• ६ चैत २०८०, मङ्गलबार

मोलुङमा गठबन्धनलाई पराजित गर्दै एमाले विजयी

blog

मोलुङ गाउँपालिकामा एमालेबाट निर्वाचित अध्यक्ष उत्तम राई र उपाध्यक्ष उर्मिला खतिवडा । तस्बिर : गोरखापत्र

शेरबहादुर राई 

ओखलढुङ्गा, जेठ ३ ।  ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा नेकपा एमालेका उम्मेदवारहरु विजयी भएका छन् । कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै एमालेबाट अध्यक्षमा उत्तम राई र उपाध्यक्षमा उर्मिला खतिवडा निर्वाचित हुनुभएको हो ।  

एमालेका राईले ४ हजार ५२ मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी गठबन्धनबाट काँग्रेस उम्मेदवार राजन दाहालले ३ हजार ४ सय ६२ मत पाउनुभयो । विजयी राईको मतान्तर ५९० छ । २०७४ को निर्वाचनमा एमालेले २६ मतले अध्यक्ष पद जितेको थियो ।

उपाध्यक्षमा खतिवडाले प्रतिस्पर्धिलाई दोब्बर बढी मतान्तरले पछि पार्दै उपाध्यक्ष जित्नुभयो । खतिवडाले ४ हजार २ सय ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रका कुलबहादुर खत्रीले २ हजार ९६ मत पाउनुभयो । खतिवडाले दोब्बर बढी २१०४ मतले जित्न सफल हुनुभयो । जिल्लामा सबैभन्दा धेरै मतान्तरमा विजयी हुने खतिवडा पहिलो जनप्रतिनिधि बन्नुभएको छ । मोलुङका वडामा पनि एमालेको बहुमत छ । ८ मध्ये ५ वडा एमाले र ३ नेपाली काँग्रेसले जितेको छ । 

एमालेबाट वडानम्बर १ मा कमल बानीया, ३ मा मित्रबहादुर सुनुवार, ६ मा कमल तामाङ, ७ मा हेमबहादुर सुनुवार र ८ मा सुधिर राई विजयी हुनुभएको छ । काँग्रेसबाट वडानम्बर २ मा टङ्क कार्की, ४ मा भोलाराज राई र ५ मा गोपी कार्की विजयी हुनुभएको छ । 

माओवादी केन्द्रका सबै वडा अध्यक्ष र गठबन्धनको उपाध्यक्ष पराजित हुँदा मोलुङमा माओवादी क्लीन स्वीप भएको छ । एमाले हराउन काँग्रेसले उपाध्यक्षको उम्मेदवार टङ्कमाया बुढाथोकीको उम्मेदवारी फिर्ता लिएर माओवादीसँग तालमेल गरेको थियो । 

गठबन्धनभित्र तालमेल नमिल्दा मोलुङमा काँग्रेस र माओवादीका उम्मेदवारले अपेक्षित भोट ल्याउन सकेनन् । अघिल्लो निर्वाचनमा एक्लै चुनाव लड्पा पनि काँग्रेसले उपाध्यक्ष र ४ वडाअध्यक्ष जितेको थियो ।