संयुक्त पहलकदमी आवश्यक

dipak khanalदीपक खनाल


दोस्रो संविधानसभाबाट नयाँ संविधान उदाउने पूर्वतयारी भइरहँदासम्म पूरै देशमा अशान्ति र तनाव छ । थुप्रै ठाउँलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गर्नुपरेको छ । १९ दिने दोस्रो जनआन्दोलनका क्रममा २६ जनाले सहादत प्राप्त गरेका थिए । अहिले संविधान जारी हुने क्रममै त्योभन्दा बढी नागरिक मारिइसकेका छन् । काँग्रेस, एमाले, एमाओवादी र मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बीच २०७२ साल जेठ २५ गते १६ बुँदे सहमति भएलगत्तै असन्तुष्ट बनेका केही दलले गरेको विरोधमा गलत तत्व घुसेर मुलुकलाई नै धार्मिक, साम्प्रदायिक भड्काउमा लैजान खोजेको देखिएको छ । विपत्तिका बेला आन्दोलनमा घुसपैठ गरेर मुलुकलाई बर्बादीतिर धकेल्न गलत मनसाय बोकेका देशी÷विदेशी कुतत्वले देशैैभित्रका कठपुतली र लेन्डुप दोर्जेहरूलाई प्रयोग गर्ने गर्छन् । यस्तो तत्व यो हिंसालाई लम्ब्याउँदै लगेर मुलुकलाई पाकिस्तान, अफगानिस्तान, काश्मिरको जस्तो दीर्घकालीन द्वन्द्वमा फसाउन लागिरहेको त छैन भनेर आशङ्का र चिन्ता गर्नुपर्ने बेला आएको छ । किनकि अहिलेको विरोध शान्तिपूर्ण भनिएको छ । यहाँ कुनै युद्ध घोषणा भएको छैन । युद्धमा त निश्चित नियम हुन्छ तर शान्तिपूर्ण भनिएकोे अहिलेको विरोधमा सन्दिग्ध रूपमा आतङ्कवादी शैलीमा लुकीलुकी झुक्याएर प्रहरीलाई गोली हान्ने, भाला रोपेर मार्ने, जलाउने गरिएको छ ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेख्नुभएको नेपाली हामी रहौँला कहाँ नेपालै नरहे.. बोलको गीत अहिले झनै सान्दर्भिक र मार्मिक बनिरहेको छ । साँँच्चै देश दुखिरहेको छ यतिबेला । हाम्रो विपत्ति, आपत्माथि परचक्रीले उत्तिकै खेलिरहेका छन् । यस्तो अवस्थामा घाउ निको पार्न सबैबाट संयुक्त पहलकदमी हुन जरुरी छ । सबैभन्दा पहिला सरकार लचक हुनुपर्छ । हुन त सरकारद्वारा पटकपटक वार्तामा बोलाइँदा र प्रमुख तीन ठूला दलको सहमतिमा दुईदिनसम्म संविधानसभामा संविधान निर्माण प्रक्रिया स्थगन गरिँदा पनि विरोध प्रदर्शनकारीले वार्ता अस्वीकार गरिरहेका छन् तैपनि सरकार उनीहरूभन्दा एक कदम विवेकशील र जिम्मेवार बन्नुपर्दछ । पूरा गर्न सकिनेसम्मका मागका लागि नरम बन्नुपर्छ । झुक्न सकिने ठाउँसम्म झुक्नुपर्छ । नयाँ संविधान जारी भएपछि पनि आन्दोलनकारी र आतङ्ककारीबीचको भेद छुट्याएर आन्दोलनकारीलाई वार्तामा ल्याउने र आतङ्ककारीलाई परास्त गर्ने कार्यमा दत्तचित्त हुनैपर्छ । राष्ट्रलाई अहित नहुने र सामाजिक सद्भाव नभड्किने गरी प्रदेश सङ्ख्या बढाउन वा सीमाङ्कन मिलाउन तयार हुनैपर्छ । कतिपय अहिले नै मिल्न नसकेका र मिलाउनैपर्ने विषयलाई मिलाउन आवश्यक परे जनमत सङ्ग्रहमा जान पनि तयार हुनुपर्छ ।
