• ६ चैत २०८०, मङ्गलबार

पहिलो पटक जटिल शल्यक्रिया जिल्ला अस्पतालमै

blog

गर्भवतीको शल्यक्रिया हुँदै

राजन रावत

हुुम्ला, वैशाख २५ गते । जिल्ला अस्पताल हुम्लामा सेभियर प्रिक्लाम्पसिया भएकी एक गर्भवतीको जटिल शल्यक्रिया गरिएको छ । प्रेसर बढेका कारण जुम्ल्याहा शिशु गर्भमै उल्टो बसेपछि स्वास्थ्य अवस्था गम्भीर भएकी २६ वर्षीया सङ्गीता शाहीको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।

कर्णाली प्रतिष्ठानका विशेषज्ञ चिकित्सक क्रिशान्त भण्डारीले उक्त जटिल शल्यक्रिया गर्नुभएको हो । शल्यक्रियापछि उहाँले आमा र शिशु दुवै स्वस्थ रहेको जानकारी दिनुुभयो । उहाँले शाहीको प्रेसर बढेको र गर्भमा रहेका दुई शिशुमध्ये एउटा उल्टो र अर्को सुल्टो अवस्थामा रहेको बताउनुुभयो । उहाँले चिकित्सकहरुले डेढ घण्टा लगाएर शल्यक्रिया गर्नुपरेको बताउनुुभयो ।

शल्यक्रिया सफल भएपछि आमा र शिशुु तिनै जनाको ज्यान सुुरक्षित भएको छ । उक्त शल्यक्रिया गर्ने कार्यमा चिकित्सकहरु रोशन खनाल, कैलाश लामा,  देव गजमेर,  सुनिल सिहं पुजारा, एनेस्थेसियामा फिरदोश महर्जन र नर्स निमा लामा सम्लग्न हुनुुहुुन्थ्यो । गर्भवती शाहीलाई आईसीयुमै राख्नुपर्ने जटिल केस भएको चिकित्सकले जानकारी दिनुभयो ।

यस्तो प्रकृतिको बिरामीको पहिलो पटक जिल्ला अस्पतालमा शल्यक्रिया गरिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गएको विशेषज्ञ चिकित्सकहरुको टोलीले यसअघि पनि हुम्ला अस्पतालमा अन्य किसिमका जटिल शल्यक्रिया गर्दै आएको छ । प्रतिष्ठानले तीन महिनाअघि हुम्ला जिल्ला अस्पतालमा विशेषज्ञ टोली पठाएको थियो ।