चार दल बैठक : सकारात्मक भनिए पनि निर्णय भएन

काठमाडौँ, पुस १४ गते  । संविधान निर्माणका विवादित विषयमा सहमति जुटाउने प्रयासस्वरुप आज मधेसी मोर्चासहित प्रमुख चार दलका शीर्ष नेताबीच छलफल भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा बिहान नेपाली काँग्रेस, नेकपा (एमाले), एमाओवादी र मधेसी मोर्चाका शीर्ष नेताहरुबीच आइतबार कार्यदलले पेस गरेको सुझावमाथि छलफल भएपनि कुनै निर्णय भएन । बैठकपछि सदा झै नेताहरुले सकारात्मक छलफल र कुराकानी भयो भन्ने गरेपनि परिणाम भने शून्य देखिएको छ ।चार दलको बैठकमा विवादित विषयमा सकारात्मक छलफल भए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको एमाले अध्यक्ष केपी शर्मा ओलीले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “आज प्रधानमन्त्री, एमाओवादी अध्यक्ष र फोरम नेता गच्छदारबीचमा कुराकानी भयो । सहमति गर्दा नहुने कुरो छैन । कुराकानी टुङ्गिन्छ, टुङ्गिँदैन त म भन्न सक्दिनँ, लचकता नदेखाएकै पनि भन्न मिल्दैन तर धेरै ठाउँ आफ्नो हैसियतमा यताउति गरिहालेको स्थिति पनि होइन, त्यसो हुनाले अलिक जटिल अवस्था देख्छु ।”

बैठकमा सङ्घीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा दलहरुबीच खुलस्त र लचकताका साथ छलफल गरी सहमति नजिकको अवस्थामा पुगेकाले पर्सि बुधबार पुनः बैठक बसेर टुङ्ग्याउने नेताहरुबीच सहमति भएको बताइएको छ ।

मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले भन्नुभयो – “संविधान निर्माणका चारवटै विवादित विषयमा दलहरुबीच राम्रो र सकारात्मक छलफल भएको छ, पर्सि फेरि बस्ने कुरा भएको छ, तपाईंहरुले यो सहयोग गरिदिनुप¥यो कि हामी जति भन्छौँ त्यति नै लेखिदिनुहोस् ।”

यसअघि बैठकबाट बाहिरिने क्रममा एमालेका वरिष्ठ नेता झलनाथ खनालले चार दलबीच छलफल भए पनि सहमति हुने सम्भावना क्षीण बन्दै गएकाले अब प्रक्रियामा जानुको विकल्प नभएको प्रतिक्रिया दिनुभएको थियो ।

काँग्रेस उपसभापति रामचन्द्र पौडेलले पनि चार दलका शीर्षनेताहरुबीच विवादित विषयमा खुलस्त छलफल भए पनि अहिले नै के हुन्छ भन्न नसकिने धारणा प्रकट गर्नुभयो ।

संविधानको विवादित विषयमा सहमतिको आधार तयार गर्ने जिम्मेवारी पाएको चार दलीय कार्यदलले पेस गरेको मौखिक सुझावका आधारमा आज चार दल निर्णायक वार्ता गर्ने भन्दै बैठकमा बसेका थिए । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना