• ६ चैत २०८०, मङ्गलबार

सङ्खुवासभा खाँदबारी नगरपालिकाको प्रमुखमा काँग्रेस, उपप्रमुखमा एमाले विजयी

blog

ध्यान कुलुङ 

सङ्खुवासभा, जेठ २ गते। खाँदबारी नगरपालिकाको  उपप्रमुखमा नेपाली काँग्रेसका महेश थपलिया र उपप्रमुखमा नेकपा (एमाले)का महेश्वरा बज्राचार्य निर्वाचित हुनुभएको छ। 

थपलियाले निकटतम् प्रतिद्वन्द्वी एमालेका जीतबहादुर घिमिरेलाई पराजित गर्दै विजेता बन्नुभएको हो। त्यस्तै बज्राचार्य नेकपा (माओवादी केन्द्र)का उमेदवार दिव्यराज बराललाई हराउदै उपप्रमुखमा निर्वाचित हुनुभएको हो। 

थपलियाले ८ हजार ३४ मत प्राप्त गर्नुभएको छ भने एमालेका घिमिरेले ५ हजार ५ सय ८९ मत प्राप्त गर्नुभएको छ। उपमेयर विजेता बज्राचार्यले ६ हजार ३ सय ८५ मत ल्याउँदा बरालले ५ हजार १ सय ४७ मतमात्र प्राप्त गर्नुभएको छ।

खाँदबारी नगरपालिकामा गठबन्धनबाट नेपाली कांग्रेसलाई प्रमुख र नेकपा (माओवादी केन्द्र)लाई उपप्रमुखको उमेदवार बनाइएको थियो। उपमेयर विजेता बज्राचार्यले गठबन्धनको उमेदवारलाई पराजित गर्नुभएको हो। अघिल्लो निर्वाचनमा खाँदबारी नगरपालिकामा दुवै पद एमालेले जितेको थियो।

१० स्थानीय तह रहेको सङ्खुवासभामा हालसम्म योसहित ३ पालिकाको अन्तिम मत परिणाम आइसकेको छ। सिलिचोङ गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष र उपाध्यक्ष जितेको छ भने सभापोखरी गाउँपालिकामा अध्यक्ष नेपाली काँग्रेस र उपाध्यक्ष नेकपा एकीकृत समाजवादीले जितेको छ।