थारू आन्दोलन तुहाउने षड्यन्त्र

कैलाली जिल्लाको क्षेत्र नं. ३ बहुनीया गा.वि.स.–७ मा बाबु स्वर्गीय लालचाप्रसाद चौधरी र आमा राजकुमारी चौधरीका सुपुत्र बुद्धिसागर चौधरी सानै उमेरबाट राजनीतिमा चासो राख्नुहुन्थ्यो । वि.सं. २०३५ को विद्यार्थी आन्दोलनबाट नेपाल विद्यार्थी सङ्घमा राजनीति सुरु गर्नुभएका चौधरी नेपालका प्रजातान्त्रिक आन्दोलनहरूमा सक्रिय रहने क्रममा उहाँ दुईपटक जेल पनि पर्नुभयो । नेपाली काँग्रेसको ११ औं महाधिवशेनबाट महाधिवेशन प्रतिनिधि रहनुभएका नेता चौधरी पार्टीको जिल्ला कार्य समितिमा सहसचिव पदमा रहेर कार्य गरिसक्नु भएको छ । २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा समानुपातिकतर्फबाट संविधानसभा सदस्यमा चयन हुनुभएका नेता चौधरीसँग समसामयिक विषयमा गरिएको कुराकानी : buddhi sagar chaudhary


 कैलाली अहिले आन्दोलनमा छ, यो अवस्था किन आयो ?
आन्दोलनको अवस्था आउनुको मुख्य कारण भनेको त्यहाँका थारू समुदायले वि.सं. २०६८ अगाडिदेखि नै पहिचानको आधारमा प्रदेशकोे निर्माण गर्नुपर्ने र ‘क्लस्टर’ मिलाएर जानुपर्छ भन्ने माग राख्दै आएका थिए । त्यो कुरा ख्याल नगरी यो संविधानसभाबाट ६ र ७ प्रदेशको खाका आएपछि उनीहरू असन्तुष्ट बनेका हुन् ।

शान्तिप्रिय थारूहरूको आन्दोलन एकाएक किन हिंसात्मक ?
हिंसात्मक हुुनुका धेरै कारण छन् । अखण्ड सुदूरपश्चिमको आन्दोलन एउटा कारण हो । साउन ३२ गते कैलाली जिल्लाको सदरमुकाम धनगढीमा लाखौं थारू समुदायका मानिसले जुलुस निकालेर आमसभा गरेका थिए । त्यहाँ प्रशासन र प्रहरीको आडमा अखण्ड सुदूरपश्चिमका केही आन्दोलनकारीबाट थारूहरूको कार्यक्रममा अवरोध सिर्जना गर्ने प्रयास भयो । त्यसबाट थारूहरूमा भित्रभित्रै आक्रोश बढ्यो । त्यही क्रममा ६ प्रदेशबाट ७ प्रदेशको खाका आयो । यसमा थारू समुदायको माग सम्बोधन भएन । त्यसपछि थारूहरूले बन्दको आह्वान गरे । आन्दोलन शान्तिपूर्ण नै थियो । अखण्ड प्रदेशको माग गर्दै आएकाहरूले आफ्नो माग सम्बोधन भएको भन्दै सद्भावना मोटरसाइकल ¥याली निकाले । उनीहरूले त्यो ¥याली टिकापुरसम्म ल्याए र थारूहरूले गरेको बन्दको अवज्ञा गरे । त्यहाँ झडप पनि भयो, केही घाइते भए, त्यसपछि केही थारूको घरमा तोडफोड पनि भयो । भदौ ७ गते थारू आन्दोलनकारीको प्रत्येक गाविस र नगरपालिकामा थरुहट÷थारूवान राज्य समिति लेखिएका पम्पलेट टाँस्ने कार्यक्रम थियो, टाँस्दै आउने क्रममा निषेधित क्षेत्रमा प्रवेश गर्ने क्रममा घम्साघम्सी भयो र त्यो अकल्पनीय दुखद् घटना भयो । त्यसबाट म अत्यन्तै दुःखी पनि भएको छु ।

 शान्तिपूर्ण आन्दोलन गर्ने प्रशासनसँग सहमति गरेको भोलिपल्टै यस्तो हिंसात्मक घटना किन भयो ?
मैले अघि पनि भनें पम्पलेट टाँस्ने कार्यक्रम थियो, आन्दोलनकारीले निधेषित क्षेत्रमा प्रवेश गरेर पम्लेट टाँसेर फर्केर आउने भने तर प्रशासनले रोक्ने प्रयास ग¥यो । आन्दोलनकारीले शान्तिपूर्णरूपमा जान्छौं भनेका थिए तर रोकावट भएपछि घम्साघम्सी सुरु भयो र त्यो हुनै नपर्ने हिंसात्मक घटना भयो । कुन कारणले त्यो जघन्य हत्या भयो, त्यो त म काठमाडौंमा रहेकाले भन्न सक्दिनँ । प्रहरीका अञ्चल प्रहरी प्रमुख जस्तो व्यक्तिको हत्या भयो, अरूको पनि ज्यान गयो । लक्ष्मण न्यौपानेजस्तो भद्रभलाद्मीको जघन्य हत्या भयो, उहाँ एकदमै सरल स्वभावको मान्छे । त्यही सरलपनले मलाई केही हुँदैन भनेर नै लक्ष्मणजीले शक्ति पनि प्रयोग गर्नुभएन । मलाई केही हुँदैन भन्ने सोचेर नै उहाँ त्यहाँ जानुभएको हुनुपर्छ तर त्यो दुखद् घटना भयो । हामी जान्ने बुझ्ने थारूहरू त्यो घटनाबाट एकदम दुःखी छौं ।

