• १६ चैत २०८०, शुक्रबार

नेपालगञ्जमा बागचन्दको जस्टिस कन्सर्ट

blog

नेपालगञ्ज समाचारदाता

नेपालगञ्ज, वैशाख २० गते । दिगो विकासका अभियन्ता तथा गायक रोहनरत्न बागचन्दले नेपालगञ्जबाट जस्टिस कन्सर्ट साङ्गीतिक अभियानको थालनी गर्नुभएको छ । दिगो विकास लक्ष्य–१६ शान्ति न्याय र मजबुत संस्थाको स्थानीयकरणका लागि विभिन्न गतिविधि गर्दै आउनुभएका गायक रोहनरत्न बागचन्दले विश्वमा बढ्दै गएको विभेद, हिंसा र गरिबीका कारण पुनः सबै मानव जातिले न्यायप्रति प्रतिबद्धता जनाउनुपर्ने बताउँदै न्यायलाई नदीझैँ बग्न देऊ भन्ने गीतबाट आफ्नो प्रस्तुति सुरु गर्नुभयो । 

नेपाली, अङ्ग्रेजी र हिन्दी भाषाका गीतद्वारा दर्शकलाई मन्त्रमुग्ध र भावुक पार्न सफल गायक तथा दिगो विकास अभियन्ता बागचन्दले जहाँ छन् बुद्धका आँखा, बब मार्ली गेट अप स्ट्यान्ड अप, नारायण गोपालको तिम्रो जस्तो मुटु मेरो पनि लगायतका गीत गाउनुभएको थियो । उक्त कन्सर्टका आयोजक सूचनाको हकका लागि राष्ट्रिय महासङ्घका तर्फबाट अधिवक्त एवं अभियन्ता विश्वजित तिवारीले यस जस्टिस कन्सर्टलाई अभियानका रूपमा महासङ्घले ७७ जिल्लामा आयोजना गर्ने योजना बनाइरहेको बताउनुभयो ।