• ६ चैत २०८०, मङ्गलबार

मतदातालाई अध्यक्ष ओलीको धन्यवाद

blog

शुक्रबार मतदान गर्नुहुँदै एमाले अध्यक्ष केपी ओली ।

काठमाडौं, वैशाख ३० गते। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाखौँ नयाँ मतदाता र ११३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसहित उत्साहका साथ मतदानमा भाग लिने मतदातालाई धन्यवाद दिनुभएको छ। 

अध्यक्ष ओलीले विज्ञप्ति जारी गरेर मतदान गरेलगत्तै निधन हुनुभएका र मतदानका लागि जाँदै गर्दा सवारी दुर्घटनाबाट ज्यान गुमाएका मतदाताप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ।

उहाँले भयरहित वातावरणमा स्वच्छ निर्वाचनका लागि पार्टी, यसका नेता, कार्यकर्ता, सदस्य र समर्थकबाट लोकतान्त्रिक र अधिकतम सकारात्मक भूमिका निर्वाह भएको जिकिर गर्नुभएको छ। 

अध्यक्ष ओलीले स्वतन्त्र निर्वाचनविरुद्ध भएका घटनाको विरोध गर्नुभएको छ। स्वच्छ निर्वाचन विपरीतका घटना भएका, मतदान केन्द्रको अनाधिकृत कब्जा गरिएका र भय–त्रास सिर्जना गरी मतदाताहरुलाई आतङ्कित पारिएका स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरीसमेत गरिएको उहाँले जानकारी दिनुभएको छ। “त्यस्ता गतिविधिलाई गम्भीरतापूर्वक लिन आयोगको ध्यानाकर्षण गराउँदछु”, उहाँले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ। 

उहाँले अप्ठ्याराका बाबजुद निर्वाचनलाई सम्पन्न गर्न निष्पक्ष भूमिका खेल्ने निर्वाचन आयोगद्वारा परिचालित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ।रासस