• ६ चैत २०८०, मङ्गलबार

जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढौँ: अध्यक्ष प्रचण्ड

blog

काठमाडाैं, वैशाख २६ गते । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचन समृद्ध नेपाल निर्माणका लागि कोशेढुंगा बन्नुपर्ने बताउनुभएकाे छ ।

स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा उहाँले आम मतदातालाई सम्बोधन गर्दै सो धारणा व्यक्त गर्नुभएकाे हाे । उहाँले संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षित जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध ठूलो षड्यन्त्र गरिरहेकाे बताउँदै त्यसला परास्त गरी परिवर्तनका एजेण्डा स्थापित गराउन अपिल गर्नुभएकाे छ ।

अपिलमा भनिएको छ, ‘यतिखेर संघीयता र समावेशी समानुपातिक प्रतिनिधित्वविरोधी तथा उत्पीडित, उपेक्षीत जनता अधिकार सम्पन्न भएको नरुचाउने प्रतिगामी तत्वहरुले संविधान र ऐतिहासिक उपलब्धि विरुद्ध ठूलो षड्यन्त्र गरिरहेका छन् , त्यसैले हामीले निर्वाचनलाई संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि अग्रगमन र प्रतिगमनको लडाईंको रुपमा लिएका छौँ।’

प्रचण्डले निर्वाचनमार्फत् स्थानीय तहलाई अधिकार सम्पन्न तुल्याउँदै स्थानीय विशेषतामा आधारित विकास, शिक्षा , स्वास्थ्य, रोजगारीको सुनिश्चिततामार्फत् सामाजिक न्यायसहितको समृद्धि हासिल गर्न सकिने र त्यसको जिम्मेवारी माओवादी क्रान्तिकारीकै काँधमा आएको पनि उल्लेख गर्नुभएकाे छ ।

अपिलमा अध्यक्ष प्रचण्डले यथास्थितिमै रुमल्लिन रहर र छुट दुबै नभएको बताउँदै भन्नुभएकाे छ, ‘त्यसैले आउनुस्, अग्रगमन र प्रतिगमनको यो लडाईंमा नेकपा (माओवादी केन्द्र)ला मतदान गरी नेपाली जनताका अधुरा सपना पूरा गर्दै समृद्ध नेपालको निर्माणतर्फ अघि बढौँ।’