनिकले पाँच वर्षे कार्यकालको अनुभव र आफूले चाहेरसमेत काम गर्न नपाएका योजनाबारे जिज्ञासा राख्दा शाक्यले “विगतमा जस्तै कार्यकालको अन्तिम चरणमासमेत आफू सञ्चारमाध्यमसँग टाढा रहन रुचाउने” प्रतिक्रिया दिनुभयो ।

काठमाडौँको टुँडिखेलस्थित खुलामञ्चमा भएको अतिक्रण, उपत्यकाका नदी किनारमा विस्तार हुँदै गएको अव्यवस्थित बस्ती नियन्त्रण, रानीपोखरी, कमलपोखरी र वसन्तपुर दरबार क्षेत्रजस्ता पुरातात्त्विक सम्पदामा महानगरपालिकाले विस्तार गरेको कङ्क्रिटयुक्त संरचनाको विवाद चर्किएका बेला प्रमुख शाक्यले जवाफदेहिता नदेखाएको आरोप लाग्यो ।

पूर्वाधार तयार पारेको दाबी 

महानगरपालिका प्रमुख शाक्यले आफ्नो पाँच वर्षे कार्यकालमा विगतभन्दा धेरै काम भएको दाबी गर्दै आउनुभएको छ । उपत्यकामा रहेका झन्डै एक सय सामुदायिक विद्यालयको स्तरोन्नति, पूर्वाधार तथा शैक्षिक विकासलाई शाक्यले कार्यकालको उपलब्धिका रूपमा लिनुभएको छ । 

महानगर क्षेत्रका सडकमा स्थापना गरिएका सौर्यबत्ती, सीसी क्यामरा जडान तथा बालाजु औद्योगिक क्षेत्रलगायत उपत्यकाका विभिन्न स्थानमा आगो नियन्त्रण गर्न र स्थापना गरिएका दमकल स्टेसनलाई समेत पाँच वर्षे कार्यकालको प्रमुख उपलब्धिका रूपमा व्याख्या गरिएको छ । उहाँले आफ्नो नेतृत्वमा महानगरपालिका कार्यसञ्चालन गर्ने महत्त्वपूर्ण कानुन निर्माण गरेको, कर्मचारी समायोजनलाई समेत विवादरहित बनाउन सफल भएको दाबी गर्नुभयो ।