 मान्छेलाई जिउँदै जलाउनेजस्तो क्रूर कार्य थारू समुदायबाट भयो भनेर विश्वासै गर्न सकिँदैन तर भयो कसबाट ?
त्यो रहस्यको विषय छ । त्यहाँ अहिले पनि कफ्र्यू जारी छ, जनजीवन कष्टकर बनेको छ । घटना कसले गरायो भन्ने स्वतन्त्र हिसाबले पुष्टि भएको छैन र ठोसरूपमा यस्तै हो भन्न सक्ने अवस्था छैन ।

यस्ता हिंसाले आन्दोलनकारीका माग पूरागर्न सहयोग पुग्छ र ?
विल्कुल सहयोग पुग्दैन । म काँग्रेसको कार्यकर्ता भएकाले शान्तिपूर्ण आन्दोलनको मर्म र भावनालाई बुझ्दछु । कुन तत्वले त्यो हिंसा गराएको हो, त्यो त अहिले भन्न सक्ने अवस्था छैन । यो घटना थारूहरूको आन्दोलन तुहाउने षड्यन्त्रअन्तर्गत नै भएको पनि हुन सक्छ । प्रदर्शनको अवस्थामा त्यहाँ पत्रकार र मानवअधिकारवादीहरू पनि पुगेका थिएनन् । अहिले स्वतन्त्ररूपमा घटनाको पुष्टि पनि भएको छैन । फेसबुकमा आएका तस्बिर हेर्दा नक्कलीजस्तो लाग्छ । घटनामा कैलालीका मान्छे नभएको जस्तो देखिन्छ । यसकारणले घटना एकदम रहस्यमय नै छ ।

सदियौं पुरानो थारू र अन्य समुदायबीचको सद्भावलाई भड्काउन खोज्नेलाई कारबाही गर्नुपर्छ भन्ने लाग्दैन ?

आसपी सद्भाव भड्काउन खोज्नेलाई कारबाही हुनुपर्छ । प्रहरीका आठजनाको ज्यान गयो, कफ्र्यु लाग्यो । जघन्य घटना दोषी नउम्किउन् । नेपाली सेना परिचालन भयो । त्यसपछि पनि त्यहाँ थारू समुदायका १० देखि १५ घर छानी छानी आगजनी गरियो । अखण्ड सुदूरपश्चिम पक्षधर पनि त्यस्तो असभ्य छन् जस्तो मलाई लाग्दैन । प्रहरीको घटना र यो आगजनीको घटना एक अर्कासँग जोडिएका घटना हुन् । आगो लगाउँदा त थारू समुदायमा झन् त्रास र आक्रोश बढ्छ । त्यसैले कुनै न कुनै कारणबाट दुवै पक्षमा घुसपैठ भएको जस्तो लाग्छ ।

निरन्तरको बन्द र कफ्र्युले जनजीवन कष्टकर छ, सहज वातावरणका लागि यहाँले के पहल गर्नुभयो ?
मैले त शेरबहादुर देउवाले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सबै जात जाति मिलेर बस्नुपर्छ भनेर आह्वान गरें । कुनै एक जातिले अर्को जातिको विरोध गर्दैमा अधिकार प्राप्ति हुने होइन । हामीले अधिकार माग्ने राज्यसँग हो, कुनै जाति वा समुदायसँग होइन । हामी सद्भावपूर्णरूपमा मिलेर बस्नुको विकल्प छैन । शान्तिपूर्ण र लोकतान्त्रिक आचरण प्रदर्शन गर्न सक्नुुपर्छ, त्यसैमा सबैको भलाइ छ । म दुवैपक्षका आन्दोलनकारीसँग हार्दिक अपील गर्न चाहन्छु, उत्तेजना, हिंसाबाट एकअर्कोको भलो हुँदैन । दुवैका भावनाको सम्मान गर्न सक्नुपर्छ । दुवै पक्षबाट सद्भाव कायम राख्ने कार्यमा पहल गर्न अनुरोध गर्दछु ।

समस्याको निकास कसरी निस्कन्छ त ?
मैले धेरै ठाउँमा स्पष्ट धारणा राख्दै आएको छु – कैलाली जिल्लाको अवस्था अन्य जिल्लाकोभन्दा फरक छ । त्यहाँ थरुहट र सुदूरपश्चिमको आन्दोलनका माग एक अर्का विरोधीजस्तो देखिन्छ । दुवै आन्दोलनकारीको भावनालाई सम्बोधन गरेर प्रदेश बनाउनुपर्छ । नेताहरूलाई र अन्य औपचारिक फोरममा पनि मैले भनेको छु, सुदूरपश्चिम र मध्यपश्चिमका अञ्चलहरू जुन छन्, पुरानो सुदूर पश्चिमको एउटा प्रदेश बनाऔं, त्यसमा पाँच जिल्ला दाङदेखि कञ्चनपुरसम्मका विशेष क्षेत्र र कर्णालीलाई स्वायत्त प्रदेश बनाऔं भनेको थिएँ । त्यसमा दुवै आन्दोलनलाई सम्बोधन हुन्छ । पहिला ६ प्रदेश आउनुभन्दा अगाडि पनि नेताहरूलाई भनेका थियौं । म काँग्रेस भए पनि एमाले अध्यक्ष के.पी. शर्मा ओलीसँग भेटेर आफ्ना धारणा राखेको थिएँ । काँग्रेस र एमालेका सभासद्हरू मोहनसिंह राठौर, रतनीदेवी चौधरी, कृपा रानालगायतले हस्ताक्षर गरेर हाम्रा धारणा नेताहरूलाई बुझाएका थियौं । राजनीतिक हिसाबले सम्बोधन नगरेसम्म प्रशासनिक हिसाबले मात्रै समस्या सम्बोधन हुँदैन ।


प्रस्तुतिः नारद गौतम

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना