जायज माग सम्वोधन गर्न एमालेले पहल गर्ने

लक्की चौधरी

काठमाडौँ, भदौ १० गते । नेकपा (एमाले) ले विभिन्न जिल्लाबाट उठेका जनताको जायज मागलाई सम्बोधन गर्न पार्टीका तर्फबाट अधिकतम प्रयास गर्ने निर्णय गरेको छ ।

संविधानसभा परिसरमा बिहीबार बसेको पार्टी स्थायी कमिटीको बैठकले संविधान निर्माणमा सबै पक्षलाई गम्भीर बन्न आग्रह समेत गरेको छ ।

आन्दोलनका उपलब्धि र युगान्तकारी परिवर्तनलाई संस्थागत गर्न शीघ्र संविधान जारी गर्नुको विकल्प नभएको प्रष्ट गर्दै बैठकले त्यसका लागि पार्टीको सम्पूर्ण प्रयास केन्द्रित गर्ने निर्णय गरेको छ ।

संविधान निर्माणको प्रक्रियामा समाजका विभिन्न पक्षबाट गुनासो, असन्तुष्टि वा माग प्रकट हुनुलाई स्वाभाविक मान्दै एमालेले आफ्नो धारणा सार्वजनिक गरेको हो ।

बैठकले आन्दोलनरत विभिन्न पक्षलाई आफ्ना माग र असन्तुष्टिलाई शान्तिपूर्ण रूपबाट प्रस्तुत गर्न आग्रह गरेको प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो ।

संविधान बन्न नदिने तत्वहरूले अनुचित लाभ उठाउन नपाउन् भन्नेमा सबै नागरिक सचेत हुनुपर्ने भन्दै बैठकले वार्ताको माध्यमबाट समाधान खोज्न सबै आन्दोलनरत पक्षलाई आह्वान गरेको छ ।

देशका विभिन्न भागमा सामाजिक सद्भाव बिथोल्ने गरी भइरहेको घटनाप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै बैठकले सद्भाव कायम गर्नमा पार्टी पङ्तिका सबैमा आव्हान गरेको प्रमुख भट्टराईले जानकारी दिनुभयो ।

बैठकले शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मीले गरिरहेको प्रयासप्रति सराहना व्यक्त गर्दै अझ दृढ भएर कत्र्तव्य पालनाका लागि सुरक्षाकर्मीलाई आग्रह गरेको छ ।

विश्वविद्यालय लगायत मुख्य राजनैतिक नियुक्तिमा सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाली काँग्रेसबाट भइरहेका एकपक्षीय निर्णयहरूप्रति बैठकले दुःख व्यक्त गरेको छ ।

संयुक्त सरकारको आचारसंहिता र सहकार्यको संस्कृति अनुरूप काँग्रेसले काम नगरेको आरोप लगाउँदै एमालेले त्यसका लागि आवश्यक पहल गर्न कार्यदल पनि बनाएको छ ।

पूर्व प्रधानमन्त्री एवं नेता माधवकुमार नेपालको संयोजकत्वमा गठित कार्यदलमा उपाध्यक्ष तथा गृहमन्त्री वामदेव गौतम, महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णुप्रसाद पौडेल तथा सचिव भीम आचार्य सदस्य रहनुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना