• ६ चैत २०८०, मङ्गलबार

म्याग्दीको रघुगंगामा नेपाली कांग्रेस विजयी

blog

म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष भवबहादुर भण्डारी र उपाध्यक्ष प्रेमकुमारी पुन । तस्बिर : गोरखापत्र

ठाकुरप्रसाद आचार्य

म्याग्दी, जेठ २ गते । म्याग्दीको रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली  कांग्रेसका उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेसका भवबहादुर भण्डारीले चार हजार ३८ मत ल्याएर गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा कांग्रेसकै प्रेमकुमारी पुनले तीन हजार ३६४ मत ल्याएर निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

भण्डारी दोस्रो कार्यकालका लागि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्षमा एमालेका प्रेमबहादुर कार्कीले तीन हजार २८९, नेकपा माओवादी केन्द्रकी मिना बिकले ९९५, उपाध्यक्षमा एमालेकी यामकुमारी गर्बुजाले तीन हजार २४५ र माओवादी केन्द्रका रिमबहादुर कटुवालले एक हजार ७८३ मत पाउनुभएको छ ।आठ वटा वडा रहेको रघुगंगाको पाँच वटा वडा काँग्रेस र तीन वटा वडामा एमालेका उम्मेदवार प्यानल सहित विजयी भएका छन् । 

रघुगंगा–१ बेगमा कांग्रेसका बिलबहादुर फगामी, २ भगवतिमा एमालेका अमृत भण्डारी, ३ पिप्लेमा एमालेका खिमबहादुर शाही, ४ दग्नाममा  कांग्रेसका पविन गर्बुजा, ५ झिँमा कांग्रेसका मनबहादुर शेरपुञ्जा, ६ पाखापानीमा कांग्रेसका मनकुमार शेरपुञ्जा, ७ चिमखोलामा एमालेका थकबहादुर पाइजा (रिम) र ८ कुइनेमंगलेमा कांग्रेसका गमान छन्त्याल वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

१३ हजार ९४७ जना मतदाता रहेको रघुगंगा गाउँपालिकामा ६५ प्रतिशत अथवा नौ हजार ११३ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचित हुने ४२ पदका लागि १३५ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका थिए । म्याग्दीको ६ वटा मध्य दुई वटा स्थानीय तह र ३० वटा वडाको मतगणना सकिएको छ ।

मालिका गाउँपालिकाको अध्यक्षमा एमालेका बेगप्रसाद गर्बुजा र उपाध्यक्षमा एमालेकी लक्ष्मीदेवी पुन घर्ति निर्वाचित हुनुभएको छ । मतपरिणाम सार्वजनिक भएका ३० वटा वडा मध्य एमालेले १३,  कांग्रेसले १२ र माओवादीले ४ वटा वडामा जित हाँसिल गरेका छन् । अव १५ वटा वडा र तीनवटा स्थानीय तहको मतपरिणाम आउन बाँकी छ ।