माघ ८ मा संविधान घोषणा गर्ने कार्यमा नेताहरु चुके


टीकाबहादुर बस्नेत,  
दाङ, पुस १२ गते । एकीकृत नेकपा माओवादीका नेता तथा पूर्व पर्यटन मन्त्री लोकेन्द्र विष्ट मगरले संविधानको म्याद अझै ६ महिना थप्नुपर्ने बताउनुभएको छ । रिपोर्टर्स क्लवले दाङको तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता विष्टले माघ ८ मा संविधान घोषणा गर्ने कार्यका ठूला दलका नेताहरु चुकेको बताउनुभएको हो ।
    ‘जनमुखी संविधान ल्याउनका लागि अझै ६ महिना आवश्यक पर्छ’, नेता विष्टले भन्नुभयो । १२ बुँदे सहमतिदेखि अन्तरिम संविधानमा उल्लेख भएका र पटक–पटक भएका सहमतिलाई नेपाली कांग्रेस र एमालेले बाइपास गर्न थालेको भन्दै विष्टले बहुमतको डण्डा लगाएर संविधान ल्याउन खोजे ठूलो द्वन्द्व हुने बताउनुभयो । काम चलाउका नाममा आउने संविधानको खोष्टो मान्ने कि नमान्ने भन्ने चुनौति आफूहरुका सामु रहेको भन्दै विष्टले ४७ सालको पेरिफेरिमा तयार पारिएको संविधान स्विकार नगर्ने बताउनुभयो ।  
    नेता विष्टले दर्जनौं छलफल र बैठकहरु निष्कर्ष विहीन भइसकेको हुँदा माघ ८ मा सविधान जारी हुने अवस्था नरहेको प्रष्ट पार्नुभयो । नेता विष्टले ढिलो गरी आउने ४७ को पेरिफेरिको संविधानलाई आफूहरुले कुनै हालमा नस्विकार्ने बताउनु भयो । १२ बुँदे सम्झौता र समझदारीहरु सत्ता पक्ष नेपाली कांग्रेस र नेकपा एमालेबाट बाईपास गरेर लत्याउन खोजेको भन्दै माघ ८ मा संविधान जारी नहुनु सत्तापक्ष कै खेल भएको समेत बताउनुभयो । उहाँले आफ्नो दल समर्थित मोर्चाले घोषणा गरेको आन्दोलन दवाउन भनि गृहमन्त्रीले दिएको अभिव्यक्तिप्रति कडा आपत्ती जनाउनुभयो  । ‘सत्तापक्षले यसैगरी आन्दोलन दवाउने अभिव्यक्ति दिँदै हिडे मुलुकले ठूलो द्वन्द्व बेहोर्ने अवस्था आउनसक्छ’, उहाँले भन्नुयभयो ।
    रिपोर्टर्स क्लव दाङका अध्यक्ष शरद रेग्मीको अध्यक्षता भएको पत्रकार सम्मेलनमा बोल्दै पूर्व मन्त्री विष्टले माघ ८ मा सविधान नआउने पक्का भइसकेपछि मात्रै मोर्चाले आन्दोलनको घोषणा गरेको बताउनुभयो । उहाँंले जनयुद्ध गरेको पार्टी ५ चिरामा पर्नु दुःखत् भएको भन्दै पार्टी एकीकरणका लागि आन्तरिक छलफल भइरहेको समेत खुलासा गर्नुभयो । विप्लव समूहले पछिल्लो अवस्थामा सत्ता साझेदारीकै लागि पार्टी फुटाएको आरोप समेत लगाउनुभयो । ‘विप्लवको आन्दोलन प्रष्ट छैन बरु क्रान्तिकारी धार वैद्यकै छ’, उहाँले भन्नुभयो  । यी सबै पार्टीलाई एकीकरण गर्न छुट्टै रणनीति तयार भइरहेको समेत बताउनुभयो ।
    त्यस्तै एक अर्को प्रसंंगमा बोल्दै पूर्व पर्यटन मन्त्री समेत रहनुभएका विष्टले राप्तीको
गौरवका रुपमा रहेको तुलसीपुरको टरिगाउँ एयरपोर्टमा हवाई सेवा नियमितताका लागि यहाँका राजनीतिक दल, नागरिक समाज र उद्योगी व्यापारीहरुको इच्छा शक्ति कम भएकै कारण सञ्चालनमा आउन नसकेको बताउनुभएको थियो । उहाँले भन्नुभयो ‘सबैको इच्छाशक्ति भए सेवा सुचारु गर्न सरकार समेत नियमितताका लागि तयार हुने बताउनुभयो । पूर्व पर्यटन मन्त्री विष्टले कालोपत्रे भइसकेको दाङ एयरपोर्ट सञ्चालनका लागि आफू लागिपरेको बताउनुभयो । जसलाई नियमित सञ्चालनमा ल्याउनका लागि यस क्षेत्रका राजनीतिक दल उद्योग वाणिज्य संघ, उद्योगी, व्यापारी, पत्रकार, नागरिक समाज एक भएर निरन्तर खबरदारी र आवाज उठाउनुपर्ने बताउनुभयो । पत्रकार सम्मेलनको सहजीकरण रिपोर्टर्स क्लवका कोषाध्यक्ष बालाराम खड्काले गर्नुभएको थियो ।
                          

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना