• १२ वैशाख २०८१, बुधबार

नेपाल–स्विट्जरल्यान्ड संयन्त्रको बैठक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, वैशाख २० गते । नेपाल–स्विट्जरल्यान्ड द्विपक्षीय परामर्श संयन्त्रको सोमबार काठमाडौँमा बसेको तेस्रो बैठकमा दुईपक्षीय सम्बन्ध र साझेदारीको समीक्षा भएको छ । परराष्ट्र मन्त्रालयको युरोप–अमेरिका महाशाखाका सहसचिव निर्मलराज काफ्ले र स्विट्जरल्यान्डका एसिया प्रशान्त क्षेत्र हेर्ने सहायक राज्य सचिव एन्ड्रियास राफेल नागेलीको सहअध्यक्षतामा भएको बैठकमा परराष्ट्र सचिव भरतराज पौड्यालले उद्घाटन गर्नुभएको थियो । 

बैठकमा दुई पक्षले दुई देशबीचको द्विपक्षीय सम्बन्ध र सहयोग, क्षेत्रीय सहयोग, बहुपक्षीय ढाँचाभित्रको सहयोग र जलवायु परिवर्तन, आप्रवासन र मानव अधिकारजस्ता विश्वव्यापी मुद्दालगायत साझा चासोका विषयमा आफ्ना अनुभव र धारणा आदान–प्रदान गरेको मन्त्रालयले उल्लेख गरेको छ । 

नेपालले सन् २०२६ मा अति कम विकसित राष्ट्रको हैसियतबाट स्तरोन्नति तथा कोभिड–१९ सम्बन्धी सहयोगका साथै दिगो विकास लक्ष्य पूरा गर्ने विषयका सवालमा सम्भावित पहलबारे छलफल भएको छ । त्यस्तै, दुवै पक्षले द्विपक्षीय सम्बन्धका सबै पक्षको समीक्षा गर्नुका साथै व्यापार, लगानी र पर्यटनका क्षेत्रमा संलग्नता अभिवृद्धि गर्ने सम्भाव्यताबारे थप पहल गर्न सहमति जनाएको छ ।

छलफलमा नेपाललाई प्राथमिकतामा राखेको लामो समयदेखि गर्दै आएको सहयोगका लागि नेपाली पक्षले स्वीस सरकारलाई धन्यवाद दिँदै मुलुकलाई आर्थिक पुनरुत्थान, हरित् वृद्धि र एलडीसी अवस्थाबाट दिगो स्तरोन्नतिको बाटोमा अघि बढाउन यस्तो सहयोग महŒवपूर्ण हुने औँल्याएको छ । स्वीस पक्षले दुई देशको हितमा द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन नेपालसँग मिलेर काम गर्न तत्पर रहेको जनाएको छ ।