सित्तैँमा सिंगापुर

ramdayalडा.रामदयाल राकेश

 

सिंगापुरको अङ्ग्रेजी हिज्जे अनुसार सिंगापोर सुहाउँदो नाम हुनसक्छ तर आफ्नो सुविधानुसार यसलाई सिंगापुर नै भन्न रुचाउँछौं । यो यसै स्वरूप र संरचनाअनुसार नगर राज्यको रूपमा संसारमा सुप्रसिद्ध हुन गएको छ । हो, यसै सर्वोत्तम नगर राज्यको भ्रमणका लागि हामी अर्थात् म, मेरी श्रीमती तारादेवी छोरी पूनम र नाति समीर विचार विमर्श गरी राखेका छौं । मेरा ज्वाइँ तारिणीराज एक वर्षदेखि मलेसियाको राजधानी क्वालालम्पुरमा अवस्थित नेपाल एयर लाइन्सको अफिसमा नियुक्त भएर कार्यरत हुनुहुन्छ । उहाँको पनि अनुरोध के छ भने यहाँ आएपछि एकछोटि सिंगापुर जानैपर्दछ । शनिबार र आइतबार क्वालालम्पुरबाट सिंगापुर जाने मानिसको धेरै भीड हुँदोरहेछ किनभने सप्ताहान्तमा धेरै मानिस त्यहाँ जाने गर्दछन् । दिउँसो र राति जुन बेला पनि बस र टे«नको नियमित सेवा सञ्चालित छ । हामी रात्रिबस सेवाबाट सिंगापुर जाने निधो गरेर रातिको खाना एपार्टमेन्टमा नै खाएर प्रस्थान गर्दछौं । सन् १९६५ मा मात्रै त सिंगापुर मलेसियाबाट छुट्टिएको हो । अहिलेसम्म पनि मलेसियाले सिंगापुरलाई खानेपानीको निरन्तर सेवा प्रदान गरिराखेको छ । क्वालालम्पुरबाट बस र टे«नबाट मात्र पाँच घण्टामा सिंगापुर पुग्न सकिन्छ । अहिले क्वालालम्पुर र सिंगापुरमा भर्खरै सम्झौता भएअनुसार यो पाँच घण्टे दूरीलाई हाइस्पीड रेल सेवाबाट ९० मिनेटमा तय गर्न सकिन्छ । यस सम्झौताअनुसार सन् २०१७ मा यो सेवा सञ्चालन हुनेछ ।
अहिले क्वालालम्पुरबाट सिंगापुरका लागि एक एक घण्टाको अन्तरमा बस र टे«न जाने गर्दछ । हामी जब बस स्ट्यान्डमा पुग्छौं बस नियत समयमा तयार भएका पाउँछौं । बस स्ट्याण्डमा यात्रु खचाखच छन् तर हल्लाखल्ला सुनिंदैन । सफासुग्घर पनि त्यत्तिकै छ । हाम्रो बसको नाम हो फाइभस्टार र घोषणा हुन्छ कि यो बस गेट नं. ६ बाट खुल्छ । घोषणा भएलगत्तै हामी बसभित्र प्रवेश गर्दछौं तर बस वातानुकूलित छ, आरामदायक छ । जीवनमा पहिलोपल्ट यस्तो बसमा भ्रमण गर्ने अवसर पाउँदा आनन्द छौं । बसमा चालक मात्र छ । सबै यात्रु आ–आफ्नो सिटमा चुपचाप बसेका छन् । सबै सिट फोल्डिङ हुनु र सबै सिटको सामुमा नयाँ पर्दा हुनु त न्यूनतम सुविधा हो । मलाई जतिसुकै आरामदायी बस र प्लेनमा निद्रा लाग्दैन । म पर्दा उघारेर नयाँ मार्गको नयाँ भूदृश्य अवलोकन गर्दै मलेसियाको अर्को चर्चित सहर जोहोरबारु पुग्दछौं । जहाँ क्लालाम्पुर भन्दा पनि अधिक सङ्ख्यक नेपाली कार्यरत छन् । यहाँ पुगेपछि सबै यात्रु आ–आफ्नो पासपोर्ट लिएर अध्यागमन अफिसका अगाडि पङ्क्तिबद्ध हुन्छन् र अध्यागमन अधिकारी पासपोर्ट हेर्दै र स्ट्याम्प लगाउँदै आफ्नो ड्यूटी