• १६ चैत २०८०, शुक्रबार

हावाहुरीका कारण ठूलो क्षति

blog

 जयकृष्ण यादव 

इनरुवा, वैशाख २० गते । शुक्रबार राति आएको हावाहुरीले इनरुवा नगरपालिकासहित दक्षिणवर्ती क्षेत्रको केरा र मकै बालीमा क्षति पु--याएको छ । सुनसरी जिल्लाको सदरमुकाम इनरुवाको डुम्राहा, मधेसा, चान्दबेला, बबिया र बलाहालगायतका बस्ती र गाउँमा केरा, तरकारी र मकै बाली नष्ट भएको इनरुवा नगरपालिका–१०, जल्पापुरका कृषक इजराइल मियाँले जानकारी दिनुभयो । मियाँले १५ बिघा जग्गामा लगाएको मकै बाली हावाहुरीले नष्ट गरेको छ । 

आफ्नो मात्र नभएर गाउँका सयौँ किसानको केरा, तरकारी र मकैबाली नष्ट गरेको उहाँले बताउनुभयो । अर्का किसान रेशमकुमार शर्माले पनि आफ्नो दुई बिघामा लगाएको मकै र अन्य बालीनाली नाश भएको दुःखेसो पोख्नुभयो । इनरुवा–९, बबियाका किसान जसलाल यादवको १० कट्ठाको केरा खेतीमा क्षति भएको स्थानीय सियाराम यादवले बताउनुभयो । सोही ठाउँका यदुनन्दन यादव, राजेश मेहता, बुधनारायण मेहता, उपेन्द्र यादवसहितको केरा बालीमा पनि क्षति पुगेको छ । 

इनरुवा नगरपालिकाको विभिन्न वडामा भिœयाउने बेला भएको र फल्न लागेको मकै बाली हावाहुरीले नष्ट गर्दा किसान मर्कामा परेको स्थानीय किसान बलराम यादवले  बताउनुभयो । त्यसैगरी हावाहुरीले गढी गाउँपालिका–३ र ४, छिटाहामा एक दर्जनभन्दा बढी घरको छानोमा क्षति पु-याएको छ । 

सुनसरीका दुहबी, रामधुनी, बर्जु, कोसी, भोक्रहा नरसिंह, हरिनगर, देवानगञ्जलगायतका दर्जनभन्दा बढी गाउँबस्तीको करिब एक हजार हेक्टर क्षेत्रफलमा लगाइएको मकै, केरा तथा अन्य तरकारी बालीमा क्षति पुगेको स्थानीयवासीले बताएका छन् । कृषि ज्ञान केन्द्रले किसानले फोनमा क्षति भएको मात्रै गुनासो गरेको भए पनि क्षतिको विवरण आइनसकेको जनाएको छ । 

हावाहुरीका कारण मकै र केरा तथा तरकारी बाली नष्ट भएपछि किसान चिन्तामा परेको इनरुवा–१० का वडाध्यक्ष सुल्तान मियाँले बताउनुभयो । उहाँले सरकारले बाढीपीडितको राहत अहिलेसम्म नदिएको अवस्थामा फेरि हावाहुरीबाट क्षति पुगेकाले पीडितलाई राहतको व्यवस्था गर्नुपर्ने बताउनुभयो । 

हरिनगर गाउँपालिकाको कृषि शाखाका भुवनेश्वर यादवले  हावाहुरीका कारण किसानका मकै बाली र लहरे बालीमा ठूलो क्षति भएको बताउनुभयो । यसको सबै विवरणको सङ्कलन भइनसकेको उहाँले बताउनुभयो ।  

भोक्राहा नरसिंह गाउँपालिकाको कृषि शाखा प्रमुख रेनुका चौधरीले पनि मकैलगायतका अन्न र तरकारी बाली हावाहुरीका कारण नष्ट हुँदा किसान मर्कामा परेको बताउनुभयो ।