• ६ चैत २०८०, मङ्गलबार

विरासत र प्रतिष्ठा जोगाउने दाउमा दल

blog

गोकर्ण पौडेल

तुलसीपुर, वैशाख २४ गते । स्थानीय तहको निर्वाचनमा दाङका दुई उपमहानगरमा विरासत र प्रतिष्ठा जोगाउन दलहरू तल्लीन देखिन्छन् । अहिले नेकपा एमाले आफ्नो विरासत जोगाउन लागेको छ । गठबन्धनका दलहरूका लागि दुवै उपमहानगरको निर्वाचन प्रतिष्ठा जोगाउन जुटेका छन् । 

२०५४ र २०७४ सालको स्थानीय निकायको निर्वाचनका क्रममा घोराही र तुलसीपुर दुवै नगरपालिकामा नेकपा एमालेले विजयी हासिल गरेको थियो । यता दुवै उपमहानगरपालिकाको निर्वाचनमा गठबन्धनका ठूला दल नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)का केन्द्रीय नेताहरू निर्वाचनको प्रचारप्रसार र चुनावी सभामा सक्रिय हुनुहुन्छ । नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीपक गिरी आफ्ना उम्मेदवारलाई विजयी गराउन सुरुदेखि चुनावी  सभामा हुनुहुन्छ । 

गठबन्धनका तर्फबाट घोराही उपमहानगरपालिकाको प्रमुखमा नेकपा माओवादी केन्द्रबाट हेमराज शर्मा र उपप्रमुखमा नेपाली काँग्रेसबाट भूपबहादुर डाँगी उम्मेदवार हुनुहुन्छ । डाँगीले २०७४ सालको निर्वाचनमा प्रमुखमा पराजय बेहोर्नुभएको थियो । घोराहीमा भने गठबन्धनको प्रमुख दल एकीकृत समाजवादीले प्रमुख र उपप्रमुखमा छुट्टै उम्मेदवारी दिएको छ । समाजवादीबाट प्रमुखमा रामप्रसाद चौधरी र उपप्रमुखमा शारदा शाहले उम्मेदवारी दिनुभएको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेले १९ वटा वडामध्ये १० वटा वडा, नेपाली काँग्रेसले छवटा वडा र नेकपा माओवादी केन्द्रले तीनवटा वडाको वडाध्यक्षमा विजय हासिल गरेको थियो । २०७४ सालको निर्वाचनमा घोराहीमा एमालेले २२ हजार तीस, काँग्रेसले १७ हजार ४८४ र माओवादी केन्द्रले १२ हजार ८२ मत प्राप्त गरेको थियो । गठबन्धनका काँग्रेस र माओवादीको कुल मत जोड्दा २९ हजार ५६६ हुन्छ, जुन एमालेले विजयी हासिल गर्न प्राप्त गरेको मतभन्दा सात हजार ५३६ बढी हो । 

तुलसीपुरमा भने सत्ता गठबन्धनका पाँचवटै दलको सहमतिमा प्रमुख उप्रमुखमा उम्मेदवारी रहेको छ । प्रमुखमा नेपाली काँग्रेसबाट गेहेन्द्र गिरी र उपप्रमुखमा एकीकृत समाजवादीबाट जोगबहादुर राणाको उम्मेदवारी रहेको छ । गिरीले २०७४ सालको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिकाको प्रमुखमा पराजय बेहोर्नुभएको थियो । तुलसीपुरमा २०७४ सालको निर्वाचनमा नेकपा एमालेले १९ वटा वडामध्ये नौवटा र नेपाली काँग्रेसले १० वटा वडाको नेतृत्वमा विजयी हासिल गरेको थियो । तुलसीपुरमा २०७४ सालमा एमालेले २२ हजार ८५७, काँग्रेसले १८ हजार ९०३ र माओवादी केन्द्रले आठ हजार ६९६ रहेको थियो । गठबन्धनका दल काँग्रेस र माओवादी केन्द्रले प्राप्त गरेको मत सङ्ख्या २७ हजार ५९९ देखिन्छ । दुवैको मत सङ्ख्या जोड्दा एमालेले प्राप्त गरेको मत सङ्ख्याभन्दा चार हजार ७४२ मत बढी हो । 

यता प्रतिपक्ष दल नेकपा एमालेलाई विगतको विरासत जोगाउन निकै चुनौती देखिएको छ । नेकपा एमालेका महासचिवको गृहनगर उपमहानगर तुलसीपुर हो भने निर्वाचन क्षेत्र भएको घोराही उपमहानगर हो । त्यस्तै उपाध्यक्ष युवराज ज्ञवाली तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ वनकट्टी निवासी हुनुहुन्छ । निर्वाचनको सुरुका दिनमा प्रचार अभियान, चुनावी सभामा महासचिव र उपाध्यक्ष दुवैको दौडाहा भए पनि केही दिन यता भने जिल्लामा हुनुहुन्न । नेकपा एमालेले घोराही उपमहानगरपालिकाको प्रमुखमा नरुलाल चौधरीलाई उम्मेदवार बनाएको छ । चौधरीले २०७४ सालको निर्वाचनमा प्रमुखमा  विजयी हुनुभएको थियो । त्यस्तै उपप्रमुखमा हुमा डाँगीलाई उम्मेदवार बनाएको छ । हुमा डाँगी सामाजिक अगुवा तथा  विधवा महिला रातो पहिरन अभियानकी अगुवा हुनुहुन्छ । 

त्यस्तै तुलसीपुर उपमहानगरपालिकामा नेकपा एमालेले जिल्लामा सादगी नेताका रूपमा परिचय स्थापित गरेका टीकाराम खड्कालाई प्रमुखमा उम्मेदवार बनाएको छ । त्यस्तै उपप्रमुखमा स्यानी चौधरीलाई अघि सारेको छ । जिल्लाका दुवै उपमहानगरको नेतृत्वका लागि एमाले विभाजन र ठूला दलहरू एक ठाउँ भएको अवस्थामा एमालेलाई विरासत जोगाउन गाह्रो देखिन्छ ।

महेन्द्र बहुमुखी क्याम्पसका राजनीतिक विषयका प्राध्यापक सुदीप गौतम गठबन्धनमा मत सङ्ख्या बढी भएका कारण निर्वाचनमा विजय हासिल गर्न सहज भए पनि फरक–फरक चिह्न भएका कारण मतदाता शिक्षाको अभावमा मत बदर हुने सम्भावना बढी रहने बताउनुहुन्छ । 

विगतमा एउटै चिह्न भएको अवस्थामा जिल्लामा २० प्रतिशतसम्म मत बदर भएका थिए । स्थानीय तहको निर्वाचनमा दलका साथै व्यक्तिको प्रभाव रहने भएकाले व्यक्तिको व्यक्तित्वको प्रभावसमेत पर्ने उहाँ बताउनुहुन्छ । यता एमालेका लागि विरासत धान्ने र दुवै उपमहानगरमा विगतमा विजयी भएका कारण आफ्ना कामको प्रचार गर्न र कार्यकर्ता परिचालनमा समेत उत्साह देखिने भएकाले निर्वाचन जित्ने आधार हुने उहाँ बताउनुहुन्छ ।