सिध्याउँछन् । सफासुग्घर शौचालयमा गएर सबै फ्रेस हुन्छन् । हाम्रो बस नियत स्थानमा पार्क गरिएको छ । हाम्रो यात्रा फेरि सुरु हुन्छ । हामी एक घण्टाभित्रै मलेसियाको सीमा पार गरेर सिंगापुरको सीमामा प्रवेश गर्दछौं । बस यात्राको अन्त्य हुन्छ । हामी त्यहाँ अवस्थित शौचालयमा गएर दैनिक शौचक्रियाबाट निवृत्त हुन्छौं । खाजा खान्छौं र हाम्रो सिंगापुर यात्रा सुरु हुन्छ । हाम्रो टोलीको पथप्रदर्शक नाति समीर हुन्छ ।
प्रातःकालको मनोरम र मनोहर घडीमा हामी आधा घण्टा जति सिंगापुरको जाबा रोडको परिक्रमा गर्दै मेरिना बे स्टेशन पुग्छौं । मेरिना वेदेखि हार्वर फ्रन्टको तीव्र गतिमा सञ्चालित टे«न समात्छौं । टे«नमा पनि शान्ति छ, अनुशासन छ । ज्येष्ठ नागरिक, अशक्त र अपाङ्गका लागि सिट सुरक्षित छ । कहीं कहीं यसलाई ‘प्रायोरिटी’ सिट पनि भनेर लेखिएको छ । ढोका बन्द हुँदा र खुल्दा घोषणा हुन्छ । यसबाहेक सङ्केत पाटीमा पनि सूचना समय समयमा आइरहन्छ । हाम्रो गन्तव्य सन्तोषा टापू हो किनभने म दुईपल्टको सिंगापुर भ्रमणमा जाँदा सन्तोषा टापू जाने सुअवसर पाएको थिइँन । ३० मई २०१५ को बिहानीको बेला सम्पूर्ण सिंगापुर नै सुगन्धित लाग्छ । बाटोघाटोमा फूलका बिरुवाको नयनामिराम दृश्य हेरेर मन प्रसन्न र प्रफुल्ल हुन्छ । यस टापूको किनारैकिनार सन्तोषा टापू जाने आरामदायी बाटो बनाइएको छ । सिंगापुरको समृद्धिको सङ्केत यहीँबाट प्राप्त हुनथाल्छ । यहाँबाट पर्यटक केबुलकार, समुद्री स्यानो स्टीमर, टे«न र मोनोरेलबाट जान सकिन्छ । हामी पैदल भ्रमण गर्दै सिंगापुरको सुन्दरता आँखाभरि नियाल्दै हिंडिराखेका छौं । हामीलाई थकाइ नै लाग्दैन ।
सन्तोषा टापू स्वयंमा एउटा सुन्दर संसार लाग्छ । हामी बोर्डवाक, रक गार्डेन, भिमोसिटी, कोस्टक फ्योरा, क्यसिनो रिर्सोट वल्र्ड, दी वाटर फ्रन्ट र कन्मेसिन सेन्टर हेर्दै अगाडि बढिराखेका छौं । मौसम पनि रमाइलो छ । माथि छाना छ र तल पैदल गतिमा तीव्रता ल्याउनका लागि स्केलेटर फिट छ । जता हेरौं त्यता नै मेला लागेको छ । संसारभरिका मानिस देखा पर्दछन् । मानिसहरूलाई हेर्दा पनि कहिलेकाहीँ रमाइलो अनुभूति हुन्छ । उनीहरूको बोलीचाली, आनीबानी, पहिरन एवं पहिचान, संवादशैली सबै सराहनीय लाग्छ । सयपत्रीको सौन्दर्य हेर्दै जाँदा स्वदेशको स्मृति अनुभूत हुन्छ । हामी कति पिछडिएका छौं । हाम्रो देशमा कति हिंसा र हत्याको अन्त्यहीन दौड चलिराखेको छ । हामी कति निर्मम र निर्दयी दिनानुदिन भइराखेका छौं । हाम्रो देशको राजनीति रक्तरञ्जित भएकोमा रिस पनि उठ्छ तर हामी कति निरीह र निःसहाय भएका छौं । हामीले केही गर्न सकेनौं । हाम्रो नियति नै यो भएसकेको छ । खैर, अहिले पनि सिंगापुरको लोकतन्त्रलाई एसियामा सर्वोत्तम भनिन्छ । सन्तोषा टापूको चारैतिर बहारै बहारको वर्षा भइराखेको छ । के हेरुँ र के छोडँु जस्तो द्विविधाग्रस्त मनस्थितिमा पुग्छौं । कहीँ मलेसियन फुड स्ट्रिट, कहीँ क्यानभार सिग्नेचर टाभेल्सद्वारा आयोजित कार्यक्रममा पर्यटकको फोटो खिचाउने घुइँचो ।
