• ६ चैत २०८०, मङ्गलबार

विद्युत् कटौतीले उत्पादनमा कमी

blog

लक्ष्मण पौडेल

भैरहवा, वैशाख २४ गते । रुपन्देहीमा सञ्चालित उद्योगधन्दामा अघोषित विद्युत् कटौतीले उत्पादन ठप्प भएको उद्योगी व्यवसायीले गुनासो गरेका छन् । एक महिनादेखि समस्या झेल्दै आएका रुपन्देहीका उद्योगी केही दिनदेखि चौबीसै घण्टा नै अघोषित लोडसेडिङको मारमा परेका हुन् । ३३ केभीए तथा ११ केभीए औद्योगिक कोरिडोरका उद्योगमा केही दिनदेखि चौबीसै घण्टा अघोषित विद्युत् कटौती भइरहेको सिद्धार्थ उद्योग वाणिज्य महासङ्घ रुपन्देहीका अध्यक्ष भीष्मप्रसाद न्यौपानेले बताउनुभयो । 

राष्ट्रिय अर्थतन्त्रमा महŒवपूर्ण योगदान दिने उद्योगलाई गुणस्तरीय तथा निरन्तर विद्युत् आपूर्तिको तालिका मिलाई उद्योग सञ्चालनको वातावरण सिर्जना गर्न उहाँले माग गर्नुभयो ।

उद्योगमा २४ घण्टा नै विद्युत् कटौती भएकाले उद्योग सञ्चालन ठप्प रहेको भन्दै नेपाल विद्युत् प्राधिकरण प्रणाली सञ्चालन विभाग, विद्युत् कार्यालय बुटवल ग्रिड शाखा र वितरण केन्द्र भैरहवा, बुटवल तथा नयाँमिललाई समेत सिद्धार्थ उद्योग वाणिज्य सङ्घले ध्यानाकर्षण गराएको छ । 

यी उद्योगमा विगत एक महिनादेखि दैनिक १२ घण्टा विद्युत् आए पनि अहिले त्यो पनि नआएकोले अघोषित रूपमा लोडसेडिङ नै छ, जसले उद्योग सञ्चालनमा समस्या आएको नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका उपाध्यक्ष दीपककुमार पौडेलले बताउनुभयो । 

उहाँले उद्योग सञ्चालन हुन नसक्दा आपूर्तिमा असहज हुने चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “उद्योग सञ्चालन हुन नसके मूल्य वृद्धि हुन सक्छ । सामान आयात गर्नुपर्ने अवस्था आउँछ, जसले गर्दा व्यापार घाटा पनि बढ्छ ।”

सिद्धार्थ उद्योग वाणिज्य सङ्घका एसोसिएट सदस्य विकास गोयन्काले लोडसेडिङ गर्नुपर्ने भए तालिका बनाएर उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना हुनुपर्ने बताउनुभयो ।  रुपन्देहीको लुम्बिनी कोरिडोरमा मात्रै दुई दर्जनभन्दा बढी र भैरहवा–बुटवल क्षेत्रमा एक दर्जनभन्दा बढी उद्योग अहिले बन्दसरहको अवस्थामा पुगेको उद्योगी बताउँछन् । 

नेपाल विद्युत् प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख अवधेशकुमार दुबेले विद्युत् आपूर्तिमा समस्या भएका कारण उद्योगतर्फ समस्या आएको बताउनुभयो । “आएको विद्युत् हामीले वितरण गर्ने हो, उद्योगको मागअनुसारको आपूर्ति नभएकाले विद्युत् अनियमित हुने गरेको हो, यो अघोषित होइन,” उहाँले भन्नुभयो ।