जस्तो भए पनि मुलुकका लागि सङ्घीयता आवश्यक भइसक्यो, सङ्घीयतामा नगई नहुने अवस्था आइसक्यो । यस्तो अवस्थामा सङ्घीयताका विपक्षमा आवाज उठाउनेहरूले आफ्नो नारा मात्रै लाद्न सङ्घीयताविरुद्ध जनमत तयार गर्न भएन । सङ्घीयता आफैँमा नराम्रो विषय होइन । तल्लो तहको जनतामा अधिकार पु¥याउन नै सङ्घीयता खाँचो परेको हो तर यो आफैँमा रामबाण वा अजम्बरी बुटी भने होइन । यसका पक्षधरले सङ्घीयताबारे यसरी नागरिक शिक्षा दिन नसक्दा र सङ्घीयताबाट छु मन्तरकी वाचा हुन्छ भन्ने एकोहोरो रटान लगाउँदा जनतामा अनावश्यक भ्रम सिर्जना हुनगयो । एकथरी जनताले यो काटमार गराउने व्यवस्था पो रहेछ भनी बुझे भने अर्काथरी जनताले सङ्घीयता भएपछि आफ्नो घरआँगनमै रामराज्य आउने अर्थमा लिए । यसबारे बौद्धिकजगत् र मिडियाले जनतालाई वास्तविकता र यथार्थ बुझाउन आवश्यक छ । हिन्दुराज्यका नाममा पनि मुलुकमा विरोध प्रदर्शन भइराखेका छन् । पहिले नै धर्मलाई छुन हुँदैनथ्यो राजनीतिक दलहरूले, छुनु छोइहाले । यो विषय त्यत्तिकै पार लाग्ने देखिँदैन । त्यसैले आन्दोलनरत पक्षले मुलुकलाई धार्मिक द्वन्द्वमा नजाने गरी आफ्ना प्रदर्शन गर्नुपर्छ । सरकार र राजनीतिक पार्टीहरू आवश्यक परेको अवस्थामा हिन्दुराज्यबारे पनि जनमत सङ्ग्रहमा जान तयार हुनुपर्छ । त्यो अवस्था आएमा अन्य सम्प्रदायका धर्मावलम्बी पनि आफू अपमानित भएको बोध नगरी जनमत सङ्ग्रहमा गई त्यसको परिणाम स्वीकार्न राजी हुनुपर्छ ।
इतिहासको यस्तो संगीन घडीमा अझ महŒवपूर्ण भूमिका पत्रकार र मिडिया जगत्को हो । राष्ट्र दुखेको बेला संसारका कुतत्वले मिडियालाई थर्काएर, प्रलोभनमा पारेर वा नियोजितरूपमा गलत कार्यमा प्रयोग गर्छन् । अहिले पनि कतिपय मिडियालाई ढालको रूपमा प्रयोग गरिएका सूचना बाहिर आएका छन् । भदौ ७ गतेको टीकापुर र त्यसपछि विभिन्न ठाउँमा भइरहेका सामाजिक सद्भाव भड्काउने घटनापछि झन् मिडिया एकदमै संयमित, सतर्क, सन्तुलित, गम्भीर र संवेदनशील हुनुपर्ने भएको छ । पत्रकार आचारसंहिता अक्षरशः पालना गर्नु पत्रकार र मिडियाको प्रारम्भिक कर्तव्य हो । कुनै पक्षलाई होच्याउने, अपमान हुने, विभेद झल्काउने खालका शब्द, शब्दावली, तस्बिर, कार्टुन, लेख÷रचनाको प्रयोग गर्नुहुँदैन । ऐनाको जस्तै स्पष्ट भूमिका हुनुपर्छ मिडियाको ।
देश दुखेका बेला हामी सबै वर्ग, विचार, समूह, क्षेत्र, धर्म, लिङ्ग, राजनीति, पेसा, जाति, तह र तप्काका जनता निकै गम्भीर र बुझ्झकी बन्नुपरेको छ । हामी सबैले यो कुरा बुझ्न जरुरी छ कि वर्तमान समस्या तत्कालै उब्जेको होइन । न त ब्राह्म्ण वा क्षेत्रीबाट नै सिर्जित हो न त पहाडे, तराईवासीबाट । हो, पुरानो सत्ताद्वारा थारू र तराईवासी जनता लामो समयदेखि हेपिँदै, चेपिँदै, दबाइँदै आएकै हुन् । यो समस्या जातीय, क्षेत्रीय, धार्मिक नभएर वर्गीय हो । पुरानो सत्ताका शासकले शताब्दीऔँदेखि जनतामा अधिकार बाँडफाँट नगरी दबाएर राख्दा जरिएर बसेको आक्रोश अहिले आएर पोखिएको हो । पहिले नै जनतालाई अधिकार दिइएको भए यो अवस्था आउने नै थिएन । जनता आन्दोलनमा होइन अहिलेसम्म समृद्धिको पक्षमा लागिसक्ने थिए । त्यसैले यही कुरा बुझी देश दुखिरहेको वर्तमान अवस्थामा सबै पक्ष मिलेर देशको घाउमा नुनचुक छर्कने होइन, मलम लगाउने काम गरौँ किनकि देश रहे न हामी रहन्छौँ, हाम्रो अस्तित्व रहन्छ । देशै नरहे केको हामी केको हाम्रो अस्तित्व ?

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना