• ७ वैशाख २०८१, शुक्रबार

अभिनेता केसी र खड्कासहितका कलाकार काँग्रेसमा प्रवेश

blog

काठमाडौं, वैशाख २० गते । अभिनेता भुवन केसी र श्वेता खड्कासहित केही कलाकार नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको छ ।

मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर अभिनेता केसी, अभिनेत्री खड्कासहित कलाकार सङ्घका अध्यक्ष रवीन्द्र खड्का काँग्रेसमा प्रवेश गर्नुभएको हो ।

प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले उहाँहरुलाई काँग्रेसमा प्रवेश गराउनुभएको जानकारी प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले दिनुभयो ।


प्रधानमन्त्री देउवाले उहाँहरुलाई स्वागत गर्दै नेपाली काँग्रेसको साधारण सदस्यता प्रदान गर्नुभयो ।

काँग्रेस प्रवेश गर्नुभएका अभिनेता भुवन केसीले काँग्रेस सरकारले चलचित्र क्षेत्रमा विशेष योगदान दिनसक्छ भनेर प्रवेश गरेको बताउनुभयो ।

अभिनेता केसीले कलाकारहरुले राजनीति गर्न सक्दैनन्, राजनीतिमा आउनु हुँदैन भन्ने मान्यतामा आफू नरहेको बताउनुभयो । साथै उहाँले कलाकारमात्र नभएर हरेक क्षेत्रका व्यक्ति राजनीतिमा लाग्नुपर्ने धारणा राख्नुभयो ।


‘‘कलाकारहरुले चाहेमा देश र जनताको सेवा गर्न सक्छन् । कलाकारहरु शिक्षित, संवेदनशील छन् । कलाकारहरुले झुटाे आश्वासन दिँदैनन्, भूमिका पाएको खण्डमा देश र जनताको सेवा गर्न सक्छन् ।’’ उहाँले भन्नुभयो ।

यसैगरी, नायिका श्वेता खड्काले पुर्खा नै काँग्रेस भएकाले आफूले पनि काँग्रेस प्रवेश गरेको बताउनुभयो ।


‘‘मेरो पुर्खा सबै काँग्रेस हुनुहुन्छ र काँग्रेसका सबै नेता मलाई मन पर्छ ।’’ उहाँले भन्नुभयो, ‘‘काँग्रेसको इतिहास हेर्दा सबैभन्दा विश्वासिलो छ । स्वतन्त्र भएर बोल्न पाउने, स्वतन्त्र भएर काम गर्न पाउने, हाम्रो आवाज सुन्ने र हरेकलाई सम्मान गर्ने पार्टी भएकाले काँग्रेस प्रेवश गरेकी हुँ ।’’

यसैगरी, अभिनेत्री खड्काले आफू खुला राजनीतिको मूलधारमा प्रवेश गरेको जानकारी दिनुभएको छ ।  उहाँले फेसबुक स्टाट्स लेख्दै सो कुराको जानकारी दिनुभएको हो । उहाँले विशेश्वरप्रसाद कोइरालाको बिचारधारामा समाहित गर्दै काँग्रेससँग आफ्नो आबद्धता जनाएको बताउनुभएको छ ।

‘मैले लिएको यो राजनीतिक निर्णयप्रति विभिन्न क्रिया र प्रतिक्रियाहरु अवश्य प्राप्त हुने छन् ।’’ उहाँले भन्नुभयो, ‘‘यसरी प्राप्त हुने सकारात्मक र नकारात्मक दुवै किसिमका प्रतिक्रियालाई सुझावको रुपमा ग्रहण गर्दै राजनीतिक यात्रालाई अगाडि बढाउने प्रण गर्दछु ।’’