• ६ चैत २०८०, मङ्गलबार

देशभर नौ हजार सञ्चार माध्यम

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ वैशाख २० गते । प्रदेशमा मिडिया नामक पुस्तक सोमबार सार्वजनिक भएको छ । यो पुस्तकमा सङ्घ र प्रदेशहरुमा रहेका मिडियाको अवस्थालाई केलाइएको छ ।

पुस्तकका अनुसार नेपालमा आठ हजार ९५३ सञ्चार माध्यम छन् । जसमा चार हजार ७८९ पत्रिका, ८८० एफएम रेडियो, १६४ टेलिभिजन र तीन हजार १२० अनलाइन समाचार माध्यम छन् । नेपाल पत्रकार महासंघको सदस्यता लिएका पत्रकारहरुको संख्या १३ हजार ७७ छ । 

सूचना तथा प्रसारण विभागमा २०७८ साल फागुनको पहिलो सातासम्म इजाजत लिएका रेडियो र टेलिभिजन एवं प्रेस काउन्सिल नेपालमा अभिलेख भएका पत्रपत्रिका र अनलाइन समाचार माध्यमलाई आधार बनाई पुस्तकमा प्रदेश र जिल्ला तहमा पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको तथ्याङ्क विष्लेषण गरिएको छ । 

प्रदेशहरुमध्ये बागमती प्रदेशमा सबैभन्दा धेरै मिडिया र पत्रकार छन् । बागमती प्रदेशमा पाँच हजार ५१ सञ्चार माध्यम छन् । पत्रकारको सङ्ख्या पाँच हजार ७७६ छ । 

राजधानीमा आयोजित पुस्तक विमोचन कार्यक्रममा प्राध्यापक पी. खरेलले मिडियाको एकीकृत तथ्याङ्कले संघ, प्रदेश र जिल्ला तहमा मिडियाको अवस्था बुझ्न सहयोग पुग्ने भन्दै पुस्तकले मिडियाको बहुपक्षीय अध्ययनका लागि पनि सहयोग पु¥याउने बताउनुभयो । 

बागमती प्रदेशका सञ्चार रजिस्ट्रार रेवती सापकोटाले पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइनको तथ्याङ्कलाई व्यवस्थित गर्न सङ्घ र प्रदेशबीच समन्वय हुन जरुरी भएको बताउनुभयो ।

नेपाल पत्रकार महासंघका अध्यक्ष बिपुल पोख्रेलले सही तथ्याङ्कविना समस्या पहिचान गर्न कठिन हुने धारणा व्यक्त गर्दै प्रदेश र स्थानीय तहमा मिडियाको नीति बनाउन सहयोग पु¥याउने बताउनुभयो ।