ठाउँ ठाउँमा नृत्य भेला । हामी पुग्छौ मर्लियन प्लाजा । यहाँ आधा माछा र आधा सिंहको एउटा प्रतिमा हेर्न ल्याइएको छ । पानीको फोहोरामा पर्यटकहरू स्नान गर्दै शीतलताको अनुभव गर्दछन् र मनमस्तिष्कमा त्यो प्रतिमामा लिखित एउटा लेखोटले हाम्रो ध्यान आकृष्ट गर्दछ ।
यसलाई सन्तोषा पर्लियन भनिन्छ । यसको प्रत्येक दाँतले सिंगापुरको समृद्धिको बयान गर्दछ । साथै सिंगापुरमा बसोबास गर्ने जात जातिको उन्नति र प्रगतिको कामना गर्दछ ।
“इच टुथ सिग्निफाइज प्रास्पेरिटी फर अल रेसेज इन सिंगापुर”
हामी रिफ्रेस भएर स्काई गार्डेन र लेक अफ ड्रिम्स हेर्दै समुद्रतटतिर अग्रसर हुन्छौं । यहाँ लेखिएको सूचना पढ्छौं वन्स इज नेभर इनफ’ । वास्तवमा एकपल्ट हेरेर पुग्दैन हामी पनि निष्कर्षमा पुग्छौं । हामी बीच ट्राम्स समात्छौं र पुग्छौं पालावान बीच, सिथोसो बीच र तानजौग बीच ।
मलाई समुद्री तट असाध्यै मन पर्छ । यहाँ पर्यटकको घतलाग्दो घुइँचो हेर्न लायक छ । केही पर्यटक समुुद्रको छेउछाउमा पौडी खेलिरहेका छन् भने केही महिलाहरू स्विमिङ कस्टुममा आफ्नो नाङ्गो शरीरलाई समुद्री नुनिलो पानीले चम्किलो बनाउनमा संलग्न छन् । मध्याह्नको सूर्य माथिबाट ताप र रापको वर्षा गरिराखेको छ । यस्तो तातो मौसममा म पनि सफारी सूट फुकालेर समुद्रमा हामफाल्छु । आज बिहान ननुहाएकोले र पसिनाबाट असिनपसिन भएकाले मलाई धेरै राहत महसुस हुन थालेको छ । यो मेरो दोस्रो समुद्री स्नानको अनुभव हो ।
पहिलोपल्ट जब म संयुक्त राज्य अमेरिकाको हवाई द्वीपको राजधानी होनोलुलुमा एउटा संगोष्ठीमा सहभागी हुने सौभाग्य प्राप्त गरेको थिएँ । चारहप्ते संगोष्ठीको अन्तिम दिन प्रशान्त महासागरको अनन्त विस्तार हेर्दा पाँचपल्ट त्यसमा डुबुल्की लगाएर निस्केको थिएँ । म एक्लै भएकोले भयाक्रान्त पनि थिएँ तर यहाँ आफ्नो पसिरवारजन र पर्यटकको उपस्थिति थियो । त्यसपल्टको भम्रणमा पनि फिर्ने बेलामा सिंगापुरको भ्रमण सित्तँैमा गरेको थिएँ किनभने पैनम एयरलाइन्सको काठमाडौंदेखि होनोलुलुसम्मको हवाई टिकटमा बोनसमा यो अवसर प्राप्त भएको थियो । सिंगापुरको भ्रमणको बारेमा सम्पूर्ण तराई मधेसमा एउटा उखान बालापनदेखि नै सुन्दै आएको थिएँ । और सहर सौ बार, सिंगापुर एक बार । अतः सिंगापुरको सौन्दर्य र समृद्धिको साक्षात् अवलोकनबाट आफूलाई अलग गर्न चाहन्नथेँ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना