श्रीकृष्णाष्टमी पर्वको सन्देश

रत्नबहादुर बस्नेत


हे कृष्ण सुन्न पाए मुरली रन्को
दुःख पीर हट््थ्यो कि यो मनको

 

यो पङ्क्ति एक लोकप्रिय भजनको अंश हो । यहाँ संसारका समस्त दुःख–वेदना, पीरचिन्ता हटाउने जादू (सामथ्र्य) भएका भगवान् श्रीकृष्णको मुरलीधुन सुन्ने तीव्र इच्छा व्यक्त गरिएको छ । हो, उनै सबैलाई आकर्षित गर्ने, मोहित पार्ने, मुक्तिदाता भगवान् श्रीकृष्णको जन्मोत्सवको रूपमा मनाइने हिन्दुको पावन तथा महान् पर्व हो– श्रीकृष्ण जन्माष्टमी । यो दिन योगेश्वर भगवान् श्रीकृष्णप्रति अगाध आस्था र श्रद्धा अर्पण गर्न पर्वोत्सव हो ।
हरेक वर्ष भाद्रकृष्ण अष्टमीका दिन पर्ने श्रीकृष्णाष्टमी पर्व भगवान् श्रीकृष्णको विशेष पूजा–आराधना गरी मनाइन्छ । यस दिन पाटनको मङ्गलबजारस्थित कृष्णमन्दिर र अन्य कृष्णमन्दिरमा पूजा तथा दर्शनका लागि श्रद्धालु भक्तजनको घुइँचो लाग्छ । घर–घरमा भजन कीर्तन, पूजन, व्रतादिद्वारा रातभर जाग्राम बसेर धुमधामसँग मनाइन्छ । हिन्दु धर्मका आराध्यदेव योगेश्वर श्रीकृष्णलाई भगवान् विष्णुको आठौँ अवतार प्रेमावतार मानिन्छ । उहाँलाई सच्चिदानन्दमय परब्रह्म पूर्ण परमात्मा मानिन्छ । कृष्ण शब्दको अर्थ नै मोहित पार्ने, आकर्षित पार्ने, मुक्तिदाता हुन्छ । त्यसैले कृष्ण तŒव परम तŒव हो । कृष्ण तŒवका ज्ञाता योगीहरूका अनुसार कृष्ण तŒवलाई जानिसकेपछि प्राणीले पुनर्जन्म लिई रहनुपर्दैन, जन्म–मरणबाट मुक्त भई परम् गति प्राप्त गर्दछ ।
पाँच हजार वर्ष अघि द्वापरयुगमा भाद्रकृष्ण अष्टमीमा मथुराको जेलमा बासुदेव र देवकीको पुत्रका रूपमा श्रीकृष्णको जन्म भएको थियो । उहाँको नाम, रूप अनन्त भए पनि कृष्ण, वासुदेव, गोविन्द, गोपाल, नन्दलाल, केशव, माधव, मुकुन्द आदि नाम प्रसिद्ध छन् । जब–जब संसारमा धर्मको ह्रास र अधर्मको वृद्धि हुन्छ तब उहाँ धर्मको संस्थापनार्थ र साधु–सज्जनहरूको रक्षाका लागि यस धरतीमा अवतारित हुने कुरा उहाँले गीतामा “यदा यदा हि धर्मस्य ग्लानिर्भवती भारत, अभ्युत्थानम् धर्मस्य वदात्मानं सृज्याभ्यहम् । परित्राणाय साधुनां विनाशाय च दुष्कृताम धर्म संस्थापनार्थाय सम्भवामि युगेयुगे । । भनी उल्लेख गर्नुभएको छ ।
उहाँलाई जन्मनासाथ कंशको हत्याबाट बचाउन प्रभुको प्रभावले गोकुलको नन्दगोपका घरमा (यशोदा–नन्दका) पु¥याइएको थियो । जहाँ भव्यताका साथ जन्मोत्सव मनाइएको थियो, जुन भागवत कथा वाचनका क्रममा नन्दोत्सवका रूपमा अत्यन्त उत्साही र आनन्दमय ढङ्गले वर्णन गर्ने गरिन्छ । उहाँको रूप अति उज्यालो कान्ति भएको अत्यन्त मनोहर वर्ण थियो । आफ्ना बालसखा ग्वालाहरू भएका बालगोपाल, मुरलीधर श्रीकृष्णले बाल्यकालमा सबैलाई चकित पार्ने अलौकिक लीला गर्नुभयो । बहाँले बाल्यावस्थामै अत्याचारी कंशको वध गर्नुको साथै ग्वालिनीहरूको मखन–दही चोरी खाने बाललीला, यमुनाको पानीलाई विषाक्त बनाई र गोठाला तथा गाई (पशु) लाई दुःख दिने कालिया नागको शिरमा क्रीडा गरी त्यसलाई दमन गर्नु, गोपीनीहरूसँग राशलीला, इन्द्रले