• ६ चैत २०८०, मङ्गलबार

मासिक नौ अर्ब घाटामा निगम

blog

लक्ष्मी सापकोटा

काठमाडौँ, जेठ २ गते । दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयले पेट्रोलियम पदार्थको खपत मासिक ८ देखि १० प्रतिशत कम हुने अनुमान गरिएको छ । जेठ १ गतेदेखि हप्तामा दुई दिन शनिबार र आइतबार बिदा हुन थालेको छ । निगमका प्रवक्ता विनितमणि उपाध्यायले दुई दिन सार्वजनिक बिदा हुँदा पेट्रोलियम पदार्थको खपत मासिक रूपमा १० प्रतिशतसम्म कम हुने बताउनुभयो । 

निगमका अनुसार अहिले मासिक ६० देखि ६५ हजार किलोलिटर पेट्रोल र डिजल एक लाख ६० हजार किलोलिटर खपत हुने गरेको छ । सार्वजनिक बिदामा खपत कम हुने अनुभवका आधारमा मासिक चार दिन सार्वजनिक बिदा बढ्दा पेट्रोलियम पदार्थको खपत कम हुने अनुमान गरिएको हो ।

उपाध्यायले भन्नुभयो, “बिदाको दिनमा सवारी साधन कम गुड्छन् भन्ने अनुमानका आधारमा खपत घट्छ तर बिदाको दिन घुम्न बढी निस्किए भने खपत झन् बढ्न सक्छ ।” अन्तर्राष्ट्रिय बजारमा इन्धनको लगातार बढ्दै गएकाले निगम घाटामा गएर तेल खरिद गर्न नसक्ने अवस्थामा पुगेपछि सरकारले पेट्रोलियम पदार्थको खपत घटाउने नीति लिएको छ । यसअघि पेट्रोलियम खपत घटाउन सरकारी कार्यालयको इन्धन सुविधा २० प्रतिशत कटौती गर्न अर्थ मन्त्रालयले निर्देशन दिएको थियो । 

पेट्रोलियम पदार्थको खपत घटाउनकै लागि निगमले सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न सकिने पनि सुझाव दिएको थियो । जोरबिजोर प्रणालीले २५ देखि ३० प्रतिशत खपत कम हुने निगमले अनुमान थियो । 

इन्डियन आयल कर्पारेसन (आईओसी)ले मे १ मा पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाए निगमले मूल्य बढाएको थिएन । मूल्य नबढाउँदा घाटा थेग्न नसक्ने अवस्थामा पुगेको भन्दै मतदानको भोलिपल्ट नै पेट्रोल, डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपियाँले मूल्य बढाएको छ । हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ । 

मूल्य बढाउँदा १५ दिनमा चार अर्ब २५ करोड घाटा रहने अनुमान गरिएको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो । निगमलाई सबैभन्दा धेरै खाना पकाउने ग्यास, पेट्रोल र डिजलमा घाटा छ । हवाई इन्धन र मट्टीतेलमा भने नाफा छ । हवाई इन्धन र मट्टीतेलमा प्रतिलिटर १२ रुपियाँ ६४ पैसा नाफा छ ।

निगमका अनुसार मूल्य बढाउँदा पनि अझै पेट्रोल लिटरमा १४ रुपियाँ ४६ पैसा, डिजल ३१ रुपियाँ ४४ पैसा घाटा रहेको छ । यस्तै सबैभन्दा धेरै प्रतिसिलिन्डर ग्यासमा एक हजार ५० रुपियाँ घाटा छ । पेट्रोलको खरिद मूल्य प्रतिलिटर १८४ रुपियाँ ३६ पैसा र डिजेल १८४ रुपियाँ ४४ पैसा रहेको छ । ग्यासको खरिद मूल्य दुई हजार ६५० रुपियाँ रहेकामा बजार मूल्य एक हजार छ सय छ । ग्यासमा मात्र मासिक एक अर्ब ७४ करोड रुपियाँ घाटा छ ।