• ६ चैत २०८०, मङ्गलबार

नेपालले जित्यो सिरिज

blog

जिम्बावेविरुद्ध खेल जितेपछि नेपाली टोली । तस्बिर : गोरखापत्र

काठमाडौँ, वैशाख २६ गते । पाहुना टोली जिम्बावे ‘ए’ विरुद्ध तीन खेलको एकदिवसीय सिरिज नेपालले जितेको छ । कीर्तिपुर स्थित त्रिवि मैदानमा सोमबार भएको तेस्रो तथा सिरिजको अन्तिम खेलमा नेपालले जिम्बावेलाई ६ विकेटले हरायो । नेपालले सिरिज २–१ ले जितेको हो । यसअघि पहिलो खेलमा तीन विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा जिम्बावेलाई नौ विकेटले पराजित गरेको थियो । 

जिम्बावेले दिएको दुई सय १४ रनको लक्ष्य नेपालले ३०.१ ओभरमा चार विकेटको क्षतिमा पूरा गरेको थियो । नेपालको जितमा कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । दिपेन्द्रसिंह ऐरीले पनि अविजित रहँदै ६० रनको अर्धशतकीय इनिङ खेल्नुभयो । आसिफ शेखले २९, विनोद भण्डारीले अविजित २८ र सुनिल धमलाले ६ रन बनाउनुभयो । रोहित पौडेल सुन्य रनमा आट हुनुभएको थियो । बलिङमा जिम्बावेका ब्राण्डन माभुताले तीन विकेट लिनुभयो । अर्को विकेट ब्राड इभान्सले झार्नुभएको थियो । 

पानीका कारण मैदान भिजेकोले ३३ ओभरमा झारिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावेले ३२.१ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १३ रन बनाएको थियो । जिम्बावेका लागि टाडीवानाशे मारुमानीले ५० रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो । कुड्जाई मौन्जेले ३९, रोय कियाले ३६, कप्तान टोनी मुन्योगाले २४, लुक जोग्वीले १९, सेफासले १६ र इनोसेन्ट कियाले १२ रन बनाउनुभयो ।  बलिङमा नेपालका किशोर महतो एक्लैले पाँच विकेट लिनुभयो । सोमपाल कामीले दुई तथा करण केसी र दिपेन्द्र सिंह ऐरीले एक एक विकेट लिनुभयो ।

नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत आगामी जुनमा अमेरिकामा हुने अमेरिका र ओमानसँगको त्रिदेशीय सिरिजको तयारीका लागि जिम्बावेसँग सिरिज खेलेको हो । यसअघि नेपालले जिम्बावेसँग टी–२० सिरिज पनि खेलेको थियो । दुई टोलीबीच भएको टी-२० सिरिज १-१ को बराबरीमा सकिएको थियो । टी-२० सिरिजमा नेपाल र जिम्बावेले एक एक खेल जितेका थिए । एक खेल वर्षाका कारण स्थगित भएको थियो । 

आइसिसी लिग–२ अन्तर्गत सिरिजमा १२ खेल खेलेको नेपाल अहिले तालिकाको छैटौँ स्थानमा छ । नेपालले १२ खेलमा ६ जित र ६ वटै हार खेपेको छ । नेपालसहित ओमान, युएई, स्कटल्याण्ड, नामिबिया, अमेरिका र पपुवा न्युगिनी (पीएनजी) गरी सात टोली सहभागी लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेलेपछि शीर्ष तीनमा रहने टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकप क्रिकेटमा छनोट हुनेछन् ।