राजनीतिक कसीमा बुद्धचित्त

nirmal acharyaनिर्मलकुमार आचार्य


यतिखेर मुलुकमा साँच्चै राजनेताको अभाव खड्किएको छ । छरिएर, बिच्किएर, बिभिन्डिएर र अन्योलिएर भौँतारिएका सबैलाई सँगाल्ने, अँगाल्ने तथा उकाल्ने नेता नभएकैले आज राष्ट्रको दुर्गति बढ्दो छ । यसका निम्ति आफ्ना असक्षमता, अदूरदर्शिता र अन्यमनस्कताको दोष अर्काका थाप्लामा धरेर उन्मुक्ति पाउने अवस्था कसैको छैन ।
संविधान निर्माणको अन्तिम चरणमा दंगदास हुनुपर्ने मुलुक समग्रमा न उत्साहित छ न हर्षित नै । आठ वर्षे कसरतपछि संविधान आउन थाल्दा पनि हर्षोल्लासको वातावरण बन्न नसक्नाका पछाडि दोषी अरू कोही नभई नेतृत्व गण नै रहेको छर्लङ्ग छ । सबै रोगको एक महाऔषधीका रूपमा व्याख्या गरिएको पहिलो संविधानसभालाई आर्यघाट पुग्न बाध्य पारिएको विदितै छ भने दोस्रोपल्टको संविधानसभा पनि सास्तीमा रहेको छ । मधेसवादी, थरुहटवादी, राप्रपा नेपालले मात्रै होइन, पछिल्लो संविधान निर्माण प्रक्रियामा अद्वितीय भूमिका निर्वाह गर्दै आएको मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)ले समेत संविधानसभाबाट मुन्टो बटार्नु निश्चय नै सकारात्मक संकेत होइन । संख्यात्मक हिसाबमा नेपाली काङ्गे्रस, नेकपा (एमाले) तथा एनेकपा माओवादी मात्रको सक्रियताले पनि सजिलै संविधान जारी हुनसक्ने अवस्था छ तर असन्तुष्ट पक्षलाई नसमेटी त्यसरी संविधान जारी गरिनु अनुचित हुने स्वर तिनै पार्टीभित्र पनि गुञ्जिरहेका छन् ।
तत्काल संविधान जारी नगरिए त्यसको सम्भावना झन् टाढिँदै जाने आँकलन एकथरीको छ भने अहिलेकै अवस्थामा संविधान जारी गरिए समाल्नै नसकिने स्थिति सिर्जना हुने दृष्टिकोण अर्काथरीको छ । यी भिन्न अभिमतको रस्साकस्सीमा तीन प्रमुख दल उल्झनमा परेका छन् ।
अल्झो नसुल्झिनाले राजनीतिक स्थिति सप्रँदो छैन । विषम राजनीतिक उहापोहको तावामा स्वार्थको रोटी सेक्ने काम पनि जारी छ । ‘राजनीति’ अनिर्णयको बन्दी बनेको बेलामै देशी, विदेशी तŒवले खेल्ने मौका पाउनेहुन् । संविधानसभालाई बेफ्वाँकको साबित गर्न चाहनेलाई अहिले खुदो पल्टिएको छ । सङ्घीयतालाई विखण्डनको बीउ मान्नेका निम्ति ‘नअँकुराउँदै यो अवस्था छ भने लहलहाएपछि के हालत होला ?’ भन्न सहज भएको छ । वन फाँडी काठ तस्करी गर्नेहरू मस्किएका छन् । नाफाखोर र कालाबजारियालाई अकूत धन कुम्ल्याउने अवसर जुरेको छ ।
अन्योल, अस्थिरता र अराजकताको सर्वाधिक मारमा पर्ने कोही छन् भने ती हुन् जनता । सास्ती भोग्नुपरेको छ आम जनताले । गोलीको शिकार हुनुपरेको छ आम जनताले । भीडमा कोही मरेको सबै देख्छन् तर उसमा कसैको छोरो, कसैको श्रीमान्, कसैको दाजु वा भाइ अथवा बाबु मरेको कमैले देख्छन् । किन मागका लागि भीषण आन्दोलन र आन्दोलनका लागि प्राणको बलि दिन क्रम जारी
