• ६ चैत २०८०, मङ्गलबार

गौतमबुद्धको घर तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सुचीकृत हुने

blog

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समावेश गर्ने विषयमा लुम्बिनीमा भएको छलफल । तस्बिर : कपिल ज्ञवाली ।

सिद्धार्थनगर, जेठ ४ गते । गौतमबुद्धको घर कपिलवस्तुको तिलौराकोट दरबार विश्व सम्पदा सूचीमा सुचीकृत हुने भएको छ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा समाबेशका लागि लगिने प्रक्रियाको विषयमा लुम्बिनीमा भएको छलफलले निष्कर्ष निकालेको हो ।

तिलौराकोट आगामी २ वर्ष भित्रमा विश्व सम्पदा सूचीमा सुचीकृत हुनेछ । पुरातत्व विभाग, युनेस्को र लुम्बिनी विकास कोषको संयुक्त सेमिनारले गुरुयोजना बनाएर अगाडि बढ्ने निष्कर्षमा पुगेको हो । कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचिमा सुचिकृत गर्ने गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा छलफल भएकोले सल्लाह र सुझाब अनुसार अगाडि बढेको पुरातत्व विभागका महानिर्देशक दामोदर गाैतमले बताउनुभयो । 

दुई दिने सेमिनारमा विज्ञहरुले आफ्नो राय पेश गरेकोले सोही आधारमा काम अगाडि बढ्ने महानिर्देशक गाैतमले बताउनुभयो । तिलौराकोटको कृषि, पर्यटन र स्थानीय उत्पादनको चिजवस्तुलाई प्रोत्साहन हुने गरी गुरुयोजनामा समावेश गर्ने र पुरातत्वलाई प्रतिवेदन पेस गर्ने गरी काम अगाडि बढ्ने आर्केटेक काइ वाइजीको भनाइ छ  ।

अष्ट्रेलियाका विज्ञ डङ्कन पार्सलले तिलौराकोटको डिजाइन गरि रहेको र अहिले डकुमेन्ट्री बनाउने काम भइरहेकोले अबको २ वर्ष भित्रमा काम पूरा हुने र सन् २०२४ मा विश्व सम्पदा सूचिमा सुचिकृत हुने लुम्बिनी विकास कोषका प्रशासन प्रमुख ज्ञानिन राईले बताउनुभयो  ।

दुई दिन सम्म भएको सेमिनारमा विज्ञहरुको सुझावलाई समेटेर तिलौराकोटको बारेमा सबैले बुझ्ने गरी किताबको रुपमा प्रकाशन गरिने राइले जानकारी दिनुभयो । विश्व सम्पदामा सुचिकृत भइसकेपछि गौतमबुद्धको घर तिलौराकोट दरबारको संरक्षण हुने र पर्यटकको मुख्य गन्तव्यको रुपमा विकास हुने अपेक्षा गरिएको छ ।

Author

कपिल ज्ञवाली