• ६ चैत २०८०, मङ्गलबार

अर्को पार्टीबाट उठ्ने दुई जनाको सदस्यता खारेज

blog

 निशा राई

धरान, वैशाख २० गते । नेपाली काँग्रेसले पार्टीको आधिकारिक उम्मेदवारका विरुद्ध अर्को पार्टीबाट उठ्ने दुई जनाको साधारण सदस्यता पनि नरहने गरी खारेज गरेको छ । 

नेपाली काँग्रेसका सुनसरी जिल्ला सचिव वीरेन्द्र साहले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) को दफा ३४ (१) अनुसार कारवाही भई उहाँहरुको साधारण सदस्यता खारेज भएको बताउनुभएको छ । कारवाही पर्नेमा राप्रपाबाट वडा अध्यक्षका उम्मेदवार बनेका धरान १ का निवर्तमान वडाध्यक्ष रोशन अधिकारी र राप्रपाबाटै वडा अध्यक्षका उम्मेदवार बनेका धरान १४ का निवर्तमान वडाध्यक्ष कृष्ण भट्टराई रहनुभएको छ ।

उहाँहरुले पार्टीको आदर्श, सिद्धान्त र नीतिविपरीत कार्य गरेको, पार्टीको  विधान, नियमावली विपरीत कार्य गरेको, पार्टीको आचारसंहिता उल्लङ्घन गरेको र पार्टीको उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका कारण उहाँहरुविरुद्ध पार्टी विधान बमोजिम अनुशासनको कारवाही भएको जिल्ला सचिव साहले बताउनुभयो ।