छ ? पछिल्लो लोकतान्त्रिक आन्दोलनमा अब कसैले फेरि आन्दोलनमा लाग्नु नपर्ने, ज्यान गुमाउनु नपर्ने नयाँ नेपालको परिकल्पना गरिएको कसैले बिर्सिएका छैनन् । अनि किन ? वाचा गरिएको दश वर्ष नबित्दै आम नेपालीका ज्यान सस्ता हुन थालेका छन् । आखिर कहिलेसम्म आम नेपालीका छोराछोरीको ज्यान गुम्दै जाने हो ? अनुत्तरित प्रश्न बनेको छ ।
मधेस, तराईमा आगो दन्किएको छ, जनसाधारण प्रताडित छन् । आगोको रापले पहाडलाई पनि शान्त हुन दिएको छैन र पहाडको अशान्तिले हिमाल पनि आश्वस्त नरहनु स्वाभाविक हो । हिमाल, पहाड र तराई नेपाल आमाका तीन अविच्छिन्न अङ्ग हुन्, एक अङ्गमा चोट लाग्दा अर्को अङ्ग नफड्फडाउने कुरै हुँदैन । ‘हिमाल, पहाड, तराई–कोही छैन पराई’ उक्त भावनाकै प्रतिध्वनि हो । आम नेपालीको सद्भावना पनि यही रहेकामा बिरलै विमति होला । सबैलाई समभावले एकताको सूत्रमा उन्ने नेताको खोजी हामीले गर्नुपरेको छ । त्यस्ता नेता ल्याउन मंगलग्रह पुग्नुपर्दैन, दक्षिण, उत्तरका धाम धाउनु पनि जरुरी छैन । ‘वसुधैव कुटुम्बकम्’लाई मूलमन्त्र मान्ने उदारचरित भएकाहरू आफ्नै धर्तीमा मनग्ये छन्, आवश्यकता अब तिनको प्रकटीकरणको हो । त्यो प्रकटीकरण सतहमा देखिएका नेतामा पनि हुन नसक्ने होइन । कुनै जात, जाति, वर्ग वा क्षेत्रको नेता हुनुसाटो राष्ट्रिय नेता अझ त्यसभन्दा पनि माथि राजनेता हुने योग जुरेकाले विवेकको बाटो अँगाल्ने सुझबुझ देखाइनैपर्छ । अन्यथा समयको प्रवाह रोकिँदैन, निष्पट्ट अँध्यारो मेट्दै आवश्यकताका नेतृत्व स्वतः उदीयमान हुँदै जाने धु्रवसत्य रहेको छ ।
तुरुन्तै वार्ता नथालिए पनि यसबाट विमुख रहने सोच चाहिँ कतै नरहनुलाई सुखद लक्षण मान्नसकिन्छ । छिट्टै संविधान बनाउने सुरमा देखिएका प्रमुख तीन दल पनि असन्तुष्टलाई रिझाएर मात्र अघि बढ्न चाहिरहेका उदाहरण अनेक छन् । तिनले वार्ताका लागि संयुक्त आह्वान त गरेकै छन् । यसबाहेक अन्य विभिन्न तवरबाट पनि संवाद गर्ने, गराउने पहल बढेको छ । भदौ मसान्तभित्र संविधान ल्याइने भनिए पनि असन्तुष्ट सबैलाई समेटेर जाने उद्देश्यले हुनुपर्छ, असोज मसान्तसम्मलाई समय दिन खोजिएको भान हुन्छ, त्यसको उदाहरण प्रधानमन्त्री सुशील कोइरालाको असोज दोस्रो साता संयुक्त राष्ट्र सङ्घीय कार्यक्रममा सहभागी हुन जाने अमेरिकी भ्रमण कार्यक्रमलाई मान्नसकिन्छ । भाषा, बोली, लबजका स्वरूप जे जस्ता भए पनि सारमा असन्तुष्ट सबै पक्षलाई समेट्ने उद्देश्य राखिएको देखिन्छ भने उता असन्तुष्ट पक्षले पनि अब आन्दोलनको लट्टाइ घुमाउन छाडेर समग्र नेपाल र नेपालीको परम हित हुने खालको परिणामदायी वार्ता गर्न ढिलाइ गर्नु हुँदैन ।
