• १२ वैशाख २०८१, बुधबार

लुभूमा महालक्ष्मी महाभैरव जात्रा सुरु

blog

जात्रामा सहभागी । तस्बिर सौजन्यः राजन महर्जन

काठमाडौं, वैशाख २०  गते । काठमाडौं उपत्यकाको एउटा ऐतिहासिक बस्ती हो ललितपुरको लुभू। लुभूमा महालक्ष्मी महाभैरव जात्रा सुरु भएको छ। आठ दिनसम्म मनाइने जात्रामा महालक्ष्मी, महाभैरव, आकाशभैरव, गणेश, कुमारी, कुमारलगायतलाई खटमा राखेर बाजागाजासहित नगर परिक्रमा गराउने चलन छ।

यो जात्रा अक्षय तृतीयामा सुरु गरेर दशमीसम्म मनाइन्छ। 


किन हुन्छ जात्रा ?

कुनैदिन लुभूका भैरव मनकामना मातालाई भेट्न ललितपुरको बुङमती जानुभएको थियो। राति त्यहाँ पुगेका भैरव फर्किन लाग्दासम्म बिहान भइसकेछ। उज्यालो भएपछि सबैले देख्ने डर भएपछि भैरवलाई फर्किन लाज लाग्यो। यसरी उहाँ बुंगमतीमै अड्किनुभएको किंदन्ती रहेको लुभूस्थित नेवा संस्कृति संरक्षण समितिका अध्यक्ष रामबहादुर श्रेष्ठले जानकारी दिनुभयो। 

‘भैरव अड्किएपछि लुभूबासी भैरव फर्काउन बुङमती पुगे। तर, रातो मच्छिन्द्रनाथले अब भैरव नफर्किने तर बुङमतिको जात्रासँगै लुभू जात्रा गर्ने वाचा गर्नुभयो। त्यसपछि लुभूबासी फर्केर जात्राको तयारी गर्न थाले’, अध्यक्ष श्रेष्ठले भन्नुभयो। उहाँका अनुसार रातो मच्छिन्द्रनाथ रथ अगाडिको दायाँ पांग्रामा भैरव राखिएको हुन्छ। जो बुङमतीमा अड्किनुभएको थियो। यस्तो रोचक किंबदन्तीबाट सुरु भएको लुभू जात्रा अहिले पनि  प्रचलनमा छ। 


वैशाख शुक्ल अक्षय तृतीयादेखि ८ दिनसम्म महालक्ष्मी र महाभैरवको जात्रा मनाइन्छ। अक्षय तृतीयको दिन लुभूको प्रमुख जात्रा मनाउने दिन हो। जात्रामा बाजागाजासहित महालक्ष्मी र महाभैरवको खट जात्रा गरिन्छ। एउटा खटमा गणेश, महालक्ष्मी र कुमारको मूर्ति हुन्छ भने अर्को खटमा गणेश, महाभैरव र कुमारीको मूर्ति हुन्छ। नेवार समुदायले विभिन्न बाजा धिमे, धाँ र न्यासी बाजा बजाएर खट जात्रा गर्छन्। 

श्रेष्ठका अनुसार जात्राका बारेमा विभिन्न विश्वास छ। देवमाला वंशावलीमा पनि महालक्ष्मी महाभैरव मन्दिरको स्थापनाबारे उल्लेख गरिएको छ। पाटनका ‍राजा हरिहरसिंह देवले आफ्नो सन्तानलाई सुख प्राप्तहोस् भनेर पीठ स्थापनासँगै महालक्ष्मी महाभैरवको स्थापना आठ दिन जात्रा चलाएको भन्ने उल्लेख छ। नेपाल सम्वत् ७०६ र ७०७ देखि जात्रा चलेको बताइन्छ।