• ७ वैशाख २०८१, शुक्रबार

संसद् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा

blog

गोरखापत्र समाचारदाता

काठमाडौं, वैशाख २० गते । सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को नेतृत्वका हिसाबले आफू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा सधैं साथमा रहेको विश्वास दिलाउनु भएको छ । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना सन्र्देश दिँदै उहाँले नेपाली सञ्चार जगत् संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ मजबुत एकताका साथ निर्भयपूर्वक लागिरहने अपेक्षा पनि गर्नुभएको छ । 

उहाँले हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेको उल्लेख गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै समग्र प्रेस जगतले राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले निर्वाह गरिरहेको भूमिकाको सुक्ष्म निगरानी र खबरदारी गर्दै आएका कारण राज्यका तीनवटै अंगलाई सजग र सतर्कतापूर्वक कार्य सम्पादन गर्न र आम नागरिकलाई सत्य अन्वेषण गर्न मद्दत पुगिरहेको पनि उल्लेख गर्नुभएको छ । 

उहाँले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ रहेको र लोकतन्त्रको यस सुन्दर पक्षका साथ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्रलाई उन्नत बनाउन विशेष भूमिका खेलेको उल्लेख गर्नुभएको छ । उहाँले प्रेस जगतको यो भूमिकाको खुला हृदयले प्रशंसा गर्दछु भन्नुभएको छ । 

सभामुख सापकोटाले नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका निम्ति भएका संघर्षहरुमा आफ्नो अमूल्य जीवन अर्पण गरेका सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । साथै, उहाँले विश्व प्रेस स्वतन्त्रता दिवसले सञ्चार आबद्ध सबैमा उर्जा, हौसला र उत्प्रेरणा मिलोस भन्ने कामना गर्दछु ।