• ६ चैत २०८०, मङ्गलबार

न्यु बुटवल–गोरखपुर दोस्रो अन्तरदेशीय प्रसारण लाइन : लगानी गर्न प्राधिकरणलाई स्वीकृति

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ २ गते । नेपाल विद्युत् प्राधिकरणले न्यु बुटवल–गोरखपुर ४०० केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन बनाउने कम्पनीमा स्वामित्व स्थापित गर्ने अनुमति पाएको छ । यो प्रसारण लाइन आयोजनाअन्तर्गत भारततर्फको खण्ड निर्माण गर्न भारतमा स्थापना हुने बुटवल–गोरखपुर क्रसबोर्डर ट्रान्समिसन कम्पनीमा लगानी गर्न भारत सरकारले प्राधिकरणलाई स्वीकृति दिएको हो । 

नेपाल र भारतबीच विद्युत् व्यापार क्षमता वृद्धिका लागि बनाउन लागिएको न्यु बुटवल–गोरखपुर ४०० केभी प्रसारण लाइनअन्तर्गत भारततर्फ पर्ने लाइन निर्र्माण गर्न नेपाल विद्युत् प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेसन अफ इन्डिया लि.को ५०÷५० प्रतिशत सेयर स्वामित्व (इक्विटी) रहने गरी संयुक्त कम्पनी स्थापना गर्न लागिएको हो । 

नवलपरासीको सुनवल नगरपालिका–१३ स्थित न्यु बुटवल सबस्टेसनबाट सुरु भई भारतको गोरखपुर सबस्टेसनसम्म पुग्ने ४०० केभी डबल सर्किट प्रसारण लाइनको लम्बाइ करिब १२० किलोमिटर छ । त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारतमा पर्छ । यो स्वीकृति पाएसँगै अब नेपाल विद्युत् प्राधिकरणले सो संयुक्त कम्पनीको ५० प्रतिशत इक्विटीले हुन आउने ४६ करोड भारतीय रुपियाँ (७३ करोड ६० लाख रुपियाँ) लगानी गर्न‘पर्छ । सो कम्पनीमा भारतको पावर ग्रिडले पनि त्यति नै रकम लगानी गर्नेछ । करिब चार अर्ब ६२ करोड भारतीय रुपियाँ (सात अर्ब ३९ करोड रुपियाँ) अनुमति लागत रहेको यो आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत स्वपुँजी लगानी गर्ने तय भएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणले वैदेशिक लगानीको स्वीकृति पाएसँगै आयोजना निर्माणका लागि प्राधिकरण र पावर ग्रिडको लगानीमा भारतमा संयुक्त कम्पनी संस्थापनाको बाटो खुलेको बताउनुभयो । “कम्पनी स्थापनाका लागि प्रबन्धपत्र र नियमावली तयारी अवस्थामा छन् । अब कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढ्छ,” उहाँले भन्नुभयो । २०७६ असोज २७–२८ मा सम्पन्न नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवको संयन्त्रको सातौँ बैठकले प्रसारण लाइन निर्माणको लगानी स्वरूपलाई टुङ्गो लगाएको थियो । 

कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “प्रसारण लाइन निर्माणका लागि ठेकेदार छनोटका लागि टेन्डर डकुमेन्ट बनाउने काम भइरहेको छ । तीन वर्षभित्रमा निर्माण सक्ने लक्ष्यका साथ निर्माण प्रक्रिया अगाडि बढाएका छौँ ।” प्राधिकरण र पावर ग्रिडबीच भदौ २०७८ मा कम्पनी स्थापनाका लागि संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको थियो ।

  नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ साउन १९ गतेको बैठकले बुटवल–गोरखपुर अन्तरदेशीय प्रसारण लाइनको भारततर्फको खण्ड निर्माणका लागि स्थापना गरिने कम्पनीमा ५० प्रतिशत सेयर लगानी गर्न प्राधिकरणलाई स्वीकृति दिएको थियो । 

करिब दुई हजार मेगावाट विद्युत् प्रवाह गर्न सक्ने क्षमताको प्रसारण लाइन निर्माण गर्न लागिएको हो । हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय ४०० केभी प्रसारण लाइनभन्दा बुटवल–गोरखपुर प्रसारण लाइनले झन्डै डबल क्षमतामा विद्युत् प्रवाह गर्न सक्नेछ ।