नेपालमा बाढी व्यवस्थापन

narayan gautamनारायण गौतम


अद्वितीय प्राकृतिक बनोट विभिन्न प्रकारका जलवायु, वृक्ष–वनस्पति एवं जीवजन्तुका लागि नेपाल महत्त्वपूर्ण स्थानको रूपमा रही आएको पाइन्छ । यसै कारणले गर्दा नेपाललाई ‘प्राकृतिक खुल्ला प्रयोगशालाको’ रूपमा हेर्ने गरिन्छ । नेपालमा करिब छ हजार नदीनाला रहेका छन् । यसर्थ जलस्रोत नेपालको प्रमुख प्राकृतिक स्रोत हो । देशमा विद्यमान जलस्रोतको समुचित उपयोगबाट साना–ठूला जलविद्युत् आयोजना, सिँचाइ प्रणाली, जलक्रीडा लगायतका क्षेत्रमा यथेष्ट योगदान पुग्ने देखिन्छ । यी सकारात्मक कुरा हँुदाहँुदै पनि बाढी नकारात्मक पक्षको रूपमा हाम्रो सामु देखापर्ने गरेको छ ।
जलवायुको दृष्टिकोणले नेपालमा उष्णदेखि चिसो टुन्ड्रा प्रकारको हावापानी पाइन्छ । नेपालमा मनसुनयाममा विशेषतः जुन १० देखि सेप्टेम्बर २३ सम्म अत्यधिक वर्षा हुने गरेको छ । नेपालमा बाढीका प्रकारलाई विश्लेषण गर्दा अत्यन्त छोटो समयमा पर्ने अत्यधिक वर्षा, कमसल एवं भिराला जमिनका भाग, हिउँ गलनको बढ्दो क्रम, अव्यस्थित बसोबास, जनसङ्ख्या वृद्धि इत्यादि रहेका छन् । विश्व बैङ्कको एक अध्ययनले नेपाललाई बाढीजन्य प्रकोपको दृष्टिकोणबाट ३० औँ जोखिमयुक्त मुलुकको रूपमा राखेको छ । गृह मन्त्रालयको सन २०१० सम्मको एक तथ्याङ्क अनुसार बाढी पहिरो दोस्रो ठूलो प्राकृतिक प्रकोपको रूपमा रहेको छ ।
नेपालको इतिहासमा बाढीजन्य प्रकोपबाट भएको विनाशलाई मध्यनजर गर्दा वि.सं. २०५० को बाढी अत्यन्त विनाशकारी मानिन्छ । मूलतः बागमती नदी तथा यसका केही सहायक नदीमा आएको तत्कालीन बाढीबाट एक हजार ३३६ मानिस हताहत भएका तथा करिब पाँच लाख व्यक्ति प्रभावित भएको पाइन्छ । उक्त समयमा टिस्टुङमा रहेको वर्षामापक यन्त्रले २४ घण्टामा ५४३ मि.मि. वर्षा रेकर्ड गरेको थियो ।
नेपालमा हालका वर्षहरूमा बाढीजन्य प्रकोपमा बढोत्तरी भएको पाइन्छ । गत वर्ष बबई, कर्णाली तथा राप्ती नदीमा आएको बाढीले ४५ भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । यसैगरी सन् २०१३, २०१२ तथा २००८ मा महाकाली, सेती तथा कोशी नदीमा आएको बाढीले सयौँ व्यक्ति हताहत हुनुको साथै लाखौँ रुपियाँको धनमाल एवं जग्गा जमिन क्षति हुन पुग्यो । यी तथ्यलाई हेर्दा नेपालमा बाढीजन्य प्रकोप बढ्दो क्रममा रहेको पाइन्छ । यद्यपि यस वर्षको हालसम्मको तथ्याङ्कलाई आधार मान्दा विगतको तुलनामा बाढीजन्य प्रकोपबाट भएको जन–धनको क्षति कम देखिन्छ । यसो हुनुमा मूलत मनसुनी वर्षामा आएको कमी तथा जन–चेतनामा भएको वृद्धि एवं समुदायमा आधारित पूर्व चेतावनी प्रणालीको सकारात्मक प्रभाव हो ।
बाढी व्यवस्थापन सम्बन्धी क्रियाकलापलाई हेर्दा बाढी हुनु पूर्वको अवस्था भन्दा बाढी भई सकेपछिको अवस्थामा बढी ध्यान केन्द्रित गरेको पाइन्छ । वास्तविक रूपमा बाढी व्यवस्थापन गर्नका लागि बाढी पूर्व, बाढी भइराखेको तथा बाढी पश्चात् गरी तीन खण्डमा विभाजित गरी हाम्रा क्रियाकलाप अगाडि बढाउनु बढी सान्दर्भिक हुन्छ । प्रभावकारी बाढी भविष्यवाणी प्रणाली, नदी वहावको नियमित अनुगमन, नदी किनारका बस्तीको समुचित व्यवस्थापन, बाढीजन्य प्रकोपबाट पर्न सक्ने जोखिमको नक्साङ्कन तथा व्यवस्थापन, सुरक्षित आश्रयस्थलको अग्रिम व्यवस्थापन, बाढी व्यवस्थापन सम्बन्धी पूर्वाभ्यास तथा जन चेतना अभिवृद्धि इत्यादि प्रक्रिया बाढी पूर्वका अवस्थामा अपनाइए बाढीजन्य प्रकोपबाट हुनसक्ने धनजनको क्षति कम गर्न सकिन्छ ।
यी गैह्र संरचनात्मक प्रक्रिया बाहेक संरचनात्मक पद्धति बाढी व्यवस्थापनमा अत्यन्त प्रभावकारी हुन्छ । बाढी नियन्त्रणका लागि बनाइने जलाशय, नदी वहावलाई दुईतर्फ मोड्ने डाइभर्सन, बलियो तटबन्धको निर्माण, नदीको चौडाइ एवं गहिराइ विस्तार इत्यादि प्रक्रिया बाढी व्यवस्थापनमा अपनाइने संरचनात्मक पद्धति अन्तर्गत पर्दछन् । बाढीजन्य प्रकोपल।ई पूर्ण रूपमा रोक्न त सकिन्न तर यसको व्यवस्थापन गरी बाढीबाट हुनसक्ने जन–धनको क्षतिलाई न्यून गर्न सकिन्छ । देशको विद्यमान सीमित स्रोत–साधनलाई ध्यानमा राख्दै गैह्र संरचनात्मक तथा संरचनात्मक दुवै प्रकारका बाढी व्यवस्थापन प्रणाली अगाडि बढाउनु उपयुक्त देखिन्छ । यी प्रक्रिया मूलतः तलदेखि माथिमा आधारित भएमा अझ बढी प्रभावकारी हुनसक्ने देखिन्छ । विगतको तुलनामा हाल बाढी व्यवस्थापनका निकायका क्रियाकलापमा बढोत्तरी भएको देखिन्छ । बाढीजन्य प्रकोप न्यूनीकरणमा सामुदायिक, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय निकाय समन्वयात्मक रूपमा अघि बढी जन–धनको क्षति कम गर्न सकिन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना