• ७ वैशाख २०८१, शुक्रबार

म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गरौँ : गृहमन्त्री खाण

blog

फाइल तस्बिर

रुपन्देही, वैशाख २० गते। गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई सम्मानजनक व्यवहार गर्न निर्देशन दिनुुभएको छ। उहाँले अस्थायी भर्ना गरिए पनि म्यादी प्रहरीको भूमिका महत्वपूर्ण रहेकाले काममा लगाउँदा शीष्ट व्यवहार गर्न आग्रह गर्नुभयो।

मंगलबार गृह जिल्ला आउनुभएका गृहमन्त्री खाणले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीमा भएको सुरक्षा निकायको बैठकमा सुरक्षा व्यवस्था चुुस्त बनाउनसमेत सुरक्षा निकायलाई निर्देशन दिनुभयो।  गृहमन्त्री खाणले स्थानीय तह निर्वाचनमा मतदाता, मतदानस्थलमा खटिएका कर्मचारीलगायत आम नागरिकको सुरक्षा गर्ने दायित्व सरकारको भएको भन्दै त्यसका लागि सबै तयार रहन निर्देशन दिनुभयो। 

उहाँले चारवटै सुरक्षा निकायको समन्वयमा जिल्लाको सुरक्षालाई व्यवस्थित गरेर लैजान र मतदानस्थल, मतपेटिकाको सुरक्षामा पनि विशेष ध्यान दिन आग्रह गर्नुभयो। उहाँले सुरक्षा निकायबाट सम्भावित जोखिम अध्ययन गरी अति संवेदनशील, संवेदनशील क्षेत्रको सुरक्षालाई विशेष ख्याल गर्न निर्देशन दिनुभएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिनुभयो।  

बैठकमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, लुम्बिनी प्रदेश प्रमुख, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका अधिकृत एवं रुपन्देही, कपिलवस्तु र नवलपरासीका प्रमुख जिल्ला अधिकारीको सहभागिता थियो। 

यस्तै, तीनवटै जिल्लाका सशस्त्र, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखको पनि सहभागिता थियो। बैठकमा प्रमुख जिल्ला अधिकारी र जिल्ला सुरक्षा निकायका प्रमुखले आ–आफ्नो जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी गराएका थिए। उनीहरूले निर्वाचनलाई भय रहित वातावरणमा सम्पन्न गर्न लागिपरेको बताएका थिए।

रुपन्देहीमा २०८ मतदान स्थलकायम गरिएका छन्। तीमध्ये ६३ अतिसंवेदनशील, ६८ संवेदनशील र ७७ लाई सामान्य सूचीमा वर्गीकरण गरिएको छ।  सुरक्षा संवेदनशीलताको आधारमा सुरक्षाकर्मीको व्यवस्थापन गरिने प्रमुख जिल्ला अधिकारी तिवारीले जानकारी दिनुुभयो। रुपन्देहीमा छ लाख ३२ हजार ३६० मतदाता छन्।