लेखनाथ पौड्यालको सालिकमा मल्यार्पण

Lekhnath photo
काठमाडौं, पुस १५ गते । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले कविशिरोमणि लेखनाथ पौड्यालको १३१ औँ जयन्तीका अवसरमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभएको छ । सोही अवसरमा नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गरियो ।
त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाई, लेखनाथ पौड्याल काव्यसभाका संयोजक प्रा.राजेन्द्र सुवेदी, लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका संयोजक प्रा.ठाकुर पराजुली र त्रिमूर्ति निकेतनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जलि हो भन्नुभयो ।
कार्यक्रममा कविहरू प्रल्हाद पोखरेल, डा.शैलेन्दुप्रकाश नेपाल, बाबा वस्नेत, यादव भट्टराई र ललिता दोषीले कविता वाचन गर्नुभएको थियो ।
लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घौअर्चलेमा भएको थियो ।
२००८ साल असार २९ गते पौड्याललाई राजा त्रिभुवनद्वारा कविशिरोमणिको पद्वी र मासिक दुई सय रुपियाँ आजीवन भत्ता प्रदान गरिएको थियो ।
लेखनाथ पौड्याल, बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटा २००९ सालमा दार्जीलिङ जाँदा त्यहाँका त्रिरत्न सूधपा अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणि प्रधानद्वारा पौड्याल, सम र देवकोटालाई त्रिमूर्तिको पद्वीले सम्मान गरिएको थियो ।
पौड्यालका दुई दर्जन जति कृति प्रकाशनमा आए । पौड्याललाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरिएको थियो । २०२२ सालको शिवरात्रि अर्थात् फागुन ७ गते कविशिरोमणि पौड्यालको देहावसान भएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना