कालीकोटमा वन्यजन्तुको लोप हुने क्रम बढ्यो

कालीकोट, भदौ २१ गते । कुनै जमानामा कालीकोटका जङ्गलमा जताततै देखिने कस्तुरी मृग पछिल्लो समयमा विरलै देखिन थालेका छन् । जिल्लामा वनको अवस्था व्यापक भए पनि दिनानुदिन कस्तुरी मृगलगायतका वन्यजन्तु भने कमै देखिने गरेका हुन् ।

कालीकोट जिल्लाको माथिल्लो क्षेत्रका दांहा बदालकोटमा पर्ने चुलि पाटन, रास्कोटका त्रिवेणी र देउरा पाटन, ओदानकुको महावु, राम्नाको र थिर्पू गाविसमा पर्ने पुगलगायतका क्षेत्रमा कस्तुरीले वासस्थान छाडेर अन्यत्र बसाइँ सर्न थालेकाले कस्तुरी मृगको सङ्ख्यामा कमी आएको हो ।

एक स्थानीय सिकारीले नाम नबताउने सर्तमा भने— “वनमा पाइने अन्य वन्यजन्तुभन्दा कस्तुरीको खोजीखोजी सिकार हुने भएकाले बहुमूल्य नाभिका कारण चोरी सिकारी हुनाले वनमा कस्तुरी मृग पाउनै छाडेको छ । अहिले वनमा केही नभेटे पछि गुना बाँदरको समेत सिकार हुने क्रम बढेको छ ।”

जिल्लामा व्यापकरुपमा हुने चोरी सिकारी तथा बढ्दो तापक्रम वृद्धिका कारण यस्तो समस्या आएको हुनसक्ने स्थानीयले बताएका छन् । स्थानीयका अनुसार लोपोन्मुखरुपमा पाइने कस्तुरी मृगलाई आहारको अभाव हुनुका साथै चिसो र एकान्त वातावरण मन पराउने भएकाले कस्तुरी मृगले वासस्थान छाडेर अन्यत्र जान थालेको बताइएको छ ।

नेपालमा मात्र होइन विश्वमै दुर्लभ पाइने कस्तुरी मृग कालीकोटका वन जङ्गलबाट छिमेकी जिल्ला जाजरकोट, डोल्पालगायतका जङ्गलमा बसाइँ सरेको हुनसक्ने स्थानीयको ठम्याइ रहेको छ ।

कालीकोटका वन जङ्गलमा कस्तुरी मृग मात्र होइन घोरल, झारल, बाघ, थार, सुँगुर, जरायो, भालुलगायतका वन्यजन्तुसमेत देखिन छाडेको बदालकोट—५ सिकुका नयाँ खड्काले बताउनुभयो । उहाँले भन्नुभयो “बीस वर्षअघि आफूले बाख्रा चराउन वनमा जाँदा बाख्रासँग मृग चर्ने गरेको भए पनि हाल विरलै देखिने गरेको छ ।”

कस्तुरी मृग पनि हिमचुली आसपासका पाटनमा भन्दा तल्लो क्षेत्रमा पर्ने सालिमपाटा, पोग्रामा भेटाएको भए पनि अहिले नाम मात्र सुनिने तर कस्तुरी नदखिएको उहाँको भनाइ रहेको छ ।

जिल्ला वन कार्यालय कालीकोटका निमित्त कार्यालय प्रमुख चक्रपाणि शर्माले वन्यजन्तु संरक्षणका लागि जिल्ला वन कार्यालय कालीकोटले पहल नचालेको तर समुदायस्तरमा समूहमार्फत संरक्षण गरिएको बताउँदै वन्यजन्तुको चोरी सिकारीका लागि कानुनी प्रक्रियाबाहेक अन्य केही नभएको बताउनु भएको छ ।

वन्यजन्तु संरक्षणका लागि समुदाय नै जागरुक हुनुपर्ने जिल्ला वन कार्यालय कालीकोटले जनाएको छ । अनुकूल वातावरणको अभावमा उचित वासस्थान र आहारको अभाव भएपछि वन्यजन्तुको प्रजनन प्रक्रियामा समेत समस्या देखिने भएकाले पहाडी क्षेत्रका वन्यजन्तुको अस्तित्व सङ्कटमा परेको वन्यजन्तुविद्को भनाइ रहेको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना