• ७ वैशाख २०८१, शुक्रबार

फुटबल प्रशिक्षक र खेलाडीबीचको विवाद तत्काल समाधान गर्न आग्रह

blog

फाइल तस्बिर ।

काठमाडौँ, वैशाख २० गते । नेपाली राष्ट्रिय फुटबल टालीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले दुर्व्यवहार गरेको भन्दै बन्द प्रशिक्षण क्याम्प छाडेका खेलाडीले आफूहरुलाई न्याय दिन नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) लाई मंगलबार ज्ञापनपत्र बुझाएका छन् । 

टोलीका सिनियर खेलाडी रोहित चन्दसहित क्याम्प छाडेका १० खेलाडीले फुटबल खेलाडीसँघ मार्फत एनएनआईपीएका अध्यक्ष दीपक श्रेष्ठलाई ज्ञापन पत्र बुझाएका हुन् । फुटबल खेलाडीले ज्ञापनपत्र बुझाएपछि एनएनआईपीएले मंगलबारनै राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव टंकलाल घिसिङलाई भेटेर फुटबलमा खेलाडी र प्रशिक्षकबीच देखिएको विवाद तत्काल समाधान गर्न पहल गरिदिन आग्रह गरेको थियो । 

सदस्य सचिवसँगको छलफलमा रोहित लगायत क्याम्प छाडेका खेलाडीको पनि उपस्थिति रहेको थियो । खेलाडीसँगको छलफलमा सदस्य चिव घिसिङले एन्फा नेतृत्वलाई छिटो भन्दा छिटो समास्याको हल गर्न आग्रह गर्ने बताउनुभयो । ‘घटनाको छानविन गरी समस्याको हल गर्न म एन्फालाई आग्रह गर्दछु । विवादले फुटबलमा राम्रो गर्दैन,’ छलफलमा घिसिङले भन्नुभयो । क्याम्प छाडेका खेलाडीले सोमबार युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँग भेटेर पनि घटनाको छानविन गरी आफुहरुलाई न्याय दिन आग्रह गरेका थिए । यसअघि खेलाडीहरुले पत्रकार सम्मेलनगरी आफुहरु अन्यायमा परेको समेत बताएका थिए । 

 नेपाली फुटबल टोली अहिले कुवेतमा जुन ८ देखि १४ तारिखसम्म आयोजना हुने एएफसी एसिया कप छनोट तेस्रो चरणको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको थियो । एसिया कप छनोटको तयारीका लागि नेपाली टोलीले जेठ ११ र १५ गते कतारको दोहामा अफगानिस्तानसँग मैत्री पूर्ण फुटबल समेत खेल्न लागेको छ । प्रशिक्षक अल्मुताइरीले सुरुमा २५ जना खेलाडी छनोट गरी बन्द प्रशिक्षण र तयारी सुरु गर्नुभएको थियो । तर १० खेलाडीले विदोह गरेर प्रशिक्षण क्याम्प छाडेपछि प्रशिक्षकले १७ जना खेलाडी थपेर प्रशिक्षणलाई निरन्तरता दिनुभएको छ ।  

एएफसी एसिया कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । तुलनात्मक रुपमा नेपालका लागि यो कठिन समूह पनि हो । यस समूहमा नेपालसँगै कुवेत, जोर्डन र इन्डोनेसिया रहेको छ । समूहको शीर्षटोली र पाँच समूहको उत्कृष्ट उपविजेता टोली सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कपमा छनोट हुनेछन् । छनोट अघि टोलीका सिनियर खेलाडीले बिद्रोह गरेपछि एन्फा ब्यवस्थापन अहिले थप अफ्ठेरोमा परेको छ ।