समसामयिक राजनीतिमा बुद्धचित्त अपरिहार्य बनेको छ । भनिन्छ, आठौं शताब्दीका बौद्ध गुरु पद्मसम्भव (गुरु रिम्पोछे) ले काभे्रपलाञ्चोकको तिमाल पोखरी नारायणस्थानस्थित तोङसाम कुण्ड याङमेल घ्याङमा तपस्या गरेर आफ्नो थलो फर्कन थाल्दा रोप्न भनी एउटा वनस्पति दिएर गएका थिए रे । त्यही वनस्पति ‘बुद्धचित्त’ दानाले अहिले तिमाल मात्रै होइन, काभ्रेपलाञ्चोकलगायत वरिपरिका जिल्लासमेत लाभान्वित हुन थालेका छन् । एउटै बोटबाट दुईदेखि ३० लाख रुपियाँसम्म कमाइ हुने भएपछि यसप्रति आकर्षण बढ्नु अनौठो होइन । बौद्धधर्मावलम्बीले माला बनाउने यो बुद्धचित्त सातमुखे भए चार लाख रुपियाँसम्ममा बिक्री हुनेभएकाले पनि यसको महìव छर्लङ्ग हुन्छ । विशेषतः बौद्धधर्मावलम्बीले मालाका रूपमा प्रयोग गर्ने बुद्धचित्तको माग यतिखेर चीन, थाइल्यान्ड, भारत, जापान, सिंगापुर, संयुक्त राज्य अमेरिका, भुटान, म्यानमार आदि देशमा निकै रहेको छ ।
राजनीतिक परिपे्रक्ष्यमा बुद्धचित्तको प्रसंग उल्लेख गर्नुको कारण बुद्धचित्त नाम गरेको वनस्पतिले त यस्तरी श्रीसम्पत्ति बर्साई सुख, शान्ति र समृद्धिको लहर फैलाउन सक्छ भने अनुमान गरौं, हाम्रा हरेक नेता बुद्धचित्त भएका खण्डमा नेपाल र नेपालीको प्रगति कस्तो हुन्छ होला !
उहिलेदेखि बुद्धचित्त साथमा भएर पनि तिमालबासीले यसबाट आयआर्जन गर्नथालेको चाहिँ केही वर्ष मात्रै भएको छ । वस्तुको मूल्य थाहा नहुँदा दरिद्रता नमेटिनु स्वाभाविक हो । नेताहरू पनि बुद्धचित्तको महिमाबाट अनभिज्ञ रहेकाले यत्रावर्ष अनाहकमै व्यतीत भएको छ । ‘कि जंगबहादुर बन्छु कि बुद्ध’ एकताका एमाओवादी अध्यक्ष प्रचण्ड कुर्लिएका थिए तर उनी न जंगबहादुर बने न बुद्ध नै । जंगबहादुरको नेपालमा कुनै कमी छैन, भलै उद्देश्य जे होस्, हरकोही आफ्ना लागि जंगीपन देखाउन माहिर छ । राष्ट्रिय खाँचो चाहिँ बुद्धचित्तको छ । सबैमा आफू देख्ने, समानदर्शी बोध भएको बुद्धचित्तले नै नेपालको संकटमोचन गर्नसक्छ । बुद्धचित्त हुनासाथ प्रादेशिक सीमाङ्कनको त के कुरा असाध्य ठानिएका अन्य मुद्दा पनि स्वतः किनारा लाग्दै जानेछन् । ठाउँ, ठाउँमा खुलेका नर्सरीमा धन कमाउन बुद्धचित्तका बिरुवा लिन तँछाडमछाड भएझैं हिमाल, पहाड, मधेस, तराईका हरेक नेताले सबै नेपालीको मन कमाउन एक, एक बुद्धचित्त बनाउनु परेको छ । बुद्धचित्त अर्थात् जानकार मन, समझदार मन, उदात्त मन हो । यही नभएकैले त पहिलो संविधानसभाको गर्भ मात्र तुहिएन सभा नै सफाचट भयो र बुद्धचित्तकै अनुपस्थितिमा दोस्रो संविधानसभा पनि आशंकामुक्त छैन ।
भीषण राजनीतिक भुङ्ग्रोमाझ मोहनदास करमचन्द गान्धी कसरी ‘महात्मा’ गान्धी बने ?, नेल्शन मण्डेला आफ्नो देशमा मात्र होइन, दुनियामै कसरी श्रद्धेय हुनपुगे ? ली क्वान यू मरेर गए पनि किन उनलाई विकासका उन्नायक तथा महान् उत्पे्ररक मानिन्छ ? खोजीपसे भेउ पाइनेछ, यो सबै बुद्धचित्तको कमाल हो । संकुचितता हट्नासाथ बुद्धचित्त पलाउन थाल्छ । आशा गरौं, हाम्रा नेतामा पनि बुद्धचित्त पलाउनेछ, राजनेताको गुण जाग्नेछ र ‘सर्वजन हिताय, सर्वजन सुखाय’ संविधान तयार भई मुलुक र मुलुकबासीको मुहार अभूतपूर्व रूपमा चम्कँदै जानेछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना