• ६ चैत २०८०, मङ्गलबार

डडेलधुरालाई प्रदेश राजधानी बनाउन सकिन्छ : प्रधानमन्त्री देउवा

blog

मंगलबार जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा कांग्रेसले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्रिी शेरबहादुर देउवा। तस्बिरः पुष्कर भण्डारी।

पुष्कर भण्डारी
डडेलधुरा, वैशाख २७ गते। प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिम प्रदेशको राजधानी डडेलधुरा सार्न सकिने बताउनुभएको छ। कांग्रेसको चुनावी सभालाई मंगलबार जिल्ला सदरमुकाम बागबजारको बसपार्कमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले कैलालीमा तोकिएको प्रदेशकाे अस्थाई राजधानी डडेलधुरा सार्न सकिने बताउनुभएको हो। 

प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘कोहीकोहीले केही गरेन, प्रदेश राजधानीसमेत डडेलधुरा बनाइएन भनेर कुरा गरिरहेको मैले सुनेँ। त्यो समयमा यहाँ एउटा ठूलो सभाहलसमेत थिएन। डोटीमा पनि थिएन। अनि कसरी यहाँ राजधानी तोक्नु। कैलालीमा अस्थाई राजधानी तोकिएको हो। अबको बजेटमा योजनालाई प्राथमिकता दिएर यहाँको विकास गर्नुपर्छ। विकास भएपछि राजधानी सार्न सकिन्छ।’’ 

प्रधानमन्त्री देउवाले आफूले गर्छु भनेका कुरा नबिर्सेको प्रष्ट पार्नुभएको छ। ‘‘तपाई नआत्तिनुहोस्। उग्रतारा-मेलौली र पोखरा-बेलापुर हुँदै ढुङ्गागसम्म जाने सडक बनाउछु भनेको थिएँ। अहिले कालोपत्रे हुँदैछ’’, देउवाले भन्नुभयो।

 चीनले हाइड्रो पवार बनाए भारतले बिजुली खरिद नगर्ने उहाँले बताउनुभयो। यस कारण पश्चिमसेती परियोजना बनाउन भारतका दुई वटा कम्पनीसँग कुराकानी भएको र भारतीय प्रधानमन्त्री नेपाल आउदा सम्झौता हुने उहाँको भनाइ छ। 

कांग्रेसलाई स्थानीय तहमा जिताए आफूलाई काम गर्न सहज हुने उल्लेख गर्दै उहाँले बागबजार क्षेत्रको सडक चौडा पार्ने, बसपार्क निर्माण गर्ने, मेडिकल कलेज स्थापना गर्ने, प्राविधिक कलेज सञ्चालन गर्ने, एयरपोर्ट निर्माण लगायतका सबै काम चाँडै गर्ने बताउनुभयो।