घोर वर्षा गर्दा सात दिनसम्म गोवर्धन पर्वत एक हातले उचालेर गोकुलबासी र गाईको रक्षा गर्नुको साथै इन्द्रको घमण्ड चकनाचुर पार्नु जस्ता अनेक विचित्र कार्य (लीला) गर्नुभयो । त्यस्तै अधर्मी र अन्यायी कौरव र सत्यवादी पाण्डवबीच भएको महाभारत सङ्ग्राममा धर्मका पक्षमा उहाँले साथ दिनु भई पाण्डवलाई विजयी गराउनुभयो । श्रीकृष्णले दुर्योधनको चौरासी व्यञ्जन (परिकार) त्यागी विदुरको सादा खाना (साग र भात) ग्रहण गरेर अन्यायले बटुलेको धनभन्दा इमानदार एवं परिश्रमपूर्वक आर्जन गरेको अन्नादि धनबाट निर्मित भोजन नै ग्रहणयोग्य हुन्छ र त्यसबाट सुख–शान्ति प्राप्त गर्न सकिन्छ भन्ने उदाहरण दिनुभयो । अर्थात् कुनै पनि पदार्थबाट प्राप्त हुने मिठास त्यस (पदार्थ) को विशेषतामा नभई जहाँ भावको मधुरता हुन्छ, जहाँ श्रद्धा, प्रेम र पवित्रता हुन्छ, त्यहीँ हुन्छ भन्ने बोध गराउनु भएको छ । अर्जुनलाई सर्वोपरि महिमा भएको गीताज्ञान
(उपदेश) दिनुभयो । युधिष्ठिर र उद्धपलाई लोकहितकारी पाठ सिकाउनुभयो । योगेश्वर श्रीकृष्णले सम्पूर्ण वेद, उपनिषद्हरूको सार मानिने श्रीमद्भगवद्गीतामा ज्ञान, भक्ति र कर्मयोगको शिक्षाद्वारा सत्मार्गतर्फ प्रेरित गर्नु भई शाश्वत सुख–शान्तिको अनुभव गरेर अन्तमा परम् पद (मोक्ष) को प्राप्ति हुने उपदेश दिनुभएको छ ।
वैदिक दर्शनको अमूल्य नीधि श्रीमद्भगवद्गीतालाई योगेश्वर भगवान् श्रीकृष्णको साकार रूप मानिन्छ । पवित्र ग्रन्थ गीतामा निष्काम कर्मयोगद्वारा सदैव कर्मशील बन्न निर्देशन गरिएको छ । निष्काम भावबाट गरिएको कर्म नै सुकर्म बन्दछ । कामना र आशक्तिबाटै कर्म दुषित हुन्छ । कामना र आशक्ति नै बन्धनको कारण हो भनिएको छ । त्यस्तै ज्ञान र भक्तिको पनि आ–आफ्नो स्थानमा उत्तिकै महŒव हुने बताइएको छ । द्रव्यमय यज्ञभन्दा ज्ञानयज्ञ श्रेष्ठ छ । ज्ञानबाट सर्वोपरि कल्याण प्राप्त हुन्छ । समस्त दोष अहंकारादिको ज्ञानाग्निबाट भष्म हुन्छ र पाप र पुण्यको पहिचान हुन्छ, जसबाट परमात्माको स्वरूपको ज्ञान भई मोक्ष प्राप्त हुन्छ ।
गीताको अन्तिम (अठारौँ) अध्यायमा भनिएको छ– जहा“ योगेश्वर श्रीकृष्ण छन्, (श्रीकृष्णको प्रेरणा छ), धनुर्धारी अर्जुन (गीता ज्ञानको पालना) छन्, त्यहाँ लक्ष्मी, वैभव र विजय हुन्छ । त्यही नै शाश्वत जीवन हो । गीता स्वयं भगवान्को मुखमण्डलबाट निस्किएको वाणी भएकोले यसलाई राम्रोसँग (श्रद्धापूर्वक) अध्ययन गरे अन्य अनेकौँ शास्त्रको अध्ययन गरिरहनुपर्दैन भनेर आत्मज्ञानी सन्तहरूले भनेका छन् । कसै–कसैले युद्धतर्फ प्रवृत्त हुन प्रेरित गरिएको गीताज्ञान किन आवश्यक छ ? भन्ने गरेको पनि पाइन्छ । सङ्ग्रामका निमित्त दिइएको उपदेश के सशस्त्र युद्धका लागि हो भन्ने प्रश्न पनि उठ्न सक्छ । यहाँ के बोध हुनु जरुरी छ भने हामी सबैका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्यरूपी– छ शत्रु छन्, यिनैका विरुद्ध युद्ध लडिरहेका छौँ । यिनीमाथि विजय प्राप्त गर्ने ज्ञान–कौशलता प्राप्त गर्नु नै गीतापाठ–अध्ययन (उपदेश) को उद्देश्य हो । जीवनसङ्ग्राममा अज्ञानरूपी शत्रुमाथि जित हासिल गरेर आत्मविजय गर्न आज हरेक व्यक्तिका लागि गीता ज्ञान अपनाउन जरुरी छ नकि जसको प्रयोजन सशस्त्र युद्धका लागि होस् ।
