• १३ वैशाख २०८१, बिहिबार

स्थानीय तह निर्वाचन आचारसंहिता अनुगमन समितिद्वारा सबै पक्षमा आग्रह

blog

स्थानीय तह निर्वाचन आचारसंहिता अनुगमन समितिकाे बैठक, तस्विर –रेखीराम राना

रेखीराम राना

पाल्पा, वैशाख २० गते । निर्वाचनसम्बन्धी आचारसंहिता पूर्ण रुपमा पालना गर्न जिल्लास्थित स्थानीय तह निर्वाचन आचारसंहिता अनुगमन समितिले सबै पक्षलाई आग्रह गरेको छ । जिल्लास्थित मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीको अध्यक्षमा बसेको बैठकले राजनैतिक दल, उम्मेदवार तथा अन्य सरोकारवालालाई निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित बनाउन सबै पक्षले आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिएको छ । 

जिल्लाका विभिन्न स्थानमा निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाबारे समीक्षा गर्दै समितिले आचारसंहिता पालना नगर्नेमाथि कारबाही गर्ने चेतावती दिएको छ । पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले निर्वाचन सम्बन्धी आचारसंहिता पालना गर्न सबै राजनैतिक दल, उम्मेदवार तथा नेता कार्यकर्ता जिम्मेवार हुनुपर्ने बताउनुभयो । उम्मेदवार वा दलका नेताले आचारसंहिता उल्लङ्घन गरे कारबाही हुने उहाँले प्रतिबद्धता जनाउनुभयो । आचारसंहिता पालना गराउन प्रहरी प्रशासनले विनाभेदभाव काम गर्ने प्रजिअ पन्तको भनाइ छ । 

बैठकमा मुख्य निर्वाचन अधिकृत केसीले निर्वाचन स्वच्छ, निष्पक्ष, र भयरहित वातावरणमा सम्पन्न गर्न राजनैतिक दलको मुख्य भूमिका हुने बताउनुभयो । उहाँले आचारसंहिता कुनै एउटा पक्षका लागि मात्र नभएर सबैको हितमा रहेकाले राजनैतिक दलका उम्मेदवारले सहयोग गर्नुपर्ने बताउनुभयो । 

बैठकमा सहभागी नेकपा एमाले पाल्पाका सचिव रामजी पोखरेलले निर्वाचन सम्बन्धी आचारसंहिता एमालेले पूर्ण रुपमा पालना गर्ने प्रतिबद्ध जनाउनुभयो । आयोगले सबैलाई समान रुपमा हेरेर आचारसंहिता कार्यन्वयन गर्नुपर्ने पोखरेलले बताउनुभयो । नेपाली काङ्ग्रेस पाल्पाका प्रवक्ता शोभाखर न्यौपानेले निर्वाचन भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न काँग्रेसले आयोगलाई सघाउने बताउनुभयो । नेकपा माओवादी पाल्पाका प्रतिनिधि मथुरा ढकालले गठबन्धनका दलको तर्फबाट आचारसंहिताको पूर्ण पालना गर्न प्रतिबद्ध रहेको र कहीँकतै उल्लङ्घन भएको भए आफूहरू सच्याउन तयार रहेको बताउनुभयो ।