• १३ वैशाख २०८१, बिहिबार

टोखा नगरपालिका प्रमुख पदका प्रतिस्पर्धीका आ–आफ्नै एजेण्डा

blog

तस्विरमा पंक्तिवद्ध रूपमा नगरप्रमुखका प्रत्याशीहरू प्रकाश अधिकारी, रजनी थापा, शेखर श्रेष्ठ र कविता कुमारी गौतम

काठमाडौं, वैशाख २० गते । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिँदो छ । यससँगै राजनीतिक दलका उम्मेदवार, नेता र कार्यकर्ता चुनावी प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । सबै राजनीतिक पार्टीका उम्मेदवारहरूले पार्टीका सिध्दान्तसहित आ–आफ्नै प्रतिबद्धताहरू पनि सावर्जनिक गर्नुभएकाे छ ।

नेकपा एमालेका प्रकाश अधिकारी

काठमाडौं टोखा नगरपालिका प्रमुख पदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रकाश अधिकारी हुनुहुन्छ । उहाँ यसअघि पनि टोखा नगर प्रमुखको जिम्मेवारी सम्हालिसक्नुभएको छ । 

विगतको कार्यकालमा कानुन निर्माण र कोभिड–१९ महामारीको सामना गर्नुपर्ने परिस्थिति हुँदाहुँदै पनि धेरै प्रगति हासिल गरेका थियौं । यसका लागि संघीय र प्रदेश सरकारले पनि सहयोग गरेको र यसकै कारण मेलम्ची खानेपानी आयाेजनाको काम टोखामा सफल भएको उहाँ बताउनुहुन्छ । यससँगै विद्युतको लाइन, ढल, डुबान क्षेत्र मुक्त गर्ने काम हदैसम्म अघि बढेको उहाँको भनाइ छ । 

टोखालाई धार्मिक, सांस्कृतिक र पर्यटकीय नगर बनाउने उद्देश्य, एक वडा, एक पार्क, ढुंगा, ईंट्टा, सोलिङ गर्ने काम, मठमन्दिर निर्माणलगायतका काम अघि बढेको उहाँ बताउनुहुन्छ । 

टोखाकै भूभागमा ब्लड बैंक स्थापना गरेर नागरिकले सहज ढंगले स्वास्थ्याेपचार गर्ने वातावरण निर्माण र स्वास्थ्य क्षेत्रमा विका गर्नुपर्ने जोड उहाँको छ । 

विगतमा नागरिकले दिएको माया, ममता सँधै रहने विश्वास व्यक्त गर्दै सोही आधारमा आफ्नो जीतको सुनिश्चितता हुने उहाँले बताउनुभयो । 

टोखा नगरपालिका उपप्रमुखमा एमालेका ज्ञानमाया डंगोलको उम्मेदवारी रहेको छ ।

नेपाली काँग्रेसका रजनी थापा

काठमाडौं टोखा नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका रजनी थापा उम्मेदवार हुनुहुन्छ । युवा उम्मेदवारका रुपमा रहनुभएका थापा भन्नुहुन्छ, – पहिलो कुरा, आजको दिनमा म जतिको युवाले पूर्वाधारको विकास मात्रै विकास मान्दिनँ, यस्तो विकास हुनुप-यो कि, जीवन सहज र सजिलो हुनुप-यो ।

मानिसको मानसिकता र सोचमा परिवर्तन आउनु मुख्य विषय रहेको उहाँको धारणा छ । नागरिकको जनजीवनका आवश्यक घर–घरमा उपलब्ध हुनुपर्ने प्रतिबद्धतासहित उहाँ स्थानीय तहमा उम्मेदवार भएको बताउनुहुन्छ । 

यसका साथै शिक्षा, महिला उद्यमशीलतालगायत सामाजिक सेवा रजनी सचेतना फाउन्डेसमार्फत पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म विगतदेखि कार्य गर्नुभएको अनुभव र नागरिकको विश्वास आफ्नो जित्ने आधार भएको उहाँ बताउनुहुन्छ । 

हिजोका दिनमा म विभिन्न जनताको सुख, दुःखमा थिए, त्यो कर्मको विश्वास रहेको उहाँको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका शेखर श्रेष्ठ

काठमाडौं टोखा नगरपालिका प्रमुख पदमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका शेखर श्रेष्ठको उम्मेदवारी रहेको छ । घरदैलो कार्यक्रम भइरहेको छ, मंगलबार बिहान वडा नं. ८ मा घरदैलो कार्यक्रम थियो, उहाँले भन्नुभयो, विगतको कार्यकालमा विकासका नाममा अनियमितता बढेको देखियो ।

जनताले नयाँपन खोजेको भन्नुहुँदै उहाँले माओवादीले ल्याएको एजेण्डा अनुरुपको अनुभूति नागरिकले गर्न नपाएको र जसको एजेण्डा, त्यसैको नेतृत्व भन्ने अवधारणा अनुरुप नगर प्रमुखमा अघि बढेको बताउनुभयो ।

टोखामा खानेपानी, बाटो, कृषि, बेरोजगार र युवा विदेश पलायन हुने समस्या छ, यसलाई सम्बोधन गर्न उच्च मनोबलका साथ अघि बढेको र  आफ्नो पक्षमा राम्रै मत प्राप्त हुने दाबी उहाँले गर्नुभयो ।

ग्ठबन्धनका तर्फबाट साझा उम्मेदवार तय हुन नसकेकोप्रति उहाँले भन्नुभयो, हामीले स्वस्थ प्रतिस्पर्धा गर्छौं, पाँच दलको गठबन्धनबीच सौहार्द र स्वच्छ प्रतिस्पर्धा भएको र गठबन्धनको मत पनि आफ्नो पक्षमा आउने सम्भावना बढी भएको समेत उहाँले बताउनुभयो । 

नेकपा एकीकृत समाजवादी कविता कुमारी गौतम

काठमाडौं टोखा नगरपालिका प्रमुखमा सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका कविता कुमारी गौतम हुनुहुन्छ । आफ्नो नेतृत्वले विजय हासिल गरेको खण्डमा स्थानीय जनताको समस्या बुझेर त्यसको अध्ययन गरेर अघि बढ्ने उद्देश्य उहाँको छ । 

वर्षौंदेखि सामाजिक सेवामा काम गर्दै आएको छु, सबै दिदीबहिनीको चिनजान र उहाँहरुले मलाई गर्नुभएको मूल्यांकन जित्ने आधार भएको उहाँ बताउनुहुन्छ । 

टोखामा कतिपय ठाउँमा गठबन्धन भएको र कतिपयमा नभएको भन्नुहुँदै उहाँले गठबन्धन हनु वा नहुनुभन्दा पनि राम्रो व्यक्ति र विचारको लडाइँकाेरूपमा निर्वाचनलाई बुझ्नुपर्ने बताउनुहुन्छ । किनभने, सबैको  चाहना, भावना एकै किसिमको हुन्छ भन्ने छैन, मेरो र पार्टीको प्रतिबद्धता अनुरुप अघि बढ्ने उहाँले भन्नुभयो । 

टोखामा खानेपानी, ढल, बाटो लगायतका धेरै समस्या छन् तर, ठूलो कुरा गरेर मात्र हुँदैन,  अप्ठ्याराहरु के–के छन् भन्ने र त्यसलाई निवारण गर्नुपर्ने उहाँ बताउनुहुन्छ । 

टोखा नगरपालिकाको उपप्रमुखमा एकीकृत समाजवादीका जोगप्रसाद नेपालको उम्मेदवारी रहेको छ ।

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।