भनिन्छ– वृन्दावनविहारी, लीलाधारी श्रीकृष्ण साक्षात् नारायण भगवान् विष्णुको आठौँ अवतार मानिनु भए तापनि उहाँमा विष्णुमा भन्दा चार कला बढी पाइन्छ, ती हुन्– रूपमाधुर्य, प्रेममाधुर्य, वंशीमाधुर्य र लीलामाधुर्य । उहाँको रूप सौन्दर्यको वर्णन गर्न उपमाका लागि यस सृष्टि रचनाका वस्तुको अभाव छ भने मानव मात्रलाई शिक्षा ज्ञान र प्रेरणा प्राप्त हुने लीला अनन्त छन् । मानिस मात्र नभई पशु–प्राणी, कीट–पटङ्ग, वृक्ष सबैलाई मन्त्रमुग्ध पारेर चैतन्य प्रदान गर्ने वंशी (मुरली) धुनको गुणगान अवर्णनीय छ भने उहाँ (श्रीकृष्ण) की आल्हादिनी शक्ति राधाका साथ गोपिनीहरूसँग वृन्दावनमा राशलीला गरेर सबैलाई आनन्द प्रेमरसका लागि आकृष्ट गर्ने प्रेमावतार (प्रेम स्वरूप) सबैका लागि ग्रहणयोग्य छ । प्रेम यथाः गोपीनां अर्थात् प्रेम गोपिनीहरूको जस्तो होस् भनेर इतिहासमा गोपी प्रेम प्रसिद्ध छ, जुन आफ्नो सुखका लागि नभएर प्रेमीको सुखका लागि आफूलाई समर्पण गरिने प्रेम थियो । गोपिनीहरू आफ्ना प्रियतम श्यामसुन्दर श्रीकृष्णको सुखका लागि आफू जस्तोसुकै दुःख भोग्न पनि तयार बनेको उदाहरण समेत पाइन्छ । भगवान्ले गोपीनीहरूप्रति गर्नुभएको प्रेममा पनि कुनै वासना थिएन, केवल उनीहरूको उद्धारको भावना थियो । निस्वार्थ प्रेम थियो । साँचो प्रेममा केही लिइँदैन, दिइन्छ मात्र । आजभोलि मान्छेको प्रेम वासनाका लागि हुने गरेको र व्यक्ति एक अर्कालाई स्वार्थवश प्रेम गर्ने गरेको पाइन्छ । आजको स्वार्थी र वासनायुक्त संसारलाई प्रेमपाठ सिकाउन (अर्थ बोध गराउन) पनि भगवान्को प्रेम माधुर्य (प्रेमलीला) कला अमृततुल्य औषधि र उपयोगी शिक्षा बनेको छ । प्रेम आशक्ति र वासनायुक्त हुनु–हु“दैन, प्रेमभाव स्वाभाविक हुनुपर्छ । रागात्मकता हैन विराग हुनुपर्छ प्रेममा । हामी सबैको परिवार, पति–पत्नीप्रति स्वाभाविक प्रेम हुनुपर्छ, जुन कर्तव्य पनि हो तर त्यहाँ आसक्ति हुनुहुँदैन । जसबाट ठूलो आध्यात्मिक क्षति हुन्छ । स्वभाविक प्रेममा सद्भावना हुन्छ, विवेक र जागरण हुन्छ, जसबाट लौकिक तथा पारलौकिक कल्याण प्राप्त हुन्छ । आसक्तियुक्त प्रेममा जसले काम क्रोध, लोभ, राग आदि मोह विकार उत्पन्न गराउँछ, जुन वासनायुक्त हुन्छ । प्रेमावतार भगवान्ले प्रेमलीलाको माध्यमबाट यसैतर्फ सचेत गराउनुभएको छ । अतः रागद्वैष, घृणा, ईष्र्या, कलह, वासना आदि दुर्विचारले ग्रस्त आजको मानव समाजमा मुक्तिदाता, प्रेमावतार परमात्माप्रति अनन्य श्रद्धा, भक्ति, प्रेम अर्पण गरी समर्पित बनेर सबैको हित, कल्याण एवं समृद्धिको कामना गरेर सबैप्रति प्रेम, मैत्री र सद्भाव कायम गर्ने प्रेरणा प्राप्त गर्नु नै श्रीकृष्ण अष्टमी पर्व मनाउनुको सार्थकता हुनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना