• ६ चैत २०८०, मङ्गलबार

पाँचदलीय गठबन्धनको प्रतिबद्धतापत्र सार्वजनिक

blog

नर्वाचनको सन्दर्भमा पाँचदलीय गठबन्धनको चुनावी प्रतिबद्धतापत्र घोषणा कार्यक्रम ।तस्बिर :शान्ता अधिकारी

शान्ता अधिकारी

चितवन, वैशाख २१ गते ।स्थानीय तह निर्वाचनमा चितवन जिल्लामा तालमेल गरेका पाँचदलीय सत्ता गठबन्धनले मङ्गलबार भरतपुरमा निर्वाचनलाई लक्षित गरी साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । लोकतान्त्रिक वाम गठबन्धन, भरतपुर महानगरपालिका समितिले भरतपुुर महानगरको र लोकतान्त्रिक वाम गठबन्धन चितवनले जिल्लाको समग्र प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

भरतपुर महानगरपालिका समितिले सार्वजनिक गरेको प्रतिबद्धतापत्रमा गठबन्धनको आवश्यकता र औचित्य, वितेको पाँच वर्षमा भरतपुर महानगरले गरेका कामको अभिलेखीकरण र आगामी कार्य योजनाबारेमा उल्लेख गरिएको छ । पाँच वर्षका उपलब्धि र आगामी कार्यकालको मूल बाटोबारेमा केन्द्रित प्रतिबद्धतापत्रमा देशको राजनीतिक अवस्था र महानगरले गरेको विकासलाई समेटिएको छ ।

लोकतन्त्रको संस्थागत विकास, संविधानको रक्षा र मुलुकको समृद्धिका लागि आवधिक निर्वाचनको महìवको बारेमा चर्चा गर्दै प्रतिबद्धतापत्रमा निर्वाचनलाई महोत्सवका रूपमा मनाउन महानगरवासीमा अनुरोध गरिएको छ ।

प्रतिबद्धतापत्रमा महानगरले वितेको पाँच वर्षमा सडक विस्तारमा गरेको उन्नति नारायणी तटबन्धनका लागि भएको प्रयास र उपलब्धि, सिटी हल, लायन्स चोकमा बहुउद्देश्यीय व्यावसायिक भवन, आधुनिक दाह स्थल, उज्यालो भरतपुर, अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, प्रस्तावित भरतपुर विमानस्थल विस्तार, कोरिया सरकारको सहकार्यमा फोहोर व्यवस्थापन, पर्यटकीय सम्भावना क्षेत्रको खोजी, नारायणी नदी किनारको सम्भावनाका बारेमा उल्लेख छ ।

कृषिको विशिष्टीकरणसँगै प्रतिबद्धतापत्रमा कृषकसँग हाम्रो प्रतिबद्धताः किसान पेन्सन, बीउदेखि ढुवानीसम्म अनुदान, उद्यमीसँग हाम्रो वाचाः ‘मेड इन भरतपुर’ को ब्रान्डिङ र बजारीकरण, एक वडा, एक उत्पादन, एक उद्यम भन्ने सङ्कल्प गरिएको छ ।

प्रतिबद्धतापत्रमा देश विदेशका भगिनी सम्बन्धको विकास, फोहोर व्यवस्थापन, आयातीत ऊर्जाको खपत कम गर्न विद्युतीय चुल्हो अनुदान, सञ्चारमाध्यम र पत्रकारका लागि विशेष कार्यक्रम ल्याउने उल्लेख छ । साथै महानगरभित्रका ज्येष्ठ पत्रकार र कृषकलाई पेन्सनको समेत व्यवस्था गर्ने उल्लेख छ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहित पाँच दलको उक्त साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा सत्ता गठबन्धनमा रहेका पाँच दलको तर्फबाट चितवनको समग्र घोषणापत्र पनि जारी गरिएको थियो । घोषणापत्रमा स्वास्थ्य, शिक्षा, रोजगारीलाई प्राथमिकतामा राखिएको छ । काँग्रेस चितवनका सभापति राजेश्वर खनाल प्रमुख आतिथ्य तथा उपसभापति शालिग्राम पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । महानगरका प्रमुख पदका उम्मेदवार रेनु दाहालले महानगरका कामको आधार निर्माण भइसकेको अवस्थामा प्रतिबद्धतामा आगामी दिनमा पूरा गर्न प्रतिबद्ध रहेको बताउनुभयो । 

चितवन जिल्लाका सात स्थानीय तहमध्ये भरतपुर महानगरपालिका र माडी नगरपालिका माओवादी केन्द्रको नेतृत्वमा, रत्न नगर, कालिका, खैरहनी नगरपालिका र इच्छाकामना गाउँपालिका काँग्रेसको नेतृत्वमा र राप्ती नगरपालिका एकीकृत समाजवादीको नेतृत्वमा चुनावमा प्रतिस्पर्धा गर्ने गरी तालमेल भएको छ ।