• ६ चैत २०८०, मङ्गलबार

बुलेटपछि शरीरमा गाेलीसहित ब्यालेटकाे लागि भाेट माग्दै हिमाल

blog

बागलुङ, वैशाख २५ गते । बागलुङको ताराखोला गाउँपालिका माओवादी युद्धको आधारभूमि हो । बागलुङ जिल्लाको माओवादी आन्दोलनमा सशक्त उपस्थिति जनाएको ताराखोला गाउँपालिकालाई माओवादी केन्द्रले आफ्नो आधार इलाका मान्दै आएको छ । द्वन्द्वकालीन अवस्थामा ताराखोला क्षेत्रमा २१ जनाले ज्यान गुमाए । दुई जना बेपत्ता छन । कुटाई पिटाई र यातना नभोगेको परिवारका सदस्य भेटिन कठिन छ । 

द्वन्द्वकालीन अवस्थामा होस् या शान्ति प्रक्रियापछिको राजनीतिक गतिविधिमा ताराखोलाको माओवादी केन्द्रको शक्ति केन्द्रको रुपमा विकास भएको छ । पहिलो स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रका उम्मेदवार भारी मतले विजयी हुनुभएको थियो । 

ताराखोला गाउँपालिकाको उपस्थिति शान्ति प्रक्रियापछिको ‘ब्यालेट’ आन्दोलन मात्र होइन तत्कालीन  ‘बुलेट’ आन्दोलनमा पनि त्यस क्षेत्रका ऊर्जाशिल युवा परिवर्तनको आन्दोलनमा सहभागी भएका थिए । राज्य व्यवस्था र सामाजिक रुपान्तरणको आन्दोलनमा होमिएका कति व्यक्ति सहिद बने कति घाइते अपाङ्ग भएर जीवन बाँच्न बाध्य छन् । 

माओवादी आन्दोलनमा जीवन समर्पित गर्ने धेरै योद्धामध्ये एउटा नाम हो धनबहादुर विक ‘हिमाल’ । युद्धकालीन अवस्थामा लडाकु मोर्चा हुँदै राजनीतिक मोर्चाको जिम्मेवारी लिनुभएको धनबहादुर विकलाई एकीकृत माओवादी केन्द्रले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ताराखोला गाउँपालिकाको अध्यक्षको उम्मेदवार बनाएको छ ।

निर्वाचनको मिति नजिकिँदै गर्दा विक भेटघाटमा व्यस्त हुनुहुन्छ । शरीरमा गोली बोकेर जनताको घरघरमा पुग्ने मत माग्दै हुनुहुन्छ । वि।स २०६० वैशाख ७ गते म्याग्दीको बेनी आक्रमणको क्रममा विक घाईते हुनुभएको थियो । त्यस बेला बायाँ हातमा लागेको गोली उहाँको शरीरमै छ । तत्कालिन अवस्थामा स्वास्थ्य उपचारको अभावले शरीरमै गोली लिएर बाँच्नु परेको विकको भनाइ छ । 

शान्ति प्रक्रियापछि उपचार गर्दा डाक्टरले अप्रेशन गरेर गोली निकाल्दा शरीरमा थप क्षति हुने बताए पछि गोली बोकेर हिँड्न बाध्य हुनुपरेको हो । गोली निकाल्दा रक्तसञ्चार अवरुद्ध हुन सक्ने डाक्टरले सुझाएको विकले बताउनुभयो । 

‘धेरै चिसो र धेरै गर्मीको बेला खपि नसक्ने दुःख’ विकले भन्नुभयो– ‘परिवर्तन लागि समर्पित हुँदा जीवनभरको लागि दुखाई भोग्न परेको छ ।’ बेनी आक्रमणको विहानपख नेपाली सेनाले हेलिकप्टरबाट प्रहार गरेको गोली लागेको थियो । आक्रमणको मोर्चामा विकले राजनीतिक तथा घाईते उद्धारको जिम्मेवारी पाउनुभएको थियो । घाइते साथीलाई उद्धार गर्दा गोली लागेको विकले बताउनुभयो । हेलीमार्फत प्रहार भएको गोली लागेर विकसँगै रहेका दश जना माओवादी कार्यकर्ताको घटनास्थलमै निधन भएको थियो । 

वि।स २०५५ सालमा म्याग्दी हुँदै बागलुङको पश्चिम क्षेत्रमा जाँदै गर्दा आफैले बोकेको बन्दुक पड्किँदा विकको दायाँ खुट्टामा गोलीको छर्रा लागेको थियो । जसको कारण अहिले पनि सामान्य अवस्थामा हिँड्डुल गर्न कठिन छ । उकालो ओरोलो गर्दा खैचकखैचक गर्नुपर्ने बाध्यता छ । आन्दोलनमा सहभागी हुँदा विकले व्यक्तिगत मात्र होईन पारिवारक क्षति पनि भोग्नु पर्यो । माओवादी आन्दोलनमा सहभागी विकको दाइकी छोरी लक्षिम विक ‘हिक्मता’ले दोहोरो भिड्न्तमा ज्यान गुमाउनुभयो । आन्दोलनमा सहभागी भएकै कारण तत्कालिन राज्य पक्षले विकको घरमा ‘बम प्लास्ट’ घर ध्वस्त बनाउनुका साथै परिवारका सदस्यलाई शारीरिक तथा मानसिक यातना भोग्नुपरेको थियो । 

जनमिलिसिया, राजनीतिक मोर्चा, निर्माण विभाग, दलित मोर्चा हुँदै राजनीतिक नेतृत्व गर्नुभएको विक हाल माओवादी केन्द्र गण्डकी प्रदेश कमिटी सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । ताराखोला गाउँपालिकाको स्रोत साधनको उच्चतम प्रयोग गरी गाउँमै रोजगार सिर्जना गर्ने, कृषि उत्पादनलाई व्यवसायिक बनाउने, जलविद्युत, शिक्षा, स्वास्थ्य तथा सडक क्षेत्रको व्यापाक सुधार गर्ने उहाँले योजना सार्वजनिक गर्नुभएको छ । जनप्रतिनिधिले पाउने आर्थिक सुविधा नलिने घोषण गर्नुभएको छ । 

विकको प्रतिस्पर्धामा माओवादी केन्द्रका नेता प्रकाश घर्ती हुनुहुन्छ । घर्तीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । पहिलो निर्वाचनमा घर्ती माओवादी केन्द्रबाट अध्यक्षमा निर्वाचित हुनुहुन्थ्यो । तत्कालीन अवस्थामा विक नै घर्तीको चुनावी ‘कमाण्ड’ सम्हाल्नुभएको थियो । पहिलो शक्ति माओवादी केन्द्र र दोस्रो शक्ति नेपाली काँग्रेस चुनावी एकतामा रहेको हुँदा निर्वाचन सहज आँकलन गरिएको थियो । 

आफ्नै पार्टी नेतृत्व सदस्य बागी उम्मेदवार उठेपछि निर्वाचन चुनौतीपूर्ण हुने आँकलन गरिएको छ । घर्तीले पार्टी विधान विपरित उम्मेदवारी दिएको हुँदा प्रदेश कमिटीले कारर्वाहीको लागि केन्द्रमा सिफारिस गरेको छ । माओवादीको आधिकारिक उम्मेदवारसँग राजनीतिक सुझबुझ, दरिलो जनसंगठन, र विकास र समृद्धिको स्पष्ट योजना भएको हुँदा आधिकारिक उम्मेदवारले निर्वाचन जित्ने माओवादी गाउँ कमिटी अध्यक्ष पदम खत्रीको दावी छ ।